शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
खेलकुद

१४६ वर्ष पुरानो ‘अल ह्वाइट’ नीतिबाट किन पछि हट्यो विम्बल्डन ?

‘आखिर महिलाको समस्या पनि बुझ्नु पर्‍यो नि’
शुक्रबार, २२ असार २०८०, ११ : ०८
शुक्रबार, २२ असार २०८०

काठमाडौँ । विश्व खेलकुदमा निकै पुरानो प्रतियोगितामध्ये एक मानिन्छ, विम्बल्डन । टेनिसका चारवटा चर्चित ग्रान्डस्लाम प्रतियोगितामध्ये यो सबैभन्दा पुरानो प्रतियोगिता पनि हो । विम्बल्डन स्थापना भएको एक सय ४६ वर्ष (सन् १८७७) बितिसकेको छ । विश्व टेनिसको अर्को महत्वपूर्ण प्रतियोगिता यूएस ओपनभन्दा विम्बल्डन चार वर्ष जेठो हो । यूएस ओपनको स्थापन सन् १८८१ मा भएको हो । फ्रेन्च ओपनको स्थापना सन् १८९१ र अस्ट्रेलियन ओपनको स्थापना सन् १९०५ मा भएको हो । 

पुरानो प्रतियोगिता भएकाले पनि अनुशासन, खेलाडीले प्रयोग गर्ने पोशाक र केही परम्परागत नियमहरुमा विम्बल्डनले निकै कडा नीति अपनाउने गरेको पाइन्छ । आफ्ना परम्परागत नीतिरनियमहरुबाट रत्तिभर पनि टसमस हुन चाहँदैन, विम्बल्डन ।  खेलका क्रममा खेलाडीले लगाउने पोशाकको विषयमा त कठोर देखिन्छन्, विम्बल्डनका आयोजक । तर, खेलाडीको पोशाकको विषयलाई लिएर निकै लामो समयदेखि वहस भने चल्दै आएको छ । आयोजक भने आफ्ना परम्परागत नीतिहरुको विषयमा कुनै सम्झौता गर्न तयार देखिँदैन । 

all-white-policy (2)

विम्बल्डन खेल्ने प्रत्येक खेलाडीले सेतो पोशाक लगाउनु अनिवार्य छ । खेलाडीको पाशोकको विषयमा ‘अल ह्वाइट’ को नीतिलाई कडाइका साथ पालन गर्दै आएको विम्बल्डनको परम्परा यसपटक भने भंग भएको छ ।  यतिबेला लन्डनमा विम्बल्डनको अर्को एउटा संस्करण आयोजना हुँदैछ । विश्वभरका धुरन्धर खेलाडी कोर्टमा आफूलाई अब्बल सावित गर्न प्रतिस्पर्धा गर्दैछन् । पुरुष खेलाडी सेतो रंगकै पोशाकमा सजिएर कोर्टमा ओलिएका छन् भने महिला खेलाडीको पोशाकमा क्रमभंगता देखिएको छ । 

यस अर्थमा विम्बल्डनको यो संस्करणले एउटा फरक ऐतिहास रचेको छ । महिला खेलाडीले लामो समयदेखि विम्बल्डनमा प्रयोग हुने पोशाकको विषयमा कुरा उठाउँदै आएका थिए । केही विशेष अवस्थामा सेतो रंगको पोशाक महिला खेलाडीका लागि असहज हुने उनीहरुको गुनासो थियो ।  खासगरी महिनावारी भएको बेला सेता रंगको पोशाक लगाउनु असहज हुने महिला खेलाडीको गुनासो रहँदै आएको थियो । यस विषयमा लामो समयदेखि वहस पनि हुँदै आएको थियो । सञ्चारमाध्यमहरुले पनि यो विषयलाई गम्भिरताका साथ उठाउँदै आएका थिए । 

त्यसैले विम्बल्डन आयोजकमाथि चर्को दबाब पर्दै आएको थियो । अन्ततः गत नोभेम्बरमा अल इङ्ल्यान्ड क्लबले विम्बल्डनको परम्परालाई चुनौति दिँदै एउटा कठिन निणर्य लियो । त्यो निर्णय थियो, ‘महिला खेलाडीलाई महिनावारी भएको समयमा शरिरको तल्लो भागमा कालो रंगको पोशाक लगाउने स्वतन्त्रता दिने ।’ तर, शरिरको माथिल्लो भागको पोशाक भने अनिवार्य रुपमा सेतो नै हुनुपर्छ ।

all-white-policy (3)

क्लबको यो निणर्यका बावजुद विम्बल्डनले अपनाउँदै आएको परम्परागत कठोर नियमका कारण प्रतियोगिता सुरु हुँदासम्म पनि खेलाडीहरु ढुक्क भने थिएनन् । तर, अहिले त्यो निणर्य पूर्ण रुपमा लागू भएको छ र कोर्टमा महिला खेलाडीले त्यसको फाइदा पनि उठाइरहेका छन् ।  विम्बल्डनको एक सय ४६ वर्ष लामो इतिहासमा बेलारुसकी भिक्टोरिया अजारेन्का पहिलो पटक विम्बल्डन कोर्टमा गाढा हरियो रंगको पोशाक लगाएर ओर्लिइन् । उनले शरिरको माथिल्लो भागमा सेतो र तल्लो भागमा हरियो रंगको पोशाक लगाएकी थिइन् ।

३३ वर्षीया अजारेन्का विश्व महिला टेनिसकी पूर्वनम्बर एक खेलाडी हुन् । उनले हालसम्म विम्बल्डनको उपाधि भने जित्न सकेकी छैनन् । सन् २०११ र सन् २०१२ मा उनी विम्बल्डनको महिला एकलतर्फ सेमिफाइनलसम्म पुगेकी थिइन् ।  ‘महिला खेलाडीले लामो समयदेखि यसको माग गर्दै आएका थिए । पोशाक नीतिका कारण महिला खेलाडी वास्तबमै अप्ठ्यारोमा थिए । विम्बल्डनको इतिहासमा यो महत्वपूर्ण कदम हो,’ खेलपछि अजारेन्काले भनिन् ।

अजारेन्कालाई पछ्याउँदै चेक गणतन्त्रकी १८ वर्षीया लिन्डा फ्रुभिर्तोभा पनि रंगिन पोशाक लगाएर कोर्टमा ओर्लिएकी थिइन् । यसैगरी कजाकस्तानकी एलेना राइबाकिनाले पनि विम्बल्डनको संशोधित नियमको फाइदा उठाइन् । २४ वर्षीया राइबाकिना विम्बल्डनकी साविक विजेता पनि हुन् । खेलमा राइबाकिनाकी अमेरिकी प्रतिद्वन्द्वी सिल्बी रोजर्स पनि रंगिन पोशाकमै कोर्टमा ओर्लिएकी थिइन् ।

all-white-policy (4)
 
मुख्य कोर्टमा आर्यना साबालेन्का र पाना युडभार्डीबीच भिडन्त भएको थियो । उक्त खेलमा आर्यना ६—३, ६—१ अंकले विजयी भइन् । तर, दुबै खेलाडीमा एउटा समानता थियो । आर्यना र पाना दुबै रंगिन पोशाकमै कोर्टमा ओर्लिएका थिए । ‘पोशाकको विषयमा यसरी स्वतन्त्रता दिनु राम्रो कुरा हो तर, मलाई भने विम्बल्डनको सेतो पाशाक पनि राम्रै लाग्छ,’ खेलपछि राइबाकिनाले भनिन् । यसअघि रुसकी पूर्वखेलाडी तातियाना ग्लोभिन सन् २००७ मा शरिरको तल्लो भागमा रातो रंगको पोशाक लगाएर कोर्टमा ओर्लिएकी थिइन् । 

त्यसपछि उनलाई आयोजकले तत्काल चेतावनी दिएका थिए । उनले यस विषयमा आफूलाई जानकारी नभएको स्पष्टीकरण दिएकी थिइन् । तर, विश्व टेनिसमा धेरै तातियानाको उक्त व्यवहारलाई सांकेतिक विरोधको रुपमा लिएका थिए । 

all-white-policy (5)

सन् २०१३ मा चर्चित स्विस खेलाडी रोजर फेडेरर पनि सुन्तला रंगको जुत्ता लगाएर कोर्टमा ओर्लिएका थिए । तत्कालै उनले आयोजकबाट चेतावनी पाएका थिए । त्यसपछि फेडेररले रंगिन जुत्ता फुकाल्नु परेको थियो ।  यसैगरी अघिल्लो वर्ष अस्ट्रेलियन खेलाडी निक किर्गियस फाइनलमा पराजित भएका थिए । उपविजेताको पुरस्कार लिन जाँदा उनले रातो रंगको क्याप (टोपी) लगाएका थिए । त्यसपछि उनले पनि आयोजकबाट चेतावनी पाएका थिए ।

all-white-policy (1)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप