शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

नेपाली गलैँचा उद्योगमा बढाएको मूल्य अभिवृद्धिकर फिर्ता गर्न माग

बुधबार, १३ असार २०८०, १६ : ३५
बुधबार, १३ असार २०८०

काठमाडौँ । सरकारले बजेटमार्फत नेपाली गलैँचा उद्योगमा बढाएको मूल्य अभिवृद्धिकर फिर्ता गर्न नेपाल गलैँचा उत्पादक तथा निकासीकर्ता संघले माग गरेको छ । 

बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै संघले आर्थिक विधेयकमार्फत सरकारले गलैँचा उद्योगमा लगाएको कर खारेज गरी पुरानै व्यवस्था कायम गर्न माग गरेको हो । 

सरकारले मूल्य अभिवृद्धिकर ऐन,२०५२ले गरेको व्यवस्थामा परिवर्तन गरी मूल्य अभिवृद्धिकर बढाउनु नेपाली गलैँचा उद्योग माथिको प्रहार भएको बताएको छ । संघले गलैँचा उद्योगमा लगाएतको कर तत्काल पुरानै व्यवस्था कायम नभएर सडक आन्दोलनमा जाने चेतावनी दिएको छ । 

संघका महासचिव बलराम गुरुङले नेपाली गलैँचा उद्योग लघु, घरेलु तथा साना उद्योग भएको भन्दै गलैँचा उद्योगको उत्पादन स्रोतलाई करको दायरामा ल्याउन अव्यवहारिक रहेको बताए । उनले साना–साना इकाईमा सञ्चालित उद्योगहरुमा करको दायरामा आउने भन्दा पनि पलायन हुने सम्भावना रहेको बताए ।  

महासचिव गुरुङले प्रधानमन्त्री तथा अर्थमन्त्रीलाई समेत कर खारेज गर्न ध्यानाकर्षण गए पनि सकारात्मक प्रक्रिया नआएको बताए । उनले सरकारले गलैँचा उद्योगलाई करको दायरामा ल्याउँदा मूल्य बढ्ने बताए । 

संघका अध्यक्ष तेन्जिङ शेर्पाले विगतमा गलैँचाको उद्योग र कच्चा पदार्थ आयातमा कर नभएको बताए । उनले गलैँचा उत्पादन गर्न महँगो भएकाले व्यवसायीहरुले अन्तर्राष्ट्रिय बजारमा प्रतिष्पर्धा गर्न नसकिएको अवस्थामा सरकारले थप करको भार लगाउँदा समस्या हुने बताए । उनले सरकारले गलैँचा उद्योगहरुलाई उनी धागो सरह सुविधा दिनुपर्ने बताए । 

अध्यक्ष शेर्पाले व्यवसायीहरुको मागभन्दा बाहिर गएर एका एक बजेटमा कर लगाउँदा गलैँचा उत्पादक तथा निकासी व्यवसायीहरु छक्क परेको बताए । उनले सरकारले गलैँचा व्यवसायीहरुले मागको सुविधा दिनुपर्ने अवस्थामा भएको सुविधा समेत कटौती गरेको बताए ।  

नेपाली गलैँचा निर्यातको विगत चार वर्षको तथ्याङ्क अध्ययन गर्दा कोभिड अघि ७ अर्ब २९ करोड ८२ लाख ६८ हजार २१५ रहेको छ । कोभिडपछि १६.८५ प्रतिशतले कमी आएको थियो । आर्थिक वर्ष २०७८÷७९ मा ३३.१७ प्रतिशतले वृद्धि भएर १० अर्ब ६२ करोड २६ लाख ८९ हजार ९१६ निर्यात भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप