सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
ललिता निवास प्रकरण

भुटानी शरणार्थीमा मुछिएका केशव ललिता निवास प्रकरणका ‘बिचौलिया’

आइतबार, ३१ असार २०८०, १९ : ५२
आइतबार, ३१ असार २०८०

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा धरौटीमा छुटेका केशव तुलाधरलाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेर अनुसन्धान थालेको छ । ब्युरोका अनुसन्धान अधिकृतहरूका अनुसार तुलाधरविरुद्ध यसअघि नै अदालतबाट पक्राउ पुर्जी जारी भैसकेको थियो ।

आइतबार जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधव प्रसाद घिमिरेले तुलाधरलाई १५ लाख धरौटीमा छाड्न आदेश गरे । धरौटी रकम बुझाउन साथ प्रहरीले उनलाई पुनः हतकडी लगाए । नक्कली भुटानी शरणार्थी प्रकरणमा तुलाधरको बैंक खातामा रकम आएको पाइएको थियो ।

बालुवाटार स्थित ‘ललिता निवास’ क्याम्पको जग्गा हिनामिना प्रकरणमा तुलाधर ‘बिचौलिया’को भूमिकामा देखिएको केन्द्रीय अनुसन्धान ब्युरोका एसएसपी दिनेश आचार्यले रातोपाटीलाई बताए । सुवर्ण शमशेर लगायतबाट जफत भएको जग्गा फिर्ता गर्ने प्रकरणमा तुलाधरले ‘बिचौलिया’को भूमिका खेलेको सीआईबीको अनुसन्धान निष्कर्ष छ । जग्गा फिर्ता गर्ने नाममा ११२ रोपनी ४ आना १ दाम जग्गा हिनामिना भएको छ । सो प्रकरणमा २०९ जना संलग्न छन् ।

असन घर भएर काठमाडौँ–१६ नयाँ बजार बस्ने ५९ वर्षीय तुलाधरले ललिता निवास क्याम्प भित्रको २ रोपनी जग्गा आफ्नो नाममा ल्याएको एसएसपी आचार्यले बताए । उनी भन्छन्–‘जग्गा किर्तेमा तुलाधरले सहयोग गरेको देखिन्छ, थप अनुसन्धान गर्दै छौँ ।’

तुलाधर सँगै ललिता निवास प्रकरणमा पक्राउ सङ्ख्या १८ पुगेको छ ।

 ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा हालसम्म पक्राउ

१. मीन बहादुर गुरुङ । (भाटभटेनी सुपर मार्केटका सञ्चालक, असार १२)

२. सुधीर कुमार शाह । पूर्व निर्वाचन आयुक्त ।

३. धर्म प्रसाद गौतम, शाखा अधिकृत ।

४.गोपाल कार्की, अवकाश प्राप्त खरिदार

५. शिवजी भट्टराई, तत्कालीन वडा सचिव (असार १७)

६.घमान कुमारी कार्की, नापी सर्वेक्षक ।

७. बाबुराजा महर्जन, नक्कली मोही ।

८. रमेश कुमार पोखरेल, समरजंग कम्पनीका तत्कालीन प्रमुख (असार १८)

९. देव नारायण महर्जन, मोही ।

१०. लोकहरि घिमिरे, समरजंग कम्पनीको तत्कालीन प्रमुख (असार २४)

११. ध्रुव प्रसाद अर्याल, नापी सर्वेक्षक ।

१२. कृष्ण बहादुर राउत, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव ।

१३. योगराज पौडेल, नासु डिल्लीबजार मालपोत । (असार २६)

१४. नारायणदास मिश्र, पूर्व खरिदार डिल्लीबजार मालपोत ।

१५ रुद्र प्रसाद श्रेष्ठ, महानिर्देशक भूमिसुधार तथा व्यवस्था विभाग । (असार २६)

१६. बालकृष्ण श्रेष्ठ, सीडीई भौतिक योजना तथा निर्माण मन्त्रालय ।

१७. विनोद पौडेल, सह लेखापाल समरजंग कम्पनी । (असार २७)

१८.केशव तुलाधर, बिचौलिया । काठमाडौँ–३० असन (असार ३१)

स्टे अर्डरमा छुटेका ।

१. कलाधर देउजा, प्रमुख डिल्लीबजार मालपोत ।

२. सुरेन्द्रमान कपाली, अधिकृत ।

३. हुपेन्द्रमणि केसी, शाखा अधिकृत ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप