आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेससँगको सहकार्यप्रति संकेत गर्दै एमाले महासचिव पोखरेलले भने –वामपन्थी एकताको कुरा ‘काशी जानु कुती’ को बाटो !

मङ्गलबार, १९ असार २०८०, २० : २७
मङ्गलबार, १९ असार २०८०

काठमाडौँ । एमाले महासचिव शंकर पोखरेलले नेकपा नेतृत्वको सरकार ढालेर कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न राष्ट्रपतिदेखि सर्वोच्च अदालत धाउनेहरु नै नेकपा व्युत्याउँने चर्चामा लागेको बताएका छन् ।

दुई साता लामो अमेरिका भ्रमणबाट फर्केलगत्तै महासचिव पोखरेलले आम चुनावबाट प्राप्त जनादेश अनुरुप नयाँ गठबन्धनको सरकार बनाउँदा गरेको सहमति समेत तोडेर कांग्रेसलाई राष्ट्रपतिमा निर्वाचित गर्न विवश भएकाहरुले नै वामपन्थी एकताको कुरा गरिरहेको बताएका हुन् ।

‘यतिवेला नेकपा व्युताउने कुराको चर्चा चलाइएको छ । विगतमा नेकपा नेतृत्वको सरकार ढालेर कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न राष्ट्रपतिदेखि सर्वोच्च अदालतसम्म धाउनेहरु नै यसमा सक्रिय देखिन्छन्’, महासचिव पोखरेलले फेसबुकमा लेखेका छन्, ‘यतिसम्मकी आम चुनावबाट प्राप्त जनादेश अनुरुप नयाँ गठबन्धन सरकार बनाउँदा भएको सहमति तोडेर नेपाली कांग्रेसलाई नै राष्ट्रपतिमा निर्वाचित गर्न विवश भएकाहरुनै वामपन्थी एकताको कुरा गर्न थालेका छन् ।’ 

नेपालको वामपन्थी आन्दोलनको मुख्य शक्ति नेकपा(एमाले)का विरुद्धमा घेराबन्दी गर्नेहरुले नेकपा व्युताउने चर्चा चलाउनु वा वामपन्थी एकताको कुरा गर्नु ’काशी जानु कुतीको बाटो’ जस्तै रहेको भने झैँ रहेको पोखरेलको भनाइ छ । 

साथै उनले नेकपा(एमाले) यस्ता बेमौसमका अवसरवादी र अस्तित्व रक्षाका लागि गरिएका निरर्थक प्रलापप्रति सचेत रहेको बताएका छन् ।

‘अव नेपालको राजनीतिमा विचारका आधारमा राजनीतिक ध्रु्विकरण आवश्यक छ । विकास र समृद्धिका लागि नीतिगत नेतृत्व सहितको बलियो राष्ट्रिय शक्तिको आवश्यकता पर्दछ’, पोखरेलले भनेका छन्, ‘त्यसको लागि  प्रमुख दलहरुलाई नीति, कार्यक्रम र योजनासहित सुदृढ गर्नु आवश्यक छ ।’ 

महासचिव पोखरेलले धु्रविकरण विचारका आधारमा हुनुपर्ने पनि बताएका छन् ।

‘तर त्यो असफल भइसकेको नेकपाको पुनस्र्थापनाको बाटोबाट होइन, नयाँ र मौलिक तरिकाको राजनीतिक ध्रुवीकरणको बाटोबाट मात्र सम्भव हुन्छ । तसर्थ अव नेताहरुको टाउका जोडेर होइन भविष्य भएका युवाहरुको मन जोडेर आन्दोलनलाई सुदृढ गर्ने बाटोमा अघि बढ्न सक्नुपर्दछ’, पोखरेलको भनाइ छ । 

उनले अहिले जस्तो जनमत गुमाएकाहरुले राज्यसत्ताको नेतृत्व गरिरहेको विकृत राजनीतिक अभ्यासलाई अन्त्य गर्नका लागि बलिया राजनीतिक दल र त्यसको जगमा राजनीतिक स्थायित्व कायम गर्नसक्ने बलियो राष्ट्रिय शक्ति निर्माणमा जुट्नुपर्ने पनि बताएका छन् । नेपाली कांग्रस र एमालेबीचको सहकार्यका बारेमा चर्चा भइरहेका बेला महासचिव पोखरेलले बलिया राजनीतिक दल भनेर स्पष्ट नभएपनि उनको संकेत कांग्रेसप्रति रहेको प्रस्ट बुझ्न सकिन्छ । 

‘नेकपा(एमाले) त्यसका लागि वैचारिक, राजनीतिक, संगठनात्मक योजनाका साथै मनोवैज्ञानिकरुपमा नयाँ ढंगले अघि बढ्न प्रतिबद्ध छ’, पोखरेलले भनेका छन्,‘अव हरेकले महसुस गर्ने वेला भयो– विकास र समृद्धिका लागि गठबन्धन नामको अस्थिरता र अलमलको बाटोमा होइन, बलियो राष्ट्रिय शक्ति निर्माणको उज्यालो बाटो देशका लागि अपरिहार्य छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप