बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

नयाँ पार्टीप्रति अर्थमन्त्रीको टिप्पणी : नयाँ प्रवृत्तिहरू कति टिक्छन् हेरौँला

शनिबार, ३० असार २०८०, १७ : ५३
शनिबार, ३० असार २०८०

काठमाडौँ । अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पुराना पार्टीहरूले केही गरेनन् भनेर नयाँ आएका पार्टीहरू टिक्न नसक्ने टिप्पणी गरेका छन् । शनिबार काठमाडौँमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै महतले यिनीहरूले केही गर्दैनन् भनेर आएका नयाँ पार्टीहरू धेरै समय नटिक्ने दाबी गरेका हुन् । 

महतले भने, ‘जताजता पात हल्लियो, त्यता त्यतै कुरा हामी गर्दैनौँ । अहिले नयाँ नयाँ प्रवृत्तिहरू यिनीहरूले गर्दैनन्, हामी गर्छौँ भनेर आएका छन्, टिक्दैनन् । हामी दुःखमा, सुखमा १० औँ वर्ष जेल, प्रवासन, पुलिसको लाठी डन्डा सहेर अप्ठ्यारोमा, झरीमा पनि खटेर बनेको पार्टी हो नेपाली कांग्रेस । यस्तै समस्या नयाँ प्रवृत्तिहरूले भोग्नुपर्‍यो भने कति टिक्छन् हेरौँला ।’

अर्थमन्त्री महतले पार्टीका महामन्त्रीहरूप्रति लक्षित गर्दै पार्टी र पार्टीका नेताको आलोचना पार्टीको केन्द्रीय समितिमा गर्न चुनौती दिए । उनले सामाजिक सञ्जालमा पार्टीको आलोचना गरेर पार्टी निर्माण हुन नसक्ने दाबी गरे । उनले भने, ‘हामी पार्टीका सबै नेताहरू एक अर्काको आलोचना गर्न धेरै समय खर्च गर्छौँ, नेतृत्वलाई नै खसाल्न हामी धेरै समय खर्च गर्छौँ । हामी पार्टीको नेतृत्वलाई नै आलोचना गर्न धेरै समय खर्च गर्दछौँ । यसमा धेरै समय खेर फाल्यौँ भने अहिले त सामाजिक सञ्जालको जमाना छ, हरेकको घरघरमा पुग्छ, यिनीहरू त आफैँ झगडा गरेर बसिरहेका छन्, यिनीहरूको पार्टीमा किन लाग्ने भन्छन् की भन्दैनन्, त्यसैले केन्द्रीय समितिको बैठक २ गतेलाई तोकिएको छ, त्यहाँ भनौँ, जिल्ला समिति छ, त्यहाँ भनौँ, क्षेत्रीय समिति, गाउँ, नगर समिति छ त्यहाँ भनौँ । त्यहाँबाट निष्कर्ष निकालेर पार्टीको मात्रै कुरा गरौँ । त्यहाँ नभन्ने तर बाहिर भनेको भन्यै गर्ने प्रवृत्तिले पार्टी बलियो हुँदैन, जनता दुविधामा पर्छन्, के हो नेपाली कांग्रेसले भनेको बुझिँदैन । हामीले सामाजिक सञ्जालमा पार्टी नेतृत्वको कुरा बहस गर्ने होइन, संयन्त्रमा छलफल गर्ने हो ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप