शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
कविता

आँखा र आँसुको विलाप !

शनिबार, १६ असार २०८०, १४ : ११
शनिबार, १६ असार २०८०

एकलास आफ्नाहरू धेरै टाढा 
अनकन्टारमा अपरिचित ठाउँमा बाँच्दै गरेको जिन्दगी 
जिन्दगी चल्ने र चलाउने
आधारभूत कुराहरू दुरुस्तै उस्तै छन् 
आफू जन्मेर हुर्केको गाउँको जस्तै
अनि असहज महसुस हुन्छ ।

कहिलेकाहीँ 
मन दुख्दा साथ दिने कोही हुन्न 
दुखेको अपरिचित ठाउँको रातको गहिराइमा
डुब्दै छ जिन्दगी 
यादहरूको बार्दलीमा टोलाएर बस्दा
एक जोडी आँखा जो रुन्छ 
आँसु लुकाउन सक्दैन ।

अदृश्य मन चुहिन्छु आँसुको खोला बनेर
वियोगको साक्षी पुरानो बन्दै गएको क्यालेन्डरको थाक
दक्षिणकाली दर्शनबाट ल्याएको
सुकिसकेको फूलको प्रसाद 
सेतोगुम्बाको रिम्पोछेले
आशीर्वाद स्वरूप दिनुभएको
मैलो हुँदै गएको खादा ।

दिदीले बिदाइमा लगाइदिएको 
पुरानो हुँदै गएको ढाकाटोपी
यताउता असरल्ल कोठाभरि 
व्यवस्थित विवश बाध्यताहरू 
प्रियजनहरूको गाढा सम्झना, 
मेरो आत्मामा गहिरो कुदिएको छ ।

अनायास कहिलेकाहीँ
पटकपटक 
अनियन्त्रित आँसु नयनबाँध भत्काएर
बगिदिन्छ अनुहारको बाटो हुँदै ।

दिनहरूसँगै उनेर आएको रातहरू
दिनरातहरू मिलेर पुरानो बनाउँदै गरेको जीवन 
अनि अलिकति हाँसो 
अलिकति आँसुको कथा आनन्द साझा गर्छौं
हातमा हात मिलाएर
बनाएको अञ्जान जिन्दगीहरूसँग ।

प्रेमको उज्यालोभित्र 
इन्द्रेणीमा नअटाएको रंग समेटेर
सम्बन्धको क्यानभासभरि 
मितेरी मित्रताको चित्र कोर्छु ।
मनमा बास बस्दै गर्दै छ यात्रा 
एक खालिपन खपत, स्थायी छाप छोडेर 
पुनः एकपटक 
भावनामा मनसुन छिरेर
आँखा बन्छ बादलमय आकाश 
अनि झरी उही स्थानीय स्थायी मित्र आँसु ।

आफ्नै विश्वासले गरेका सान्त्वनाको आशामा 
कुल देवताको भरोसामा 
नजानेर गरेको भुलहरूको सम्झनामा
नदेखिएको भोलिहरूसँग गरेको
भाका र सम्झौता गरेको पत्रहरूमा
कहिल्यै नभेट्ने गरी 
टाढा भएको बा–आमाको यादहरूमा
सुखहरूमा धेरै–धेरै मज्जाले साथ दिने
दुःखमा फर्केर पनि नहेर्ने 
प्रिय साथीहरूको सम्मानमा
आफू बाँचेर अरुलाई मार्ने
पत्थरको मन–मुटु भएको ठुला मान्छेहरूको स्वागतमा 
फेरि एकपटक 
अलि कति पीडाको
अलि कति आक्रोशको
अलि कति खुसीको 
अलि कति विछोडको
हेर्दा पानीजस्तै देखिने
आँखाभित्रको आँसुको जरुवा खोल्दै
बगाउँदै छ भलसरि 
आँखा दुखेर दुख्छ
आँसु रुझेर भिज्छ 
आँखा र आँसुको विलाप ।

पाँचखाल, काभ्रेपलाञ्चोक
हाल : लिमासोल, साइप्रस
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुशील लामा
सुशील लामा
लेखकबाट थप