शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

विद्यार्थीलाई असल राजनीति सिकाउँदै देशभक्त नागरिक बनाऔँ : बिजुक्छेँ

बुधबार, ०६ असार २०८०, २२ : १८
बुधबार, ०६ असार २०८०

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले विद्यार्थीलाई असल राजनीति सिकाएर देशभक्त नागरिक बनाउनुपर्ने बताएका छन् । उनले देशभक्त नागरिक बनाउन टोलटोलमा गएर अहिलेका छोराछोरीलाई राजनीति सिकाउन आह्वान गरेका हुन् ।

भक्तपुर नगरपालिकाको चौधौँ नगरसभा आज उद्घाटन गर्दै अध्यक्ष बिजुक्छेँले अहिलेको राजनीति विकृति बनेको भन्दै युवा पुस्ताका विद्यार्थीलाई असल राजनीति सिकाएर देशभक्त बनाउन आह्वान गरेका हुन् । संसदीय मर्यादा बुझेका मान्छे संसद्मा नपुग्दा संसद्नै विकृत बनेको टिप्पणी गर्दै अध्यक्ष बिजुक्छेँले भने, “संसदीय मर्यादा नबुझेका मानिस अहिले संसद्मा पुगेका छन्, त्यसैले संसद् विकृत बनिसक्यो, संसद्मा सत्ता पक्षले ल्याएको कार्यक्रममा सत्ता पक्षकै सांसदले विरोध गर्दै टिप्पणी गर्नु गलत हो, सरकारले ल्याएको कार्यक्रमका विरोध वा सुझाब त प्रतिपक्षले दिने हो, यहाँ त सबैले बोलेका छन्, नचाहिने नचाहिने कुरामा टिप्पणी गरेका छन्, यो कस्तो संसद् हो ।”

सत्तापक्षले संसद्मा सरकारले ल्याएका कार्यक्रमको विरोध गर्नु भनेको सरकार असफल हुनु हो भन्दै उनले संसद्मा प्रत्येक सांसदले बोल्ने नभई प्रतिनिधिमूलक रुपमा पार्टीका धारणा पार्टीको तर्फबाट राखेर जानुपर्ने औँल्याए । एमालेले प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको र कतिपय गलत विषयमा प्रतिपक्षले विरोध नजनाएर गरेको मौन समर्थले देश बिग्रिएको उनको भनाइ थियो ।

नेमकिपा अध्यक्ष बिजुक्छेँले भने, “विदेशी पुँजीको प्रभावले देशमा अहिले आर्थिक सङ्कटको अवस्था आएको हो, विदेशी पुँजीको पञ्जामा देशको अर्थतन्त्र रहेको छ, त्यसैले अवस्था जटिल बनेको हो, अब मतले जिताएपछिको अधिकार नागरिकले सडकमा गएर माग्नुपर्छ ।” नगरपालिकाले सञ्चालन गरेका कलेज आफैँमा ख्वप विश्वविद्यालय रहेको भन्दै उनले शिक्षक र विद्यार्थीको स्तर वृद्धि गर्नसके शैक्षिक क्षेत्रमा ठूलो उपलब्धि हासिल हुने बताए ।

राजनीति शास्त्र, अर्थशास्त्र, भूगोल र इतिहासबारे अध्ययन गर्न भक्तपुरका नयाँ पुस्तालाई उत्साहित गर्नुपर्ने बताउँदै अध्यक्ष बिजुक्छेँले नयाँ बस्तीमा पार्किङ व्यवस्थापनको लागि नयाँ नक्सापासको नियम लागू भए भक्तपुर नगर अझ सुन्दर र व्यवस्थित हुने बताए ।
    
कार्यक्रममा नेमकिपाका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले ख्वप विश्वविद्यालय पारित गराउन सदनमा निरन्तर प्रयासरत रहेको बताउँदै भ्रष्टाचार र आर्थिक अनियमिततामा पूर्व प्रधानमन्त्री, मन्त्रीहरुको नाम जोडिनु देशकै लागि विडम्बनाको विषय भएको बताए ।

त्यसअवसरमा नेमकिपाका केन्द्रीय सदस्य एवं बागमती प्रदेशका सभासद् सुरेन्द्रराज गोसाइँ र प्रदेशसभा सदस्य सिर्जना सैंजुले प्रदेश सभाको औचित्यनै समाप्त भएको बताउँदै भने, “प्रदेशको नीति, कार्यक्रम तथा बजेट प्लेकार्डको रुपमा आउँछ, कार्यान्वयन भने शून्य छ, प्रदेशको कामै छैन, उपलब्धि शून्य छ, कार्यान्वयनमा इमान्दार छैन, बजेटमा जताततै पक्षपात छ ।”

कार्यक्रमका सभापति एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाको आव २०८०–०८१ कोे नीति तथा कार्यक्रम प्रस्तुत गर्दै जनप्रतिनिधिले आफ्नो क्षमताले भ्याएसम्म संविधान र कानुनको परिधिभित्र रहेर जनताको सेवा गर्ने बताए ।

कार्यक्रममा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक विश्वमोहन जोशीले शिक्षा, संस्कृति स्वास्थ्य र विभिन्न किसिमको पुरातात्विक सम्पदा संरक्षणमा भक्तपुर नपाले पाएको सफलता जनप्रतिनिधि र नगरवासीको संयुक्त प्रयासले सम्भव भएको चर्चा गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप