शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

इथियोपियामा सुरक्षा बल र मिलिसिया लडाकुबीच झडप, संकटकाल लागू

शनिबार, २० साउन २०८०, १७ : ०२
शनिबार, २० साउन २०८०

इथियोपिया । इथियोपियाको अम्हारा प्रान्तमा संघीय सुरक्षा बल र स्थानीय मिलिसिया लडाकुहरूबिचको हिंसात्मक झडपपछि स्थिति तनावपूर्ण बनेको छ। बिग्रँदै गएको अवस्थालाई ध्यानमा राख्दै इथियोपियाको संघीय सरकारले अम्हारा क्षेत्रमा शुक्रबार संकटकाल घोषणा गरेको छ । 

स्थानीय नेताले नियमित कानून प्रवर्तनले हिंसा रोक्न सक्षम नभएको बताएपछि प्रधानमन्त्रीको कार्यालयले शुक्रबार भएको संकटकाल लगाउने निर्णयको घोषणा गरेको हो । तर, प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा अम्हारामा मात्र लागू हुने कि देशभर लागू हुने भन्नेबारे भने केही बताइएको छैन । सरकारले गरेको विज्ञप्तिमा यो गतिविधिबाट राष्ट्रिय सुरक्षा र सार्वजनिक शान्तिमा खतरा दिनप्रतिदिन बढ्दै गएको भने उल्लेख गरिएको छ ।

यस हप्ताको सुरुमा इथियोपियाको दोस्रो सबैभन्दा धेरै जनसङ्ख्या भएको प्रान्तमा फानो मिलिसिया र इथियोपियन नेशनल डिफेन्स फोर्स बीचको हिंसात्मक झडप सुरु भएको थियो । मिडिया रिपोर्टका अनुसार हालै सरकारले ‘फानो’ भनेर चिनिने मिलिसियालाई हतियार बुझाउन बाध्य पार्ने प्रयास गरे लगत्तै तनाव बढेको थियो ।

संकटकाल घोषणा हुनुअघि उप प्रधानमन्त्रीले बुधबार शान्तिपूर्ण समाधानका लागि वार्ता गर्न आह्वान गरेका थिए । तर, उनको आह्वानको खासै प्रभाव देखिएको छैन । त्यसपछि सरकारले यस्तो निर्णय लिनुपरेको हो ।

मिडिया रिपोर्टहरूका अनुसार बिहीबार मिलिसियाका सदस्यहरूले सेनाको एकाइहरूमा आक्रमण गरेका छन्। यससँगै आन्दोलनकारीले धेरै मुख्य सडक अवरुद्ध गरेका छन् । जसका कारण यातायात अवरुद्ध भएको छ । अहिले तनावलाई मध्यनजर गर्दै दुई लोकप्रिय पर्यटकीय सहर लालिबेला र गोन्डरको उडान स्थगित गरिएको छ । हिंसा रोक्न प्रदेशमा इन्टरनेट बन्द गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप