शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
अदालत

अदालतका सुब्बामाथि मुक्का प्रहार गर्ने वकिल पक्राउ

बिहीबार, १४ असार २०८०, २० : ००
बिहीबार, १४ असार २०८०

ललितपुर । ललितपुर जिल्ला अदालतकी एक महिला कर्मचारीमाथि कानुन व्यवसायीले हातपात गरेका छन् । बुधबार अपराह्न ललितपुर जिल्ला अदालतमा कार्यरत नायब सुब्बा प्रेमिका तामाङमाथि अधिवक्ता अमिर लामिछानेले हातपात गरेका हुन् । 

अदालतको कार्यकक्षमै बसेर काम गरिरहेको समयमा बुधबार ४ः३० बजेको समयमा अधिवक्ता लामिछानेले तामाङमाथि हातपात गरेका थिए । मुद्दाको मिसिल र आदेश हेर्न फाइल लिन खोजेपछि महिला कर्मचारी तामाङले मिसिल बाहिर लान मिल्दैन भन्दा उनीमाथि हातपात भएको हो । 

कानुन व्यवसायी लामिछानेको मुक्का प्रहारबाट ललितपुर जिल्ला अदालतका नायब सुब्बा प्रेमिका तामाङको दुईवटा दाँत हल्लिनुका साथै ओठमा चोट पुगेको छ । त्यसैगरी लामिछानेले महिला कर्मचारीलाई लछारपछार गर्दा तामाङको सरकारी पोसाकको बाहुलासमेत च्यातिएको छ । 

महिला कर्मचारीमाथि अदालत परिसरभित्रै हातपात भएपछि प्रहरीले लामिछानेलाई नियन्त्रणमा लिई ललितपुर प्रहरीको जिम्मा लगाएको छ । कुटपीटलगत्तै पीडित कर्मचारी प्रेमिका तामाङले जिल्ला प्रहरी परिसर ललितपुरमा कानुन व्यवसायीविरुद्ध जाहेरी दिएकी छिन् । 

जाहेरीमा उल्लेख भएको घटना विवरण अनुसार ललितपुर जिल्ला अदालत कार्यालय भित्र पेसी लिने दिने फाँटमा काम गरिरहेको समयमा असार १३ गते अन्लाजी ४ः३० बजेको समयमा पेसी लिने फाँटमा अधिवक्ता लामिछानेले जबरजस्ती फाइल लिन खोजेपछि फाइल नदिँदा कर्मचारीमाथि हातपात भएको हो । पुनमाया महर्जन वादी र बद्री देशार प्रतिवादी समेत भएको दूषित लिखत निर्णय दर्ता बदर मुद्दामा वारेस रहेका लामिछानेले तारेख लिने क्रममा मिसिल तानी आफैँ कागजातहरू पल्टाई हेर्न थालेकोमा ‘मिसिल नहेर्नुस्, कागजातहरू हराउँछ, अहिले भिडभाड छ तपाईंलाई आवश्यक भए नक्कल सारी हेर्नुहोला’ भनेकोमा निजले ‘तँ धेरै जान्ने हुन्छेस्, तँ को हो ? तँलाई देखाउँछु’ भन्दै तथानाम अपशब्द बोली मुख छाडी गालीगलौज गरी हातपात गरेको उल्लेख छ । 

अधिवक्ता लामिछानेले मुक्का प्रहार गर्दा तामाङको मुख र पाखुरामा घाउचोट लागेको तथा सर्ट च्यातिएको हुँदा मेडिकल जाँच समेत गराई निजलाई पक्राउ गरी कारबाही अगाडि बढाउन माग गरिएको छ ।

मुक्का प्रहार लगत्तै अदालत परिसरबाट भाग्न लागेका लामिछानेलाई पक्राउ गरी प्रहरीको जिम्मा लगाइएको छ । ललितपुर प्रहरीका अनुसार आरोपी लामिछाने प्रहरी नियन्त्रणमा छन् । 

मुक्का प्रहारबाट घाइते बनेकी पीडित प्रेमिका तामाङले रातोपाटीसँगको कुराकानीमा आरोपीमाथि अनुसन्धान गरी कारबाही गर्न माग गरेकी छिन् । आफूमाथि कार्यालय पोसाकमा कार्यालयमै बसेर काम गरिरहेको समयमा आक्रमण भएको र आफ्नो जिम्मेवारी पूरा गरिरहेको अवस्थामा आक्रमण भएको कारण आरोपीलाई हदैसम्मको कारबाही गर्न माग गरेकी छिन् । उनले रातोपाटीसँग भनिन्, ‘म माथि कार्यकक्षमै हातपात भएको छ । छलफल वा मिलापत्र भन्ने कुरा हुँदैन । कानुन अनुसार कारबाही हुनुपर्छ । आफ्नो मर्यादामा नबस्ने कानुन व्यवसायीलाई सम्बन्धित संस्थाले पनि कारबाही गरोस् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप