बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

पार्टीमा कोही ब्रह्मा, विष्णु र महेश हुँदैन : नेता श्रेष्ठ

आइतबार, १० असार २०८०, १६ : ४२
आइतबार, १० असार २०८०

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले पार्टीमा सामूहिकता झल्किनु पर्ने बताउँदै पार्टीको नेतृत्वकर्ता मालिक र अरू कार्यकर्ता नोकर जस्तो व्यवहार गर्न नहुने जिकिर गरेका छन् । पार्टीमा कोही तल र कोही माथि नहुने बताउँदै उनले पार्टीमा कोही पनि ब्रह्मा, विष्णु, महेश नहुने जिकिर गरेका हुन् ।

आइतदेखि सुरु भएको पार्टीको विधान अधिवेशनलाई सम्बोधन गर्दै श्रेष्ठले भने, ‘म मात्रै हुँ, अरू कोही होइन भन्ने प्रवृत्ति भयो भने त्यो पार्टी चल्दैन । पार्टीमा जसले द्वन्द्व चर्काउँछ त्यो गुटको मात्र नेता हुन्छ, पार्टीको नेता हुँदैन ।’ 

उनले दलका सबै नेता एउटै जहाजमा सवार रहेको र त्यसलाई अगाडि बढाउने सबैको जिम्मेवारी रहेको धारणा राखे । ‘कतिपय नेताहरूले असन्तुष्टि जनाएका छन् । तर यो गठबन्धनको सरकार हो । जसपाले चाहँदैमा सबै काम हुन्छ, सबै लागु हुन्छ भन्ने होइन,’ उनले भने । 

श्रेष्ठले पार्टीको विधानले पार्टीको गन्तव्यलाई प्रस्ट पार्ने भएकाले त्यसमा गम्भीर रूपमा छलफल गरी उत्कृष्ट विधान बनाउनुपर्ने बताएका छन् । विभिन्न पार्टीहरूको बीचमा एकीकरण गरेर जसपा यहाँसम्म आइपुगेकाले सबैको भावनालाई विधानमा समेटेर अगाडि बढ्नुपर्ने बताउँदै उनले पार्टीमा सामूहिक नेतृत्व र समावेशी प्रतिनिधित्व हुनुपर्ने कुरामा जोड दिएका हुन् ।

विपन्नताबाट मुक्ति, गरिबीबाट मुक्ति, सबै खालको उत्पीडनबाट मुक्ति दिलाउनका लागि समाजवाद आउनुपर्ने बताउँदै उनले पार्टी सञ्चालन पनि परम्परागत ढंगबाट नभएर नयाँ ढंग र नयाँ सोचबाट गर्नुपर्ने बताए । 

श्रेष्ठले भने, ‘संघीयता भनेको एउटा सिद्धान्त हो । राज्य भन्ने बित्तिकै संघीयता हुँदैन । त्यहाँ स‌ंरचना हुन्छ, प्रदेश हुन्छ तर त्यो नै मात्र संघीयता होइन । त्यसका लागि समुचित पहिचानसहितको अधिकार पाउनुपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप