आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

साफ च्याम्पियनसिप फुटबल : बलियो प्रतिद्वन्द्वी भारतलाई चुनौती दिँदै नेपाल

अञ्जन विष्टलाई कीर्तिमान बनाउने अवसर
शनिबार, ०९ असार २०८०, ०६ : २२
शनिबार, ०९ असार २०८०

काठमाडौँ । साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले शनिबार बलियो प्रतिद्वन्द्वी भारतको सामना गर्दैछ । नेपाल र भारतबीको खेल नेपाली समय अनुसार, राति ७ः ४५ बेज सुरु हुनेछ । पुरुष साफ च्याम्पियनसिपको १४औँ संस्करण भारतको बैंगलोरस्थित कांतिराव स्टेडियममा सञ्चालन भइरहेको छ ।

गत बुधबार खेलिएको प्रतियोगिताको उद्घाटन खेलमा नेपाली टोली कुवेतसँग ३—१ गोलले पराजित भएको थियो । उक्त खेलमा नेपालका लागि एकमात्र गोल अनुभवी खेलाडी अञ्जन विष्टले गरेका थिए । भारतले भने आफ्नो पहिलो खेलमा चिर प्रतिद्वन्द्वी पाकिस्तानलाई ४—० गोलले हराएको थियो ।

समूह ‘ए’ का सबै टोलीले एक/एक खेल खेलिसकेका छन् । अङ्क तालिकामा तीन अङ्कसहित भारत पहिलो, समान अङ्क भएको कुवेत दोस्रो, खाता खोल्न नसकेको नेपाल तेस्रो र पाकिस्तान चौथो स्थानमा रहेका छन् । समूहगत चरणको खेलपछि दुवै समूहको शीर्ष स्थानमा रहने दुई टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

घरेलु टोली भारत नेपालका लागि निकै बलियो प्रतिद्वन्द्वी हो । विश्व फुटबल महासंघ (फिफा) को पछिल्लो वरीयतामा पनि नेपालभन्दा भारत निकै अगाडि रहेको छ । पछिल्लो फिफा वरीयतामा भारत १०१औँ स्थानमा छ । नेपाल भने १७४औँ वरीयतामा आसीन छ ।

भारतविरुद्धको खेल नेपाली खेलाडी अञ्जन विष्टका लागि पनि महत्त्वपूर्ण रहेको छ । नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडीको सूचिमा अञ्जन दोस्रो स्थानमा छन् । उनले हालसम्म देशका लागि ५६ खेल खेल्दै १२ गोल गरेका छन् ।

सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी भने निराजन रायमाझी र हरि खड्का हुन् । निराजनले २१ खेलमा १३ गोल र हरिले ३९ खेलमा १३ गोल गरेका छन् । जारी साफ च्याम्पियनसिपमा थप दुई गोल गरेमा अञ्जन नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी बन्नेछन् ।

साफ च्याम्पियनसिप फुटबलमा भारतले लामो समयदेखि एकाधिकार जमाउँदै आएको छ । भारतले हालसम्म आठ पटक साफ च्याम्पियनसिपको उपाधि चुमेको छ । भारत साफ च्याम्पियनसिपको साबिक विजेता हो भने नेपाल साबिक उपविजेता । सन् २०२१ मा माल्दिभ्समा भएको १३औँ साफ च्याम्पियनसिपको फाइनलमा भारतले नेपाललाई ३—० गोलले हराएको थियो ।

त्यसैले साबिक विजेता र उपविजेताबीच शनिबार खेलिने खेल रोमाञ्चक हुने अनुमान गरिएको छ । तर, इतिहासले भने भारतलाई नै बलियो देखाउँछ । हालसम्म आधिकारिक प्रतियोगितामा नेपाल र भारतबीच २३ पटक भिडन्त भएको छ । त्यसमध्ये १६ खेलमा भारत विजयी भएको छ भने दुई खेलमात्र नेपालले जितेको छ । पाँच खेल भने बराबरीमा सकिएको छ ।

नेपाल र भारतबीच खेलिएको एक खेललाई भने फिफाले मान्यता दिएको छैन । त्यसैले आधिकारिक प्रतियोगितामा २३ खेललाई मात्र गणना गरिन्छ । नेपाल र भारतबीचको फुटबल इतिहास निकै लामो छ । नेपाल र भारतको राष्ट्रिय टोलीबीच पहिलो प्रतियोगिता हुनुअघि नै यी दुई देशका युवा टोलीले आपसमा थुप्रै खेल खेलिसकेका थिए ।

नेपालले भारतसँग पहिलो आधिकारिक प्रतियोगिता भने सन् १९८५ को डिसेम्बर २१ तारिखमा खेलेको थियो । बंगलादेशको राजधानी ढाकामा सम्पन्न दोस्रो दक्षिण एसियाली खेलकुद (साफ)का क्रममा उक्त खेल खेलिएको थियो । उक्त खेलमा भारतले नेपाललाई २—० गोलले हराएको थियो । भारतका लागि दुवै गोल शिशिर घोषले गरेका थिए ।

नेपालले पहिलो पटक भारतलाई हराएको पनि बंगलादेशको ढाकामा नै हो । सन् १९९३ को डिसेम्बरमा ढाकामा आयोजना भएको छैटौं दक्षिण एसियाली खेलकुद (साफ)अन्तर्गत फुटबलको फाइनलमा नेपालले भारतलाई पेनाल्टी सुटआउटमा ४—३ गोलले हराउँदै उपाधि चुमेको थियो । निर्धारित समयको खेल दुई/दुई गोलको बराबरीमा सकिएपछि हारजितको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।

नेपाल र भारतबीच पछिल्लो आधिकारिक खेल भने सन् २०२१ को साफ च्याम्पियनसिपमा खेलिएको थियो । माल्दिभ्सको राजधानी सहर मालेमा खेलिएको उक्त साफ च्याम्पियनसिपको फाइनलमा भारतले नेपाललाई ३—० गोलले हराएको थियो ।

साफ च्याम्पियनसिप दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता हो । यसपटक साफ च्याम्पियनसिपमा आठवटा राष्ट्रको सहभागिता रहेको छ । प्रतियोगितामा नेपालसहित आयोजक भारत, बंगलादेश, भुटान, पाकिस्तान, माल्दिभ्स, कुवेत र लेबनानले प्रतिस्पर्धा गर्दैछन् ।

विश्व फुटबल महासंघ (फिफा)को प्रतिबन्धमा परेका कारण श्रीलंकाले भने यो संस्करणमा सहभागिता जनाउन पाएन । यसपटक कुवेत र लेबनानलाई भने आमन्त्रित टोलीको रुपमा सहभागी गराइएको हो । नेपाल साफ च्याम्पियनसिपको साबिक उपविजेता टोली हो ।

प्रतियोगिताको समूह ‘ए’ मा नेपालसँगै साबिक विजेता भारत, कुवेत र पाकिस्तान रहेका छन् । समूह ’बी’ मा भने लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश रहेका छन् । नेपालले आफ्नो तेस्रो तथा अन्तिम खेल असार १२ गते पाकिस्तानसँग खेल्नेछ ।

सबैभन्दा बढी साफ च्याम्पियनसिपको उपाधि जित्ने राष्ट्र भारत हो । भारतले हालसम्म आठ पटक पुरुष साफ च्याम्पियनसिपको उपाधि जितेको छ । यसैगरी माल्दिभ्सले दुईपटक साफ च्याम्पियनसिप जितेको छ । बंगलादेश, श्रीलंका र अफगानिस्तानले एक/एक पटक उपाधि जितेका छन् । यस पटक भने अफगानिस्तान प्रतियोगितामा सहभागी छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप