शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
कांग्रेस बैठक

कांग्रेसले यसरी गर्दैछ केन्द्रीय समिति बैठकको लाइभ

मङ्गलबार, ०२ साउन २०८०, ११ : ०४
मङ्गलबार, ०२ साउन २०८०

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकको लाइभ गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो १ बजेदेखि सुरु हुने बैठकको लाइभ गरिने कांग्रेस प्रचार प्रसार विभाग प्रमुख मीन विश्वकर्माले बताए ।

उनका अनुसार पार्टीको आधिकारिक फेसबुक पेजबाट बैठकको लाइभ गरिने छ । पार्टीको पत्रकार सम्मेलन गर्ने कक्षमा बैठकको लाइभ प्रविधि जडान गरिएको विश्वकर्माले रातोपाटीलाई बताए । ‘हाम्रो पत्रकार सम्मेलन कक्षा छ ,’ उनी भन्छन्, ‘त्यो कोठामा लाइभ गर्ने प्रविधि जोडेका छौँ । माथिबाट बैठक हलमा क्यामरा कनेक्सन गरेर लाइभ गरिन्छ ।’

बैठकको लाइभका लागि व्यवस्थापन मिलाउने काम भइरहेको विश्वकर्माको भनाइ छ । ‘अडिओ, भिडिओ क्पाप्चर पार्टीको अफिसियल क्यामराले गर्छ । लाइभ सम्प्रेषण हामी पार्टीको फेसबुक पेजमार्फत गर्छौँ,’ उनले भने । 

मिडिया हाउसलाई लाइभ गर्ने दिनेबारे छलफल भए पनि पार्टीकै फेसबुक पेजमार्फत लाइभ गर्दा उपयुक्त हुने निष्कर्षमा पुगेको विश्वकर्माले बताए । ‘बैठकमा मिडियालाई लाइभ गर्न दिने कुरा व्यवहारिक हुँदैन पनि । पचास साठी क्यामरा अट्दा पनि अट्दैन । सेट गर्न पनि समय लाग्छ,’ उनले भने, ‘अहिले पार्टीकै क्यामेराबाट गरौँ । पछि प्रोग्रेस गर्न सकिन्छ भने हेरौँला भन्ने भएको छ ।’

उनका अनुसार सभापति शेरबहादुर देउवाले सोमबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा केन्द्रीय समिति बैठकको लाइभ गर्ने प्रस्ताव गरेका थिए । उनले भने, ‘दुईथरि कुरा गर्ने साथीहरूले सिधा कुरा गर्नुपर्‍यो भन्ने सभापतिको जिकिर छ । बैठकमा भनेको कुरा मिडियामा नभन्ने र मिडियामा भनेको कुरा बैठकमा बन्ने भए साथीहरू । त्यसले पार्टीलाई नोक्सानी पुग्यो । त्यो भएकाले लाइभ गरिदिऔँ । जे हुन्छ हुन्छ भन्नु भयो ।’

देउवाको उक्त प्रस्तावमा महामन्त्री गगन थापा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले फरक मत राखेका थिए । देउवाको प्रस्तावबारे थापाले भने, ‘होइन सभापतिज्यू त्यस्तो कहाँ हुन्छ । साथीहरूले खुलेर बोल्न पाउनुपर्छ ।’ तर महामन्त्री विश्वप्रकाश शर्माले भने बैठकको लाइभ गर्ने देउवाको प्रस्ताव सकारात्मक रहेको बताएका थिए । बैठक लाइभ गर्दा सकारात्मक सन्देश नै जाने उनको तर्क थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप