सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

मधेसका मुख्य न्यायाधिवक्ताको धम्की– चरित्र हत्या गर्ने कसैलाई छोडिन्न

आइतबार, २१ साउन २०८०, १० : ५०
आइतबार, २१ साउन २०८०

जनकपुरधाम । मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता वीरेन्द्रकुमार ठाकुरले आफ्नो चरित्रहत्या गर्ने कसैलाई पनि नछाड्ने सार्वजनिक रुपमा धम्की दिएका छन् । उनले फेसबुकमा स्टाटस लेख्दै लेखेका छन्, ‘माँ जानकी र भगवतीको सौगन्ध, मेरो चरित्रहत्या गर्ने कसैलाई छोडिन्न ।’

मुख्य न्यायाधिवक्ता ठाकुरले आफ्नै कार्यालयमा कार्यरत कार्यालय सहयोगी (सहिद परिवार) लाई यौन दुर्व्यहार गरेको घटना प्रकाशमा आएपछि यस्तो प्रतिक्रिया जनाएका हुन् ।

मुख्य न्यायाधिवक्ताको कार्यालयको लेटरप्याडबाट साउन १९ गते एउटा बेनामे विज्ञप्ति जारी गर्दै यस सम्बन्धमा प्रकाशित समाचारमा विश्वास नगर्न आग्रह गरिएको छ । विज्ञप्तिमा ‘भ्रामक समाचार प्रेषित गर्ने समाचार माध्यमहरु र व्यक्ति उपर कानुन बमोजिम कारबाहीका लागि अघि बढ्ने विषयसमेत यसै प्रेस विज्ञप्तिमार्फत जानकारी गराउँदछु’ भनिए पनि विज्ञप्ति जारी गर्नेको नाम, ओहोदा भने खुलाइएको छैन । यद्यपि, प्रेस विज्ञप्तिमा उल्लेखित विवरण अनुसार मुख्य न्यायाधिवक्ता ठाकुरले नै विज्ञप्ति जारी गरेको बुझ्न सकिन्छ ।

Screenshot 2023-08-05 at 18.31.42

के हो विवाद ?

साउन १२ गते शुक्रबार मुख्य न्यायाधिवक्ता ठाकुरले सहिद परिवारकी ती कार्यालय सहयोगीलाई कार्यालय समय सकिएपछि बोलाएर उनको करार अवधि नथप्नेबारे जानकारी गराएका थिए । पीडित महिलाका अनुसार त्यसअघि मुख्य न्यायाधिवक्ता ठाकुरले उनलाई कार्यालयमा आउँदा हँसिलो हुन, सजिएर आउन भन्ने गरेका थिए । आफूलाई मुख्य न्यायाधिवक्ताले गलत नजरले हेर्ने गरेको उनको आरोप छ । आफूले प्रतिवाद गरेपछि नै आफ्नो करार अवधि नथप्ने धम्की मुख्य न्यायाधिवक्ताले दिएको उनको गुनासो छ ।

मुख्य न्यायाधिक्ताको कार्यालयकै लेटरहेड प्रयोग गरी साउन १९ गते जारी विज्ञप्तिमा भने यो प्रसङ्गलाई उल्लेख गर्दै भनिएको छ, ‘सरकारको नारा नै मुस्कानसहितको सेवा दिने, प्रदान गर्ने रहेको हुँदा रुष्ट र रुखो व्यवहारले सेवाग्राही र अन्य कर्मचारीहरु प्रति असल संगठनात्मक व्यवहार प्रदर्शित गर्दैन ।’

आफूमाथि मुख्य न्यायाधिवक्ताले गरेको व्यवहारबारे पीडित महिला कर्मचारीले मुख्यमन्त्री सरोजकुमार यादवसमक्ष साउन १४ गते लिखित उजुरी दिएकी छन् । यद्यपि, मुख्यमन्त्री यादवले नै आफूलाई मुख्य न्यायाधिवक्तासँग यसबारे कुरा गर्ने आश्वासन दिँदै निवेदन दर्ता भने नगर्न आग्रह गरेको पनि पीडित महिलाको भनाइ छ ।

मुख्यमन्त्री यादवले समेत मुख्य न्यायाधिक्ताविरुद्ध महिलाले उजुरी दिएको स्वीकार गरेका छन् । रातोपाटीसँग कुरा गर्दै मुख्यमन्त्री यादवले दुवै पक्ष र मुख्य न्यायाधिवक्ता कार्यालयका अन्य कर्मचारीलाई समेत बोलाएर आफूले यसबारे जानकारी लिने उनले बताए ।

आफूमाथि दुर्व्यवहारको खतरा देखेपछि आफूले मोबाइलबाट भिडियो बनाउन खोज्दा मोबाइल खोसेर भिडियो डिलिट गरेको आरोप पनि पीडित महिला कर्मचारीले मुख्य न्यायाधिवक्तामाथि लगाएकी छन् । तर मुख्य न्यायाधिवक्ता ठाकुरले करार अवधि थप गर्ने विषयलाई लिएर आफ्नो चरित्र हत्या हुने गरी भिडियो बनाएको जिकिर गरेका छन् ।

पूर्व मुख्य न्यायाधिवक्ता भन्छन्– मेरो कार्यकालमा कुनै गुनासो सुन्नु परेन

मुख्य न्यायाधिवक्ता ठाकुरले पीडित महिलाको रुखो व्यवहार, कार्यालयमा हँसिलो नहुनु जस्ता कारण औँल्याए पनि पूर्व मुख्य न्यायाधिवक्ता दिपेन्द्र झा भने आफ्नो कार्यकालमा ती कार्यालय सहयोगीको कार्यदक्षता र इमानदारितामा कहिल्यै गुनासो नआएको बताउँछन् ।

रातोपाटीसँग कुरा गर्दै पूर्व मुख्यन्यायधिवक्ता दिपेन्द्र झाले भने, ‘उहाँ (पीडित भनिएकी कार्यलय सहयोगी) निकै व्यावहारिक हुनका साथै असल स्वभावकै पाएँ, उहाँ मेरो कार्यकालको सबैभन्दा उत्कृष्ट र राम्रो कर्मचारी पनि हो । मसँग काम गरेको ५ वर्षको अवधिमा सधैँ समयमै कार्यालय आउने, सधैँ समयमै जाने र अनुशासित भएर काम गरेको पाउँथेँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप