मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

नयाँ दलहरु असन्तुष्टिका पोका : मुख्यमन्त्री जम्कट्टेल

बिहीबार, १४ असार २०८०, १६ : ३९
बिहीबार, १४ असार २०८०

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले देशमा संकट परेका बखत नेपालका प्रमुख राजनीतिक दलहरुले नै समस्या समाधान गरेर आजको स्थिति निर्माण भएको बताएका छन् ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडाको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री जम्कट्टेलले नागरिकहरुलाई संविधान हेरेर बोल्न सक्नेसम्मको अधिकार प्रमुख राजनीतिक दलहरुको मेहनतबाट प्राप्त भएको बताए ।

उनले पछिल्लो समयमा निर्माण भएका दलहरुलाई ‘असन्तुष्टिका पोका’ संज्ञा दिँदै उनीहरुबाट परिवर्तन सम्भव नरहेको बताए ।

मुख्यमन्त्री जम्कट्टेलले असन्तुष्ट भिडका पोकाहरुबाट देश सञ्चालन र परिवर्तनमा समस्या भइरहेको बताए । देशमा भएको परिवर्तनको ज्ञानसमेत नराख्ने असन्तुष्ट समूहका कारण राजनीतिक परिवर्तन संस्थागत गर्न समस्या भइरहेको उनको भनाइ छ ।

उनले संघीयता कार्यान्वयनको चरणमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान गठन गरिएको बताए । संविधानमा व्यवस्था भएअनुसार नागरिकको मौलिक हक अन्तर्गत रहेको स्वस्थ्य सेवा प्रवाहका लागि प्रतिष्ठान स्थापना भएको उनले बताए ।

संघीयता कार्यान्वयन गर्दै नागरिकलाई मौलिक हक अधिकारको प्रत्याभूति दिलाउन प्रतिष्ठानले भूमिका खेल्नुपर्ने उनको भनाइ छ ।

पछिल्लो समयमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र हेटौंडा अस्पतालबीचको विवादलाई चर्काउने काम भइरहेको उनले बताए ।

‘अहिलेको अवस्थामा अस्पतालको समस्यालाई समाधान गर्ने भन्दा पनि चर्काउने काम भइरहेको छ । यसले अस्पताल र प्रतिष्ठानमा थप समस्या उत्पन्न हुने देखिन्छ,’ उनले भने, ‘सरकार त्यसतर्फ सचेत छ । प्रदेश सरकारले प्रतिष्ठानलाई कमजार बन्न दिँदैन ।’

प्रतिष्ठानलाई प्रदेशको गौरवको आयोजनाका रुपमा अगाडि बढाउने उनले बताए । तत्कालीन समयमा आफू प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री भएको समयमा प्रतिष्ठान गठन तथा सञ्चालनको कानुन निर्माण गरिएको उनले स्मरण गरे । ‘त्यसै समयदेखि अहिलेसम्म प्रतिष्ठानलाई प्रदेश गौरवको आयोजनाका रुपमा विकास गर्न काम भइरहेको छ । आगामी दिनमा पनि यसले निरन्तरता पाउँछ,’ उनले भने ।

छुट्टै अस्पताल निर्माण नभएसम्मका लागि हेटौंडा अस्पताल प्रतिष्ठान मातहत रहने र प्रतिष्ठानले आफ्ना कार्यक्रमलाई निरन्तरता दिने उनको भनाइ छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले प्रतिष्ठान गठन पश्चात हेटौंडा अस्पतालको सेवामा उल्लेख्य सुधार आएको बताए । उनले प्रतिष्ठान र अस्पताल बीचको विवाद निकालेर समस्या थप गर्न नहुने प्रस्ट पारे ।

प्रतिष्ठान सञ्चालनका लागि अस्पताल अनिवार्य रहेको भन्दै उनले बिना अस्पताल प्रतिष्ठानको औचित्य नरहने बताए । उनले भने, ‘अस्पतालको राम्रो काम केही व्यक्तिलाई पाच्य नहुँदा थप समस्या निकाल्न खोजिएको छ ।’

कार्यक्रममा प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले प्रदेश राजधानी हेटौंडालाई मेडिकल सिटीका रुपमा विकास गर्न प्रतिष्ठानले काम गर्ने बताए । हेटौंडालाई स्वास्थ्य सेवामा अब्बल बनाउन प्रतिष्ठानको विकास र विस्तारमा सरकारले सहयोग गर्ने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप