आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

साफ च्याम्पियनसिपमा आज नेपाल र कुवेत भिड्दै

बुधबार, ०६ असार २०८०, ०८ : १४
बुधबार, ०६ असार २०८०

काठमाडौं । दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनसिप बुधबारदेखि भारतमा सुरु हुँदैछ । पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको यो १४औं संस्करण हो । भारतको बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा आयोजना हुने साफ च्याम्पियनसिपमा आठवटा राष्ट्रको सहभागिता रहेको छ ।

प्रतियोगितामा यसपटक नेपालसहित आयोजक भारत, बंगलादेश, भुटान, पाकिस्तान, माल्दिभ्स, कुवेत र लेबनानले प्रतिस्पर्धा गर्दैछन् । विश्व फुटबल महासंघ (फिफा)को प्रतिबन्धमा परेका कारण श्रीलंकाले भने यो संस्करणमा सहभागिता जनाउन पाएन ।

यसपटक कुवेत र लेबनानलाई भने आमन्त्रित टोलीको रुपमा सहभागी गराइएको हो । प्रतियोगिताको उद्घाटन खेलमा समूह ’ए’ मा रहेको नेपालले बुधबार कुवेतको सामना गर्दैछ । उद्घाटन खेल नेपाली समयअनुसार, दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।

नेपाल साफ च्याम्पियनसिपको साविक उपविजेता टोली हो । पहिलो दिन बधुबार नै आयोजक भारत र पाकिस्तानबीच अर्को खेल हुनेछ । साविक उपविजेता नेपाल र बलियो कुवेतबीचको खेल रोमाञ्चक हुने अनुमान गरिएको छ ।

कुवेत र नेपालबीच पछिल्लो पटक गत वर्षको जेठमा प्रतिस्पर्धा भएको थियो । एएफसी एसियन कप छनोटको तेस्रो चरणअन्तर्गत कुवेतमा भएको उक्त खेलमा घरेलु टोलीले नेपाललाई ४–१ गोलले हराएको थियो ।

नेपाल र कुवेतबीच हालसम्म नौवटा खेल भएको छ । त्यसमध्ये आठवटा खेलमा कुवेत विजयी भएको छ । एक खेल भने बराबरीमा सकिएको छ । यसपटक प्रतियोगिताको समूह ‘ए’ मा नेपालसँगै साविक विजेता भारत, कुवेत र पाकिस्तान रहेका छन् ।

समूह ’बी’ मा भने लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश रहेका छन् । नेपालले आफ्नो दोस्रो खेल असार ९ गने भारतसँग खेल्नेछ । नेपालले तेस्रो तथा अन्तिम खेल असार १२ गने पाकिस्तानसँग खेल्नेछ ।

सबैभन्दा बढी साफ च्याम्पियनसिपको उपाधि जित्ने राष्ट्र भारत हो । भारतले हालसम्म आठ पटकसाफ च्याम्पियनसिपको उपाधि जितेको छ । यसैगरी माल्दिभ्सले दुईपटक साफ च्याम्पियनसिप जितेको छ । बंगलादेश, श्रीलंका र अफगानिस्तानले एक÷एक पटक उपाधि जितेका छन् । अफगानिस्तान भने यसपटक प्रतियोगितामा सहभागी छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप