बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश

मध्यपश्चिम विश्वविद्यालयले किन गर्‍यो करोडौँको चन्दा आह्वान ?

विदेशका विद्यार्थीहरूलाई आकर्षित गर्नका लागि आह्वान गरिएको हो : विश्वविद्यालय
शनिबार, ०६ साउन २०८०, १४ : १०
शनिबार, ०६ साउन २०८०

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयले बिहीबार एउटा सूचना जारी गर्‍यो । सूचनामा लेखिएको थियो, ‘मध्यपश्चिम विश्वविद्यालयमा सुनौलो अवसर, शैक्षिक क्षेत्रमा योगदान गरी आफ्नै जीवनकालको इतिहास निर्माण गरौँ ।’ 

उक्त भनाइसहित विश्वविद्यालयले करोडको हाराहारीमा शीर्षकगत रूपमा चन्दा आह्वान गरेको छ । चन्दा दिएको खण्डमा माथि उल्लेखित नारा अनुसार इतिहास निर्माण गरिने प्रचार विश्वविद्यालयले गरेको छ । यति मात्र होइन यदि कसैले शीर्षक अनुसारको चन्दामार्फत योगदान पुर्‍याएको खण्डमा सम्मान विश्वविद्यालयले गर्ने पनि बताएको छ । 

सूचनाको बुँदा नम्बर १ मा विश्वविद्यालयको समग्र भौतिक पूर्वाधार निर्माणमा योगदान गर्न इच्छुक चन्दादाताहरू मध्ये १ करोड देखि २ करोड ५० लाख सम्म योगदान गरेको खण्डमा चन्दादाताको पूर्ण कदको प्रतिमा विश्वविद्यालय परिसरमा निर्माण गरिने उल्लेख गरिएको छ । साथै भौतिक पूर्वाधार निर्माणका लागि पूर्ण रूपमा योगदान गर्न इच्छुक व्यक्ति वा संघ/संस्थालाई विश्वविद्यालयको गरिमा र शैक्षिक विकासमा गरेको योगदानका आधारमा सम्पन्न हुने परियोजनाको नामाकरण पनि योगदान गर्ने व्यक्ति वा संस्थाकै नामबाट गरिने विश्वविद्यालयले जनाएको छ । 

यस्तै २ नम्बर बुँदामा विश्वविद्यालयका विभिन्न शैक्षिक कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको एमयू ग्लोबल स्कलरसीप फन्ट स्थापनार्थ शीर्षकमा चन्दा माग गरिएको छ । जसमा पाँच वटा महादेशको ग्लोबल स्कलरसीपको व्यवस्था गरिएको छ ।

यो शीर्षक अन्तर्गत १ करोड प्रदान गर्ने चन्दादाता वा संस्थाको नामबाट कुनै एक महादेशका लागि अन्तर्राष्ट्रिय छात्रवृत्ति प्रदान गरिने जनाइएको छ । 

यस्तै सोही शीर्षकमा २ करोड प्रदान गर्ने चन्दादाता वा संस्थाको नामबाट कुनै दुई महादेशका लागि अन्तर्राष्ट्रिय छात्रवृत्ति प्रदान गरिने उल्लेख गरेको छ ।

३ करोड चन्दा दिनेलाई तीन महादेश, ४ करोड चन्दा सहयोग गर्नेलाई चार महादेश र ५ करोड चन्दा सहयोग गर्नेलाई पाँच वटै महादेशका लागि अन्तर्राष्ट्रिय छात्रवृत्ति प्रदान गरिने विश्वविद्यालयले जनाएको छ । 

 विश्वविद्यालयले अक्षय कोषको स्थापना गरी चन्दा रकमको ब्याजबाट प्राप्त रकममध्ये ५० प्रतिशत महिला तथा ५० प्रतिशत पुरुष हुने गरी प्राविधिक तथा गैर–प्राविधिक विषयमा चन्दादाताकै चाहना अनुसार ५ वटै महादेशबाट विद्यार्थीलाई अन्तर्राष्ट्रिय छात्रवृत्ति प्रदान गरिने विश्वविद्यालयले जनाएको छ । 

जसको उद्देश्य विश्वविद्यालयलाई ‘कस्मोपोलिटन सेन्टर अफ एकेडेमी एक्सिलेन्स’  बनाउने रहेको छ । चन्दा आह्वान गर्दै उक्त अभियानलाई सार्थक पार्न विश्वविद्यालयले अनुरोध गरेको छ । 

सरकारी स्वामित्वको विश्वविद्यालयले भौतिक पूर्वाधारमा समेत ‘भिख’ मागेको भन्दै विभिन्न टिप्पणी भइरहेका छन् । कतिपयले सरकारी बजेट अपुग भएर हो कि चन्दा माग गरेको भन्दै आलोचना पनि भइरहेको छ ।

किन चन्दा आह्वान गरियो ?

विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा नारायणप्रसाद पौडेलले यसको प्रमुख उद्देश्य भनेको विदेशी विद्यार्थीहरूलाई आकर्षण गर्नु रहेको बताए । ‘नेपाली विद्यार्थीहरू विदेशमा पढ्न जान्छन्, विदेशी विद्यार्थीहरूलाई पनि नेपालमा आकर्षित गर्नका लागि हामीले यस्तो गरेका हौँ,’ उनले भने,‘ग्लोबल लेभलमा विद्यार्थीहरूलाई आकर्षित गर्नका लागि कसैले स्कलरसिप फन्ड गर्न चाहेको खण्डमा त्यसरी गर्न खोजिएको हो ।’ 

विदेशका विश्वविद्यालयहरूमा सयौँ देशमा विद्यार्थीहरू पढ्ने गरे पनि नेपालमा नेपालकै विद्यार्थीहरू पढ्न रुचाउँदैनन् । पौडेलले भने, ‘हाम्रोमा नेपालकै विद्यार्थी पनि पढ्न विदेश जान्छन् । विदेशीलाई आकर्षण गर्नका लागि स्कलरसिप  राखिएको हो । राज्यले यस्तो कार्यका लागि नियमित रूपमा सहयोग गर्दैन । त्यसले आकर्षण गर्नका लागि दातृ निकाय, व्यक्तिहरूले हामी सहयोग गर्न तयार छौँ भनेपछि फन्ट तयार भयो भने विदेशी विद्यार्थीलाई आकर्षण गर्न सकिन्छ ।’ 

पौडेलले चन्दा नमागिएको तर चन्दाका लागि आह्वान मात्र गरिएको बताए । विदेशतिरका विश्वविद्यालयमा विभिन्न निकायहरूले पनि यस्तो अभियान चलाइरहेको उदाहरण उनले दिए । यद्यपि विश्वविद्यालयले जारी गरेको सूचनामा भौतिक पूर्वाधार निर्माणका लागि पनि चन्दा आह्वान गरिएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप