आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

‘स्वास्थ्य क्षेत्रको भ्रष्टाचारको जालो तोड्न ओम्नीको फाइलबाट सुरु गरौँ’

शनिबार, २० साउन २०८०, १८ : ०२
शनिबार, २० साउन २०८०

काठमाडौं । स्वास्थ्य क्षेत्रमा व्याप्त भ्रष्टाचार सफाइ गरेर जनतालाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन ओम्नी काण्ड लगायतका भ्रष्टाचारका फाइल खोल्नु पर्ने वक्ताहरूले जोड दिएका छन् । शनिबार संवाद डबलीमा भएको स्वास्थ्य संवाद कार्यक्रममा बोल्दै भ्रष्टाचारको सेटिङमा तलदेखि माथिसम्मको संलग्नता हुने जिकिर गरेका छन् ।

नेपाली काँग्रेसका युवा नेता गुरुराज घिमिरेले देशका हरेक निकाय जस्तै स्वास्थ्य क्षेत्रमा पनि भ्रष्टाचारको जालो जब्बर भएर बसेको बताएका छन् । अधिकांश नीतिगत भ्रष्टाचारको कारण आम–जनताको स्वास्थ्य अवस्था दिनदिनै खस्किँदै गएको र नागरिकले अकालमै ज्यान गुमाउनु परेको धारणा राखेका छन् । उनले भ्रष्टाचारको जालो तोड्ने सुनौलो अवसर भएकोले आफ्नो पार्टीका नेता मन्त्री मोहनबहादुर बस्नेतले जनताले राहत पाउने तरिकाले काम गर्न सुझाव दिए ।

काँग्रेसका केन्द्रीय सदस्यसमेत रहेका नेता घिमिरेले बोलपत्र आह्वान गर्दा खेरी नै व्यापक मात्रामा भ्रष्टाचारको सेटिङ हुने हुँदा त्यसलाई राज्य संरक्षित नीतिगत भ्रष्टाचारको संज्ञा दिँदै भने,“यस्तो कहाली लाग्दो अवस्थालाई चिर्न यो सरकारले निर्मम भएर अगाडी बढ्नु पर्छ ।”

 गत वर्षको उदाहरण दिँदै नेता घिमिरेले भने,“५ लाख पर्ने सामाग्रीमा १८ लाखमा सेटिङ गरेर झण्डै २३ करोड भ्रष्टाचार हुन्छ भने अनि त्यसको मार जनतालाई पर्ने भयो ।”

विप्लव नेकपाका युवा नेता भीमसेन घिमिरे ‘विपिन’ले स्वास्थ्य सेवा विभागको खरिद शाखा प्रमुख डा.सुरेन्द्र चौरासियालाई सरकारले कारबाही नगरे आफूहरूले उनलाई सडकबाट ठिक पार्ने चेतावनी दिए । डा.चौरासियाले स्वास्थ्य क्षेत्रमा व्यापक भ्रष्टाचार गरेको बताउँदै भने,“स्वास्थ्य विभागमा भ्रष्टाचार र अनियमितताको प्रपञ्च मिलाउने महासय डा.सुरेन्द्र चौरासियालाई हामी चेतावनी दिन्छौँ, तपाईले सीमा नाघ्नु भयो ।” सरकारले स्वास्थ्य क्षेत्रको भ्रष्टाचारको सफाइ गर्न ओम्नी काण्डको फाइल खोल्न र त्यसमा आफ्नो पार्टीले पनि साथ दिने बताए ।

स्वास्थ्य व्यवसायी संघका अध्यक्ष नवराज बस्नेतले स्वास्थ्य क्षेत्रमा भएको विकृति विसङ्गति बारे सरोकारवालाहरू सबै जानकार भए पनि त्यसलाई सुधार्न कोही तयार नहुनु दुर्भाग्य भएको बताए । उनले ओम्नी लगायतका ठुला भ्रष्टाचारका काण्डमा सरकार उदासीन भएकोले अहिले पनि खुल्लमखुल्ला भ्रष्टाचार चलिरहेको धारणा राखे ।

बस्नेतले उपचार गर्ने चिकित्सकहरूलाई राज्यका कुनै पनि कार्यकारी पदमा राख्न नहुने र वर्तमान स्वास्थ्य मन्त्री बस्नेतले स्वास्थ्य विशेषज्ञ सुझाव आयोग बनाएर काम गर्नसमेत सुझाव दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप