बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

१०.७ प्रतिशतले खुम्चियो मानिसको मस्तिष्क

मङ्गलबार, १९ असार २०८०, १७ : २८
मङ्गलबार, १९ असार २०८०

मानिसको मस्तिष्क लगातार खुम्चिरहेको छ । आकार घटिरहेको छ । कारण हो जलवायु परिवर्तन । जलवायु परिवर्तनको दर बढ्दै जाँदा मानिसको मस्तिष्क सानो हुँदै जान्छ । यो नयाँ अनुसन्धानमा डरलाग्दो तथ्य सार्वजनिक भएको छ । यो अनुसन्धानले के भन्छ, यसबारे जानकारी लिऔँ । 

मानिससँग जलवायु परिवर्तन र योसँगै फेरिएको मानिसको शरीरको ५० हजार वर्ष पुरानो दस्ताबेज छ । क्यालिफोर्नियास्थित नेचुरल हिस्ट्री म्युजियमका वैज्ञानिक जेफ मोर्गन स्टिबलले मानिसले परिवर्तित जलवायुको तनावलाई कसरी सहन्छ भन्ने विषयमा अनुसन्धान गरेका छन् । 

आफ्नो शोध पत्रमा उनले हाल विश्व भरी जसरी मौसम परिवर्तन भइरहेको छ, जसरी तापक्रम बढिरहेको छ, यस्तो अवस्थामा मानिसको मस्तिष्कमा पर्ने जलवायु परिवर्तनलाई बुझ्न सहज नभएको बताएका छन् । तर यसको कारणले मानिसको मस्तिष्क खुम्चिरहेको छ र आकार सानो भइरहेको छ । यसले उनीहरूको व्यवहारमा पनि असर परिरहेको छ ।

शोधमा जेफ मोर्गनले २९८ मानिसको मस्तिष्कको आकारको अनुसन्धान गरे । यी स्पेसिमेन हुन् अर्थात् पुराना मानिसको जीवाश्म दिमाग । जुन ५० हजार वर्ष पुरानोदेखि नयाँसम्मका हुन् । अनुसन्धानमा विश्वव्यापी तापक्रम, आद्रता अर्थात् ह्युमिडिटी र वर्षाको आँकडा पनि हेरियो । तर जुन नतिजा आयो, त्यो भयानक छ ।

जलवायु तातो हुँदै जाँदा दिमागको औसत आकार घट्न थाल्छ । जबकि चिसो मौसममा यो फैलिन्छ । जेफ मोर्गन यसबारे भन्छन्, ‘मेरो पुरानो अनुसन्धानमा पनि यो कुरा सार्वजनिक भएको थियो  । तर म यसको जरासम्म पुग्न चाहन्थेँ । मानिसको दिमाग समय समयमा परिवर्तन भइरहन्छ । तर यसबारे निकै कम शोध भएको छ ।’

जेफका अनुसार थुप्रै प्रजातिका जीवको मस्तिष्क पछिल्लो केही लाख वर्षमा बढेको छ । विकसित भएको छ तर मानिसमा भने ठिक विपरीत भइरहेको छ । जेफले ५० हजार वर्ष पुरानो २९८ मानिसको मस्तिष्कका विभिन्न ३७३ वटा मापन लिएका थिए । साथै, मानिसको मस्तिष्क भेटिएको भौगोलिक स्थानको मौसमको पनि अनुसन्धान गरियो । यसरी जलवायु परिवर्तनको असर बारे पत्ता लगाउन सहज हुन्थ्यो ।

जीवाश्मलाई त्यसको उमेरको हिसाबले छुट्टाइएको थियो । जेफले जीवाश्मलाई सय वर्ष, ५००० वर्ष, १० हजार वर्ष वा सोभन्दा बढीको श्रेणीमा छुट्टाए  । यसो गरेर उनले चार भिन्न भिन्न समयमा अलग–अलग मौसमको हिसाबले मस्तिष्कको आकारको गणना गर्न सकियोस् । डाटा युरोपियन प्रोजेक्ट फर आइस कोरिङ इन अन्टार्कटिका डोममार्फत् लिइएको थियो ।

यो प्रोजेक्ट ८ लाख वर्ष अघि सम्मको सतहको तापक्रमको रेकर्ड राख्छ । अन्तिम ५० हजार वर्षमा ग्लेसियल (हिमनदी) धेरै थिए । जसका कारण औसत तापक्रम चिसो नै हुन्थ्यो । तर यो अन्तिम प्लिस्टोसिनसम्म मात्रै सम्भव भयो । त्यसपछि होलोसिन अर्थात् आधुनिक मानिस बस्ने विश्वको तापक्रम बढ्न सुरु भयो, यो अहिलेसम्म रोकिएको छैन ।

होलोसिनको सुरुवात अर्थात् करिब १२ हजार वर्ष अघिदेखि अहिलेसम्म मानिसको आकारमा १०.७ प्रतिशत कमी आएको छ । जेफ भन्छन्, ‘अन्तिम ग्लेसियल अधिकतम १७ हजार वर्ष अघि थियो । त्यसपछि यो तापक्रम लगातार फेरिरहेको छ । मौसम परिवर्तन भइरहेको छ । यसै कारण मानिसको दिमाग सानो भइरहेको छ । ’

मानिसको दिमाग ५ देखि १७ हजार वर्षको बीचमा बढी खुम्चिएको छ । यसको मुख्य कारण ग्लोबल वार्मिङ हो । यो लगातार बढिरहेको छ । यसको असर लामो समयमा मानिसको मस्तिष्कमा नकारात्मक नै पर्नेछ । आकार सानो हुनेछ । मस्तिष्क सानो हुँदा शरीरमा असर पर्नेछ । व्यवहारमा असर पर्नेछ । कस्तो खालको परिवर्तन आउनेछ, यो त अनुसन्धानको विषय हो ।

जेफ भन्छन्, ‘मेरो अनुसन्धानले तापक्रम बढ्दा, मौसम परिवर्तन हुँदा र जलवायु परिवर्तनका कारण मानिसको दिमाग खुम्चिरहेको छ, आकार सानो भइरहेको भनेर प्रमाणित भइसकेको छ । भविष्यमा थप खतरनाक स्थिति निम्तिँदै छ ।’

यो शोध ब्रेन, बिहेवियर र इभोलुसन जर्नलमा प्रकाशित भएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप