नागरिकतामा प्रक्रियाका नाममा कर्मचारीले सास्ती दिएपछि बिचौलिया हावी

जनकपुरधाम । हालै जारी ऐन अनुसार जन्मसिद्ध नेपाली नागरिकका सन्तानलाई नागरिकता वितरणका क्रममा जिल्ला प्रशासन कार्यालयमा आवश्यक कागजपत्र जुटाउन सकस भइरहँदा बिचौलिया हाबी हुन थालेका छन् ।
जिल्ला प्रशासन कार्यालय धनुषामा नागरिकता लिनेहरुको घुइँचो लागेको छ । नयाँ नागरिकता ऐन आएपछि जन्मसिद्ध नागरिकका सन्तानहरु नागरिकता लिन जिल्ला प्रशासनमा आउने गरेका छन् । कार्यालयमा भिड बढेसँगै कर्मचारीहरुले सेवाग्राहीलाई आवश्यक कागजपत्रबारे राम्रोसँग बुझाउन नसक्दा बिचौलियाको भर पर्नुपर्ने बाध्यता रहेको सेवाग्राही बताउँछन् ।
मिथिला नगरपालिका–८ कुसुम, बिछौनाका सुदिपकुमार महतो दुई जिल्ला प्रशासन कार्यालय धाए । पहिलो दिन सिफारिस र साइन स्टाम्प छैन भनेर कर्मचारीले फर्काएको उनी बताउँछन् । सबै कागजातहरु ल्याए पनि नाता प्रमाणित र स्थानीय बसोबास सिफारिसको कागज नभएको भन्दै दोस्रो दिन फेरि कर्मचारीले फर्काएको उनले बताए ।
तर जिल्ला प्रशासन कार्यालय आसपास घुम्ने गरेका बिचौलियाले २५ हजार रुपैयाँ दिएमा तत्कालै नागरिकता बनाइदिने भनेर आफूसँग पैसाको बार्गेनिङ गरेको उनले सुनाए ।
यस्तै बटेश्वर गाउँपालिका–१ का मनोहर महतो र उनका भाइ दिपेश्वर महतो नागरिकता बनाउन दुई दिनदेखि जिल्ला प्रशासन कार्यालय धाइरहेका छन् ।
जिल्ला प्रशासनका अधिकृतले उनीहरुलाई वडाबाट स्थानीय बसोबास सिफारिस प्रमाणपत्र सहित र विवाह दर्ताको प्रमाणपत्रको फोटोकपी ल्याउन भनेका छन् । आफूहरुसँग दुवै कागजपत्र भए पनि विभिन्न बहानामा कर्मचारीले पन्छाइरहेको उनीहरुको गुनासो छ ।
आफूसँगै आएका एक जनाले भने बिचौलियालाई पैसा दिएर नागरिकता लिएको महेश्वर बताउँछन् ।
सेवाग्राहीहरुलाई अनाहकमा कर्मचारीले दुःख नदिएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको दाबी छ । उनले अनाहकमा सेवाग्राहीलाई दुःख नदिन कर्मचारीलाई निर्देशन नै दिएको बताए ।
तर पनि कसैले सेवाग्राहीलाई दुःख दिएर घुस वा केही लिए आफूलाई जानकारी गराउन उनले आग्रह गरे । त्यस्ता कर्मचारीलाई कारबाही गर्ने उनको प्रतिबद्धता छ ।
उनले विचौलियालाई जिल्ला प्रशासन कार्यालयमा निषेध गर्न सादा पोशाकमै प्रहरी परिचालन गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘आतङ्कवादी हमला केवल भारत–पाकिस्तानको मुद्दा होइन, सम्पूर्ण दक्षिण एसियाको क्षेत्रीय समस्या हो’
-
नेपालका श्रमिकको जीवनस्तर उकास्न जापानको महत्त्वपूर्ण भूमिका : श्रममन्त्री
-
मधेसमा नयाँ रङ्गशाला निर्माण र पुराना संरचना मर्मत गर्न बजेट विनियोजन गरिने
-
बद्रीनारायण धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्छौं : मुख्यमन्त्री लामा
-
१० बजे १० समाचार : एमालेमा गुटगत प्रतिशोधदेखि कांग्रेसमा देउवाको ब्रिफिङसम्म
-
खोटाङको बराहपोखरी गाउँपालिका : ६७ वटा योजना सम्झौता गरिएकामा ४१ वटा योजना सम्पन्न