मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
राजनीति

यसकारण भएन जसपा र नेकपा एकीकृत समाजवादीबीच एकीकरण

बिहीबार, २१ असार २०८०, ०७ : १०
बिहीबार, २१ असार २०८०

काठमाडौं । समाजवादी मोर्चा गठन भएपछि जनता समाजवादी पार्टी नेपाल र नेकपा एकीकृत समाजवादी पार्टीबीच हुने भनिएको एकीकरण नहुने भएको छ ।

एकीकरणका लागि नेकपा एकीकृत समाजवादी पार्टीले उपाध्यक्ष डा.बेदुराम भुसालको संयोजकत्वमा र जसपाले वरिष्ठ नेता राजेन्द्र श्रेष्ठको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । दुई दलबीच कार्यदल स्तरमा पटक पटक छलफल गरी एक अर्काको पार्टी दस्तावेजबारे अध्ययन गरी प्रतिवेदन पनि बनाइएको छ । तर समाजवादी मोर्चा बनेपछि पार्टी एकता प्रकृयामा पूर्णविराम लागेको हो ।

नेकपा एकीकृत समाजवादीका उपमहासचिव डा.विजय पौडेलले सैद्धान्तिक पक्षमै कुरा नमिलेपछि पछाडि हटिएको बताए । उनले भने, ‘एकताका लागि कुरा नमिलेपछि यो मोर्चा बनाका हौं । अब मोर्चामै रहेर दुवै पार्टी अगाडि बढ्छन् ।’

एकताका लागि अझै सम्भावना रहे पनि अहिले मोर्चाबाटै अगाडि बढ्ने सहमति भएको पौडेलले बताए । दुवै दलबीच राजनीतिक  दस्तावेजहरु अध्ययन गरी प्रतिवेदन तयार गर्ने जिम्मेवारी उपमहासचिव पौडेललाई नै थियो । तर उनले प्रतिवेदनको बारेमा केही बोल्न चाहेनन् ।

जसपाका कार्यकारिणी समितिका सदस्य एवं वार्ताका लागि गठन भएको कार्यदलका सदस्य गोविन्द चौधरीले पनि तत्कालका लागि एकताको प्रकृया स्थगित भएको बताए । ‘पार्टी एकीकरणका लागि हरेक कोणबाट छलफल भयो, छलफल चलिरहेकै बेला समाजवादी मोर्चा बन्यो,’ उनले भने, ‘मोर्चा बनेपछि तत्कालका लागि एकता प्रक्रिया स्थगित भएको छ ।’

सैद्धान्तिक रुपमा दुवै पार्टीबीच भिन्नता रहे पनि कुनै बिन्दुमा गएर एकता हुन्छ कि भनेर प्रयास भएको उनले बताए । उनले भने, ‘वैचारिक तथा सैद्धान्तिक रुपमा फरक भए पनि एकताका लागि प्रयास भएको हो, हाललाई स्थगित भए पनि पछि यसलाई पुनः जोड्न सकिन्छ ।’

स्रोतका अनुसार नेकपा एकीकृत समाजवादीले मार्क्सवादी, लेनिनवादी विचारलाई त्याग्न मानेन । पार्टीमा ‘कम्युनिस्ट’ राख्नै पर्ने अडानमा नेकपा एकीकृत समाजवादी रहेका कारण जसपा पछाडि हटेको हो । ‘वैचारिक रुपमै मतभिन्नता भएपछि एकता गर्ने कुरै आउँदैन,’ जसपाका एक नेताले भने, ‘जसपा कम्युनिष्ट पार्टी हुन सक्दैन, माधवकुमार नेपालको पार्टीले कम्युनिष्ट छाड्न नमानेपछि जसपा एकता गर्न तयार नभएकै हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप