शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशमा बजेटमाथिको छलफल सुरु

मङ्गलबार, २६ असार २०८०, १७ : ४४
मङ्गलबार, २६ असार २०८०

धनगढी । सुदूरपश्चिम प्रदेशसभामा प्रस्तुत आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथिको छलफल आजदेखि सुरु भएको छ । प्रदेश सरकारका आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले बजेट छलफलको प्रस्ताव पेश गरेका थिए । बजेटमाथि संक्षिप्त धारणा राख्दै मन्त्री शाहीले प्रस्तुत बजेटले प्रदेशको विकासमा नयाँ आधार तय गर्ने दाबी गरे । उनले भने, ‘सुदूरपश्चिमको विकासको लागि एउटा आधार बन्ने छ । यो बजेटले अरू बजेट सिर्जना गर्ने गरी बजेट बनाइएको छ । उद्यम विकासका विषयहरू छन् । उत्पादन र रोजगारीको विषयहरू राखिएका छन् । यो बजेट यथार्थपरक छ ।’ तर छलफलमा भाग लिएका सांसदहरुले बजेटप्रति कडा टिप्पणीसहित असन्तुष्टि पोखेका छन् ।

छलफलमा नेपाली कांग्रेसका प्रमुख सचेतक विक्रमसिंह धामीले आफ्नो निर्वाचन क्षेत्रमा बजेट परे पनि आफूहरुले सिफारिस गरेका प्रस्ताव नसमेटिएको बताए । नेकपा एमालेका संसदीय दलका नेता राजेन्द्रसिंह रावलले बजेटमा संसद विकास कोष कार्यक्रम ब्यूँताएर जनविरोधी काम भएको टिप्पणी गरेका छन् । गठबन्धन सरकारले ल्याएको बजेटले जनतामा निराशा समेत पैदा गरेको उनको आरोप छ ।

यसैबीच रावलले संसद नियमत चल्नुपर्ने र बजेटको दफावार छलफल चलाउन माग राख्दै कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बजेट संशोधन र पुरक बजेट ल्याउन लविङ गर्न लगाउनु संसदको अपमान भएको बताए । उनले भने, ‘कतिपय मान्छेहरु यहाँ बजेट संशोधन गर्नुपर्छ भनेर होहल्ला पिटाउँदैछन् । नेपाली प्रक्याटिस के हो ? संसदीय परम्परा के हो ? काठमाडौँमा समाधान खोज्ने कुरा हो र ? देउवा र प्रचण्डजीको घरमा गएर पुरक बजेट ल्याउन लगाउनु यसको अपमान हो कि होइन ?’ 

नागरिक उन्मुक्तिका प्रदेशसभा सदस्य कैलाशकुमार चौधरीले बजेट विभेदपूर्ण भएकाले यथास्थितिमा पास हुन नदिने बताउँदै संशोधन हुनुपर्ने माग राखे । उनले भने, ‘कैलालीको जानकी गाउँपालिकाको केही वडा मेरो निर्वाचनमा पर्छ र केही मुख्यमन्त्रीजीको निर्वाचन क्षेत्रमा पर्छ । तर उहाँको निर्वाचन क्षेत्र र मेरो निर्वाचन क्षेत्रमा परेको योजना हेर्नुस् त ? त्यसकारण यो बजेटलाई आत्मसात गर्न सकिने अवस्था छैन ।’

राप्रपाकी खिमादेवी विष्टले पनि बजेटमा असन्तुष्टि जनाइन् । उनले आफूले प्रस्ताव गरेको एउटा पनि कार्यक्रम समावेश नभएको बताउँदै जसले कमिसन दिन्छ उसको मात्रै समावेश भएको आरोप लगाइन् ।  यसैबीच विष्टले आफू वडामा बहिष्कृत भइसकेको समेत गुनासो गरिन् । आफूले बुझाएका योजनाहरू बजेटमा नआएपछि विगत २५ दिनदेखि घर बाहिर निस्कन नसक्ने बताउँदै उनले आफू त्रासपूर्ण वातावरणमा बस्न बाध्य भएको सुनाइन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप