माटोसँग खेल्नेहरूको दैनिकी : घामभन्दा काम प्यारो
भक्तपुर । चैतको दिन मध्यान्ह बाह्र बजे घामले तातेर टाउको फुट्ला जस्तो हुन्छ । तर केही यस्ता मानिसहरू छन् । जो सुखद् भविष्यको कल्पना गर्दै यो मध्य घाममा पनि काम गरिरहेका हुन्छन् ।
भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा धेरै इँटा भट्टा छन् । मुुलुक भूकम्पपछि पुनर्निमार्णको चरणमा छन् । त्यही अभियानलाई अदृश्य रूपमा साथ दिइरहेका छन् यी पात्रहरूले ।
सुडाल जाने बाटोको बायाँतिर १३ वर्षका सुजन कार्की आमालाई माटो दिएर काममा सहयोग गरिरहेका थिए । उनकी आमा दिलकुमारी कार्की धमाधाम इँटा बनाइरहेकी थिइन् । बाबु स्कुल जादैनौ ? हामीले प्रश्न गर्यौं ।
सुजनले भने, ‘म लुभुमा बसेर ६ कक्षामा पढ्छु, शुक्रबार दिदीसँग आएको, अब आज जान्छु पढ्न । ’
दिलकुमारीले सुजनले उत्तर दिइ नसक्दै भनिन्, ‘पहिला हामी लुभुतिर बस्ने हो, त्यसैले बच्चाहरू उतै बसेर पढ्छन् ।’
दिलकुमारीका अनुसार उनीहरू इँटा बनाउन आएको यो पहिलो वर्ष हो । उदयपुरको गाईघाट बजार नजिकैको गाउँबाट लालाबाला च्यापेर श्रीमान रङ्गबहादुर कार्कीसहित उनीहरू सहर आए । गत वर्ष यो समयमा उद्योगीहरूले इँटा बनाउने मजदुरहरूलाई १ हजार इँटा बनाएको १ हजार दिएका थिए । तर यो वर्ष १ सय थपेर दिने हल्ला छ, दिलकुमारीले सुनाइन् ।
यस्तो घाममा काम गर्दा गाह्रो हुँदैन दिदी भन्दा उनले भनिन्, ‘हामीलाई घामभन्दा काम प्यारो भाइ ।’
विगतका वर्षमा श्रमिकहरूले आफै माटो मुछेर तयार बनाउनु पथ्र्यो तर केही वर्ष यता व्यवसायीले नै माटो मुछेर ल्याइदिने गरेका छन् । यसले गर्दा कामदारलाई धेरै सहज बनाइदिएको छ ।

सानैमा बाबु बितेपछि सुमनको सपना टुट्यो
केही पर सल्यान जिल्ला शारदा नगरपालिकाका श्यामलाल गिरी इँटाको चाङ लगाउँदै थिए । उनीहरूको तीन जनाको समूह छ । एकजनाले दैनिक ६, ७ सय काँचो इँटा बनाउँछन् । उनीहरूको पनि यो काम पहिलो वर्ष हो । श्यामलालका ३२ वर्षका भतिज लोक गिरी र आफन्त पर्ने १६ वर्षका सुमन केसी सँगै झ्याउलीमा बस्छन् । खाना बनाउने रुटिङ छ । आज सुमनको पालो रहेछ । म अलिकति परको झ्याउली पुगे । सानो र होचो छाप्रोमा दाउरा बालेर खाना पकाउँदै गर्दा धुवाँले आँखा खोल्न नमिल्ने अवस्था थियो । त्यहीँ भेटिए सुमन । सानै उमेरका उनलाई सोधेँ, किन सहर आयौ त ? झ्याउलीको ढोका नजिकै आएर उनले भने, ‘काम गर्न ।’ २०७२ साल असोज महिनाको एक दिन सुमनका लागि निकै अकल्पनीय भयो । ४० वर्ष पनि उमेर नपुगेका उनको पिताको मृत्यु भयो । घरमा आमा, भाइ र बहिनीको जिम्मेवारी अब उनको काँधमा आयो । दुई वर्ष उतै काम गरेका सुमन आफन्त श्यामलालको साथ लागरे सहर आए ।

माछा व्यापार नचलेपछि भट्टातिर
धनुषा हंसपुर नगरपालिका मोहित सहनी पहिला सिद्राको व्यापार गर्थे । तर त्यो पेसाले घरखर्च चलाउनै समस्या भयो । त्यसपछि उनले हंसपुरमा रहेकी श्रीमती र दुई जना छोराहरूलाई लिएर सहर आए । सबै परिवार मिलेर १ हजार इँटा बनाउने गरेको बताए । बस्नलाई सानो झ्याउली छ । उनले हामीसँग कुरा गर्दै भने– ‘कोठाभाडा पर्दैन्, काम त जे गरे पनि काम नै हो, माटोसँग खेल्नु पर्छ ।’

उद्योगलाई व्यवस्थित बनाउनुपर्ने
भक्तपुर जिल्लामा ६४ वटा इँटा भट्टा छन् । त्यस मध्ये करिब ५२ वटा जति त चाँगुनारायण नगरपालिकामा मात्र छ । पुनर्निर्माणको यो चरणमा महत्वपूर्ण निर्माण सामग्री इँटा उद्योगलाई स्थानीय तह र सरकारले व्यवस्थित बनाउन पहल गर्नुपर्ने देखिन्छ । माटो र कोइलाबाट चल्ने यो उद्योग उचित मापदण्ड बनाउन सरकारले व्यवसायीलाई सहज वातावरण बनाउनुपर्दछ । स्थानीय क्षेत्र वरपरको वातावरण र स्वयम् उक्त उद्योगमा श्रम गर्ने श्रमिकको स्वास्थ्यमा समेत सम्बन्धित निकायले चासो दिनुपर्ने देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इंग्ल्याण्ड र क्रोएसियाबीचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण