मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
अर्थ

राष्ट्र बैंकले साउन ९ गते मौद्रिक नीति सार्वजनिक गर्ने

बिहीबार, ०४ साउन २०८०, १८ : १२
बिहीबार, ०४ साउन २०८०

काठमाडौँ । नेपाल राष्ट्र बैंकले यही साउन ९ गते आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ । नयाँ आर्थिक वर्ष सुरु भएसँगै साउनको पहिलो साता नै मौद्रिक नीति ल्याउने तयारी गरिएको भएपनि गभर्नर महाप्रसाद अधिकारी देश बाहिर जानुपरेकाले समय सरेको हो । 

अर्थमन्त्री डा.प्रकाशशरण महतसँगै गभर्नर अधिकारी भारतमा आयोजित जी–२० सम्मेलनमा भाग लिएर बुधबार मात्र स्वदेश फर्किएका छन् । यसलगत्तै मौद्रिक नीति सार्वजनिकको तयारी गरिएको राष्ट्र बैंकका सूचना अधिकारी नारायणप्रसाद पोखरेलले जानकारी दिए । 

पोखरेलका अनुसार मौद्रिक नीति साउनको दोस्रो हप्ता ७  देखि ९ गतेभित्र सार्वजनिक गर्ने तयारी राष्ट्र बैंकको रहेको छ । 

बिहीबार बसेको अर्थ समितिको बैठकमा गभर्नर अधिकारीले बजेटले लिएको आर्थिक वृद्धिदर हासिल गर्ने, मूल्यवृद्धि नियन्त्रण गर्ने र बाह्य क्षेत्र व्यवस्थापन हुने गरी चालु आवको मौद्रिक नीति जारी गरिने वचन दोहोर्‍याएका छन् । सरकारले गत जेठ १५ गते ६ प्रतिशत माथिको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्यसहित १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको छ । सोही बजेटले लिएको आर्थिक वृद्धिदरको लक्ष्य, रोजगारी सिर्जना गर्नेदेखि मुलुकको वित्तीय तथा मौद्रिक नीतिको सुधार गर्नेगरी मौद्रिक नीति ल्याउने उनले बताए ।

‘पछिल्ला दिनमा बाह्य क्षेत्र सन्तुलित अवस्थामा रहेको छ । बैंकको ब्याजदर घट्दो क्रममा रहेको छ । यसले बैंकिङ सिस्टममा पर्याप्त तरलता मौज्दात रहेको छ । यसका बाबजुद पनि केही मूल्यवृद्धि नियन्त्रण हुन नसकेको साँचो हो’ गभर्नर अधिकारीले भने, ‘गत आर्थिक वर्षका लागि राखिएको मूल्यवृद्धिको बाञ्छत सीमा सात प्रतिशत रहेकामा त्योभन्दा माथि नै रहने देखिएको छ । सञ्चित कोष एक खर्ब ९३ अर्बले घाटामा छ । निक्षेप सङ्कलन राम्रो देखिए पनि कर्जाको बिस्तार घटेको छ । यी सबै समस्यालाई सम्बोधन गर्नेगरी बजेटले राखेको ६ प्रतिशतको आर्थिक वृद्धिदरलाई समेत भेट्नेगरी मौद्रिक नीति आउँछ’ गभर्नर अधिकारीले भने । 

अघिल्लो वर्षको तुलनामा अहिले बाह्य क्षेत्र सहज अवस्थामा पुगेको पनि उनले बताए । त्यस्तै बजारमा माग घट्नु र लगानी विस्तार खुम्चिएका कारण कर्जाको माग घटिरहेको भएपनि अहिले निक्षेप र कर्जाको ब्याजदर निरन्तर घट्ने क्रममा रहेको गभर्नर अधिकारीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप