लगातार हारको शृङ्खला तोड्ने दाउमा नेपाल
सारांश
- आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपाल र नामिबियाबीच सोमबार प्रतिस्पर्धा हुँदैछ।
- लगातार दुई खेलमा हार व्यहोरेको नेपाल र आफ्नो पछिल्लो खेलमा अप्रत्याशित हार भोगेको नामिबिया दुवैका लागि यो खेल महत्त्वपूर्ण रहेको छ।
- अंक तालिकामा नेपाल ११ जित र १७ हारसहित पाँचौँ स्थानमा छ भने नामिबिया ११ जित र १७ हारसहित छैटौँ स्थानमा छ।
काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत सोमबार नेपाल र नामिबियाबिच प्रतिस्पर्धा हुँदैछ।
नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क मार्सचालकरविर्डमा हुने यो खेल नेपाली समय अनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ।
लिग २ मा महत्त्वपूर्ण अङ्क जोड्ने लक्ष्यसहित दुवै टोली मैदानमा उत्रिनेछन्। लगातार दुई खेलमा हार व्यहोरेको नेपाल र आफ्नो पछिल्लो खेलमा अप्रत्याशित हार भोगेको नामिबिया दुवैका लागि यो खेल महत्त्वपूर्ण रहेको छ।
पछिल्लो समय नेपाल खराब लयबाट गुज्रिरहेको छ भने नामिबियाको प्रदर्शन पनि उतारचढावपूर्ण रहेको छ। यी दुई टोलीबिच अहिलेसम्म १० वटा अन्तर्राष्ट्रिय खेल भएका छन्। जसमा नामिबियाले सात खेल जितेको छ भने नेपालले तीन खेलमा मात्र जित निकालेको छ।
उट्रेचको यस मैदानमा एकदिवसीय खेलको पहिलो इनिङ्सको औसत स्कोर १९२ रन र दोस्रो इनिङ्सको औसत स्कोर १४० रन रहेको छ।
लिग २ को अङ्क तालिकामा नेपाल हाल ११ जित र १७ हारसहित पाँचौँ स्थानमा छ। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ७८७ रन बनाएका छन् भने सन्दीप लामिछानेले सर्वाधिक ४२ विकेट लिएका छन्।
नेपालले आफ्नो पछिल्लो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटको हार व्यहोरेको थियो। उक्त खेलमा पहिला ब्याटिङ गरेको नेपाल १५७ रनमै अलआउट भएको थियो। कुशल भुर्तेल, आसिफ शेख, रोहितकुमार पौडेल र इशान पाण्डेले खासै राम्रो प्रदर्शन गर्न सकेनन्।
आरिफ शेखले ४० र गुलसन झाले २९ रन बनाए पनि टोलीले डेथ ओभरमा रन जोड्न सकेन। नेदरल्यान्ड्सका अलेक्जेन्डर रोयले २४ रन खर्चेर ३ विकेट लिएका थिए।
जवाफी ब्याटिङमा नेदरल्यान्ड्सले सुरुवाती ३ विकेट गुमाए पनि कप्तान स्कट एडवार्ड्सले ६१ र नोआ क्रोजले ३४ रन बनाउँदै टोलीलाई ४५औँ ओभरमा जित दिलाएका थिए।
यसैगरी अङ्क तालिकामा नामिबिया ११ जित र १७ हारसहित छैटौँ स्थानमा छ। नामिबियाका लागि जान फ्राइलिनले सर्वाधिक ७१६ रन बनाएका छन् भने बर्नार्ड स्कोल्ट्जले ४८ विकेट लिएका छन्। आफ्नो पछिल्लो खेलमा नामिबिया नेदरल्यान्ड्ससँग ५८ रनले पराजित भएको थियो।
उक्त खेलमा नेदरल्यान्ड्सले पहिला ब्याटिङ गर्दै ५० ओभरमा २५१ रन बनाएको थियो। सुरुवातमै सेड्रिक डे लाङ्गे र ज्याक लायन क्याच आउट भए पनि बास डे लिडेले ९७ र म्याक्स ओडाउडले ३९ रन जोडेका थिए। स्कट एडवार्ड्सले पनि राम्रो योगदान गर्दा टोली ठुलो योगफलमा पुगेको थियो।
जवाफी ब्याटिङमा उत्रिएको नामिबिया १९३ रनमै समेटिएको थियो। माइकल भ्यान लिङ्गेन र जान फ्राइलिन सस्तैमा आउट हुँदा लोरेन स्टेन्क्याम्पले ६८ रन बनाए पनि अन्य खेलाडीको साथ नपाउँदा टोलीले फराकिलो हार व्यहोरेको थियो।
नामिबियाको टोलीमा गेर्हार्ड इरास्मस (कप्तान), मलान क्रुगर, जान फ्राइलिन, माइकल भ्यान लिङ्गेन, लोरेन स्टेन्क्याम्प, अलेक्जेन्डर भोल्स्चेन्क, निकोल लोफ्टी-इटन, जेजे स्मिट, जेन ग्रीन, रुबेन ट्रम्पलम्यान, बर्नार्ड स्कोल्ट्ज, जेसी बाल्ट, म्याक्स हिंगो, ज्याक ब्रासेल र वाल्डो स्मिथ रहेका छन्।
त्यस्तै नेपाली टोलीमा रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आसिफ शेख, इशान पाण्डे, आरिफ शेख, गुलसन कुमार झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने, ललितनारायण राजवंशी, भीम सार्की, अर्जुन कुमाल र विनोद भण्डारी रहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी र पहिरोले देशभरका मुख्य राजमार्ग अवरुद्ध, कहाँ-कहाँ रोकिए सवारी ?
-
सुनसरीमा दुई समुदायको बिचमा झडप, सुरक्षाकर्मीको गोलीबाट एक जनाको मृत्यु
-
सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु
-
असारमा सुस्त बनेको रोपाइँ सक्रिय मनसुनसँगै साउनमा ह्वात्तै बढ्यो
-
मुग्लिन-नारायणगढ सडक खण्डको पहिरो हटाइयो, सवारी आवागमन पुनः सञ्चालनमा
-
सात दिनभित्र हाजिर नभए ११ प्रहरीको जागिर जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण