सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

वृक्षारोपण गरेर संगठन विस्तार अभियान सुरु गर्दै नेसपा

सोमबार, ०१ साउन २०८०, ०६ : १६
सोमबार, ०१ साउन २०८०

काठमाडौँ । नेपाल समाजवादी पार्टीले आजबाट संगठन निर्माण तथा विस्तार अभियान सञ्चालन गर्दैछ । 'अबको राष्ट्रको सङ्कल्प, समाजवादी विकल्प' भन्ने नारासहित पौषसम्म चल्ने अभियानको नेसपाका केन्द्रीय पदाधिकारीहरूले सातै प्रदेशमा वृक्षारोपण गरी उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

अभियानको कोशी प्रदेशमा उपाध्यक्ष हिसिला यमी, मधेस प्रदेशमा अध्यक्ष महिन्द्र राय यादव, बागमती प्रदेशमा सहअध्यक्ष गंगानारायण श्रेष्ठ, गण्डकी प्रदेशमा अध्यक्ष डाक्टर बाबुराम भट्टराई, लुम्बिनी प्रदेशमा सहअध्यक्ष गोविन्द चौधरी, कर्णाली प्रदेशमा भक्तबहादुर शाह र सुदूरपश्चिम प्रदेशमा उपाध्यक्ष दुर्गा सोबको नेतृत्वमा अभियान सञ्चालन हुनेछ ।

पार्टी अध्यक्ष डाक्टर भट्टराईले गोरखाको पालुङटार नपा १ खोप्लाङ ज्योती चौतारामा विभिन्न प्रजातिका वृक्षारोपण गरेर अभियानको सुरुवात गर्नेछन् ।

त्यस्तै कोशी प्रदेशमा आत्मनिर्भर अर्थतन्त्रको नारासहित मोरङ र सुनसरी जिल्लामा २ सय थान फलफूलको वृक्षारोपण गरेर अभियानको शुभारम्भ हुने प्रदेश इन्चार्ज भरत दाहालले जानकारी दिए । मधेस प्रदेशमा फूलको विरुवा रोपेर अभियान सञ्चालन गर्ने नेसपा नेता प्रमोद यादवले जानकारी दिए ।

बागमती प्रदेशका १३ जिल्लामा प्रत्येक जिल्लामा एकहजार फलफूलसहित विभिन्न प्रजातिका बोटबिरुवा रोपेर अभियानको शुभारम्भ हुने प्रदेश अध्यक्ष वन्दना सुवेदीले जानकारी दिइन् । त्यसैगरि सुदूरपश्चिम प्रदेशका कैलाली जिल्लाको टिकापुर, भजनी र कैलालीमा व्यापकरुपमा वृक्षारोपण गरेर अभियानको शुभारम्भ हुने इन्चार्ज जनक शाहले जानकारी दिए । प्रदेशका कञ्चनपुर, बैतडी, डडेलधुरा, अछाम, बाजुरा, बझाङका विभिन्न स्थानमा समेत वृक्षारोपण गरी अभियानको शुभारम्भ हुने शाहले जानकारी दिए ।

प्रत्येक जिल्लामा विभिन्न प्रजातिका १ हजार भन्दा बढी वृक्षारोपण गरिने लक्ष्य लिइएको नेसपाले जनाएको छ । अभियान सात वटा प्रदेशका सबै जिल्ला तथा केही आवश्यकता अनुसार पालिका तहमा समेत सञ्चालन गरिने कार्यक्रम रहेको नेसपाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप