यमनमा ड्रोन आक्रमणमा चार जना सैनिकको मृत्यु

एडेन । हुथी मिलिसियाले गरेको ड्रोन आक्रमणमा बिहीबार दक्षिणी प्रान्त धालियामा चार यमनी सरकारी सैनिकको मृत्यु भएको एक सैनिक अधिकारीले सिन्ह्वालाई बताएका छन् । हुथी मिलिशियाले विस्फोटक पदार्थले भरिएको ड्रोन तैनाथ गरी धलियाको उत्तरी क्षेत्रहरूमा सरकार समर्थक सेनाका सैन्य प्रतिष्ठानहरूलाई निशाना बनाएको ती अधिकारीले बताए ।
उनले सो ड्रोन आक्रमणमा चार सैनिकको मृत्यु भएको र थुप्रै घाइते भएको उल्लेख गरेका छन् । आक्रमणले सैन्य क्षेत्रलाई क्षति पुर्याएको र सशस्त्र गाडी पूर्ण रूपमा नष्ट भएको पनि जानकारी दिएका छन् ।
अधिकारीका अनुसार हुथीहरूले दक्षिणी प्रान्तहरूमा अन्य मोर्चाहरूमा पनि सैन्य आक्रमणलाई तीव्रता दिँदै आएका छन् । यमन सन् २०१४ देखि विनाशकारी गृहयुद्धमा फसेको छ हुथीहरूले अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारविरुद्ध लडिरहेका छन् ।
संयुक्त राष्ट्रसंघले सन् २०२२ अप्रिलमा यमनमा मानवीय युद्धविरामको मध्यस्थता गरेको थियो । सुरुमा हिंसालाई उल्लेखनीय रूपमा घटाएर शान्तिपूर्ण समाधानको आशा पनि जगाएको थियो । तर गत वर्षको अक्टोबरमा युद्धविरामको म्याद सकिएपछि देशका विभिन्न क्षेत्रमा छिटपुट सशस्त्र भिडन्तहरू पुनः सुरु भएका छन् ।
संयुक्त राष्ट्रसंघले द्वन्द्वको राजनीतिक समाधानका लागि मध्यस्थता गर्ने काम गरिरहेको छ तर युद्धरत पक्षहरू बीचको विश्वासको कमी र त्यहाँ जारी हिंसा लगायतका कारण विगतका प्रयासहरू असफल भएका छन्।- (रासस–सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस संसदीय दलको बैठक आज, के-के छन् छलफलका एजेन्डा ?
-
पोखरामा तरबुजा खेतीः चार महिनामा १५ लाख रूपैयाँ आम्दानी
-
चार वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
-
महाकालीको बार आज कुन राशिलाई कस्तो लाभ ?
-
खानेपानीको समस्याबाट मुक्ति
-
प्रिमियर लिगमा चेल्सी र एस्टन भिल्ला विजयी, के च्याम्पियन्स लिग सुरक्षित गर्लान् ?