आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

‘जलवायु परिवर्तन सम्बोधन गर्न सरकारले मात्र सक्दैन, जनस्तरबाटै साथ चाहिन्छ’

बुधबार, १३ असार २०८०, २१ : ४२
बुधबार, १३ असार २०८०

पोखरा ।  विश्वले जलवायु परिवर्तनसँगै जैविक विविधता ह्रास र वायु प्रदूषणको समस्यालाई एकैसाथ भोगिरहेको छ । सोही कुरालाई मध्यनजर गर्दै न्यूनीकरणका उपायहरु खोज्न यति बेला पोखरामा नेपालभरका युवाहरु ‘जलवायु परिवर्तनमा शिखर सम्मेलन’ जुटेका छन् । बुधबार पोखरामा भएको नेपाल यूएस अल्मुनाई नेटवर्क (नुसान) र रणनीतिक र समाजिक आर्थिक अनुसन्धान (आइएसएसआर) र नेपालस्थित अमेरिकन दूतावासको सहायतामा दुई दिने जलवायु परिवर्नतको पहिलो दिनको कार्यक्रम पोखरामा सकिएको छ । 
कार्यक्रममा जलवायु परिवर्तनका क्षेत्रमा कार्यरत युवाहरुको सहभागिता थियो । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपालमा जलवायु परिवर्तनका असर बाहिरिसकेको बताए । मुख्यमन्त्री पाण्डेले विगत सम्झदै भने, ‘म पढ्न २०३९ सालमा काठमाडौं गएँ । जेठ असारकै समय थियो । यतिबेला काठमाडौं पुग्दा सिरक ओढेर आनन्दले सुत्न सकिन्थ्यो तर, अहिले काठमाडौंमा यस्तो छैन । अहिले एसी नलगाई सुत्नै नसकिने अवस्था छ ।’ 
पछिल्लो समय नेपालमा भूक्षय, बाढी पहिरो र तापक्रम बढ्दै गएको मुख्यमन्त्री पाण्डेले बताए । कास्कीकै अन्नपूर्ण हिमाल पुग्दा पनि जलवायु परिवर्तनको असर देखिन थालेको मुख्यमन्त्री पाण्डेले सुनाए । ‘मौका मिलेर अन्नपूर्ण बेस क्याम्पससम्म पुग्ने अवसर मिलेको थियो । त्यहाँ पुग्दा अझ पुष्टि भयो । जलवायु परिर्वतनको असर नेपालमा कति छ भनेर,’ मुख्यमन्त्री पाण्डेले भने, ‘हिमाल नै जोखिममा पर्न थालेको छ । बेस क्याम्पका बस्ती नै जोखिममा परेका छन् ।’ 
मुख्यमन्त्री पाण्डेले जलवायु परिवर्तनलाई न्यूनीकरण गर्न नागरिक नै जागरुक हुनुपर्ने बताए । उनले भने, ‘यो न्यूनीकरण गर्न सरकारले मात्र सक्दैन । यसमा नागरिकको पनि साथ सहयोग पर्छ । सरकारले पनि आफ्नो क्षमताअनुसार काम गर्छ । सरकारले सक्ने काम गर्छ ।’ 
कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले जलवायु परिवर्नतको असर पछिल्लो समय जाने बाढी, पहिरो र बढ्दो तापक्रमले पनि इंगित गरेको बताए । ‘केही वर्षअघि तातो पानीबाट सुरु भएको सेती खोलामा जसरी बाढी आयो । यसले पनि जलवायु परिवर्नत भएको बुझन सकिन्छ, यसबाट बाँच्न तपाईंले तपाईंको ठाउँबाट, महानगरले आफ्नो ठाउँबाट काम गर्छ,’ मेयर आचार्यले भने । महानगरले कार्बन तटस्थ सहर बनाउने गरी काम गरिरहेको उनको भनाइ छ । 
‘काठमाडौंमा जसरी ग्रिन स्टिकर टाँसेर २० वर्षभन्दा माथिका गाडी सञ्चालन गर्न प्रतिबन्ध लगाइएको छ । हामीले पनि यसका लागि काम गरिरहेका छौं । ४ वर्षभित्र यो लागू हुन्छ,’ मेयर आचार्यले भने, ‘त्यो भन्दा पहिले पोखरालाईं क्यापिटल सिटी अप पोखरा घोषणाा गर्दैछौं ।’ महानगरले आगामी आर्थिक वर्षमा २ लाख विरुवा रोप्ने गरी बजेट विनियोजन गरेको मेयर आचार्यले बताए । 
महानगरले यसका लागि आगामी आर्थिक वर्षको बजेटमा साढे ७ अर्ब बजेट विनियोजन गरेको उनले सुनाए । ‘अहिले पानी पर्ने भल जम्मा हुने अवस्थाको अन्त्य, चौतारी संरक्षणदेखि महानगरभित्र एलपी ग्यासलाई अन्त्य गरेर विद्युतीय चुलो सञ्चालन गर्छौं ।’ महानगरले हिमाल सरसफाइ गर्न नेपाली सेनासँग मिलेर काम गरिरहेको उनले सुनाए । 
कार्यक्रममा नेपालस्थित संयुक्त राज्य अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख ग्यारेट विल्करसन उपस्थित थिए । उनले संयुक्त राज्य अमेरिकाले कार्बन उत्सर्जन कम गर्न २७० बिलियन डलरभन्दा बढी लगानी गरेको बताए । यूएसएआइडीमार्फत जलवायु परिवर्तनबाट उत्पन्न संकटको न्यूनीकरणका लागि अनुकूलन र लचिलोपन प्रदर्शन गर्दै आएको उनको भनाइ थियो । अमेरिकाले नेपालमा जलविद्युत विकासमा सहायता उपलब्ध, जलवायु परिवर्तनका प्रभावहरूविरुद्ध लड्न नेतृत्व तथा नीति निर्माणमा पहल गर्दै आएको उनले सुनाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय रानाभाट
सञ्जय रानाभाट
लेखकबाट थप