आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
स्थायी कमिटी बैठक

एकीकृत समाजवादीको बैठकमा वामदेव गौतम र देवी ओझाको चर्चा

‘नेताहरूले उठाए पार्टी भन्दा आफ्नै भविष्यको प्रश्न’
आइतबार, २१ साउन २०८०, १० : १७
आइतबार, २१ साउन २०८०

काठमाडौँ । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीका नेताहरूले पार्टी निरन्तर ओरालो लाग्दै गएकाले आफ्नो राजनीतिक भविष्य नै अन्योलमा परेको भन्दै पार्टी तथा सङ्गठन विस्तारमा नेतृत्वको ध्यानाकर्षण गराएका छन् । 

पार्टी कार्यालय आलोकनगरमा शनिबारबाट सुरु भएको स्थायी कमिटीको पहिलो दिनको बैठकमा बोल्ने ११ जनामध्ये अधिकांशले यस्तो आशङ्कासहित नेतृत्वले यसबारे के सोचिरहेको छ ? भनेर प्रश्न गरेका हुन् । 

शनिबारको बैठकमा विरोध खतिवडा, बलराम बास्कोटा, शिव देउजा, ललित बस्नेत, सावित्रा भुसाल, रत्नेश्वर गोहित, रामप्रित पासवानलगायत ११ नेताले आफ्नो धारणा राखेको नेता खतिवडाले जानकारी दिए । उनका अनुसार नेताहरूले राजनीति वैचारिक विषय भन्दा पनि आफ्नै भविस्यमाथि चिन्ता गरेको पाएको बताए । 

‘११ जनामध्ये अधिकांशले राजनीतिक वैचारिक भन्दा पनि नेता कार्यकर्ता एमालेमा जाने क्रम बढेको भन्दै यस्तै रहे आगामी निर्वाचनमा पार्टीको हालत के हुने हो र आफ्नो समेत भविष्य के हुन्छ ? भनेर चिन्ता व्यक्त गरेको पाइयो’, खतिवडाले भने, ‘खासगरी दुई निर्वाचनमा आएको परिणामलाई लिएर धेरैले यस्तो गुनासो गर्नुभएको छ ।’

उनले निर्माणाधिन पार्टीमा सुरुवाती क्रममा जे आकलन गरिएको थियो त्यो भन्दा विपरीत नतिजा आएपछि त्यस्तो निराशा आउनु स्वभाविक भएको बताए । ‘म यसलाई स्वाभाविक नै मान्छु । किनभने हामी नेमकिपा वा जनमोर्चाजस्तो पार्टी होइनौं, हामी त समुद्रबाट निस्केको भंगालो जस्तै हौ तर, निर्वाचनमा परिणाम सोचेअनुरुप आएन यसले धेरैलाई निराशा पैदा गरेको देखियो’, खतिवडाको भनाइ छ । 

झण्डै ५० जना स्थायी समिति सदस्य रहेको सो पार्टीका बाँकी सदस्यहरुले आज धारणा राख्नेछन् । बैठकमा प्रत्येक सदस्यलाई १२ देखि २० मिनेटसम्म बोल्न समय दिने गरिएको छ । 

शनिबारको बैठकमा सम्मानित नेता झलनाथ खनालले अघिल्ला बैठकमा जस्तै एमसीसीले दीर्घकालमा समस्या थप्ने भन्दै एमसीसीबारे सोच्न नसकेको बताएका थिए । 

‘एमसीसीले समस्या ल्याउन सक्छ । यो इतिहासको एउटा घाउ रहिरनसक्छ’, बैठकमा खनालले भनेका छन् । 

स्थायी कमिटी सदस्य बलराम बास्कोटाले पार्टी नीति विचार र सिद्धान्तले मात्रै अघि बढ्ने भएकाले हाम्रो पार्टीको नीति र विचारबारे प्रष्ट हुन नसकेको भन्दै आगामी दिनमा यस्तो अन्यौलता हटाउनुपर्ने धारणा राखेका थिए । 

‘पहिला हामीले पार्टी निर्वाचन आयोगमा दर्ता गर्ने हिसाबले मात्रै अघि बढ्यौ, पार्टी दर्ता भएपछि अहिलेसम्म राजनीतिक विचारबारे बहस गरेका छैनौ, अव त्यो बहस सुरु गर्नुपर्छ’, बास्कोटाको भनाइ छ । उनले पार्टीमा आउने क्रमभन्दा जाने क्रम बढेको भन्दै यसलाई रोक्ने विधि अवलम्बन गर्न ढिला गर्नुनहुने सुझाव समेत राखेका छन् । 

साथै उनले नेता वामदेव गौतम, देवी ओझा लगायतका नेतालाई पार्टीमा ल्याउन कुनै पहल नभएको भन्दै त्यसका लागि ढोका खोल्नुपर्ने बताए । 

‘वामदेव गौतम देवी ओझाजस्ता मानिसहरु हाम्रो पार्टीमा आउनुपर्छ । उहाँहरूलाई ल्याउने वातावरण तयार गरिएको छैन’, बास्कोटाले बैठकमा भनेका छन् ।

त्यस्तै उनले पार्टी नेताहरुको आचरण, व्यवहार र शैलीमा आम रूपमा परिवर्तन गर्न जरुरी रहेको भन्दै पार्टीमा नोकरशाही प्रवृत्ति कायम रहँदा कार्यकर्ता र नेताकाबीचको दुरी बढ्न पुग्ने भएकाले छिटोभन्दा छिटो अधिवेशन गर्नुपर्ने धारणा राखेका छन् । 

एकीकृत समाजवादीले आगामी माघ महिनामा अधिवेशन गर्ने प्रस्ताव गरेको छ । आगामी भदौमा बस्ने केन्द्रीय कमिटी बैठकले उक्त प्रस्ताव अनुमोदन गर्ने नेताहरूको भनाइ छ । शनिबारको पहिलो दिनको बैठकमा सचिव रामकुमारी झाँक्रीलगायतका नेताहरू भने अनुपस्थित रहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप