शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

राजाको निरङ्कुश शासनमा पनि राष्ट्रिय सुरक्षा र विदेश नीति बलियो थियो : प्राडा खड्ग केसी

बिहीबार, २५ साउन २०८०, १७ : ०९
बिहीबार, २५ साउन २०८०

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा.खड्ग केसीले नेपालको राष्ट्रिय सुरक्षा र कूटनीतिक प्रणाली कमजोर बनेकोमा चिन्ता व्यक्त गरेका छन् । बिहीबार राष्ट्रियसभा अन्तर्गत रहेको राष्ट्रिय सरोकार समितिको बैठकमा आमन्त्रण गरिएका केसीले राजाको निरङ्कुश शासन व्यवस्था रहेको कालखण्डमा पनि  राष्ट्रिय सुरक्षा र अन्तर्राष्ट्रिय कूटनैतिक प्रणालीको व्यवस्था बलियो रहेको बताए । 

उनले कुनै पनि देशको राष्ट्रिय सुरक्षा प्रणाली र अन्तर्राष्ट्रिय सम्बन्ध बलियो बनाउन ‘थिङ्क ट्याङ्क’हरु उत्पादन गर्नुपर्नेमा जोड दिए ।  राजा वीरेन्द्रले स्थापना गरेको ‘थिङ्क ट्याङ्क’ सेडास र सिनास शक्तिशाली रहेको र ती संस्थामा अध्ययनका लागि विदेशीहरू समेत आउने गरेको उल्लेख गरे । उनले सन् १९८० को दशकमा विदेशबाट कूटनीतिज्ञहरू नेपाल अध्ययन गर्न आउने बताउँदै विदेश नीति बनाउन र राष्ट्रिय सुरक्षा बलियो बनाउनका लागि थिङ्क ट्याङ्क महत्त्वपूर्ण हुने बताए । 

डा.केसीले हाल त्रिभुवन विश्वविद्यालयमा अहिले ४ वटा अनुसन्धान केन्द्र रहे पनि त्यी केन्द्र कांग्रेस एमाले, माओवादी, मधेसवादी दलको भागबन्डामा पर्ने गरेको त्यसले कुनै काम नगर्ने बताए ।  उनले विदेशी एनजीओको पैसामा नेपालको राष्ट्रिय सुरक्षा र परराष्ट्र नीतिको बारेमा अनुसन्धान  छलफल तथा कार्यक्रम गर्न नहुने त्यसका लागि नेपालले आफ्नै खर्चमा गर्नुपर्ने बताए । 

छिमेकी देशहरू भारत, श्रीलङ्का, बङ्गलादेशको थिङ्क–ट्याङ्क बलियो रहेको बताउँदै थिङ्क ट्याङ्क उत्पादन नगरी कुनै पनि देशको परराष्ट्र नीति र राष्ट्रिय सुरक्षा बलियो नहुने बताए । यसका लागि नेपालका वैज्ञानिक, नेपाली विज्ञलाई सदुपयोग गर्नुपर्नेमा उनले जोड दिए ।  उनले नेपालको असंलग्न परराष्ट्र नीति हुनुपर्ने, कुनै पनि पक्षको छातामुनि रहन नहुनेमा जोड दिए । 

नेपालको परराष्ट्र नीतिको जननी पृथ्वीनारायण शाह रहेको, त्यसपछि जङ्गबहादुर राणा रहेको उल्लेख गर्दै उनको बेलायत यात्राबारे २ जनाले पिएचडी समेत गरेको सुनाए । जंगबहादुर नेपालको परराष्ट्र नीतिलाई विविधीकरणमा राजा महेन्द्रको ठुलो योगदान रहेको डा.केसीले बताए ।  उनले राष्ट्रिय सुरक्षाका लागि नेपाली सेना परम्परागत रूपमा शक्तिशाली मात्रै नभई आधुनिक प्रविधिमैत्री पनि हुनुपर्नेमा जोड दिए ।   

उनले उत्तर कोरियाको जस्तो जनतालाई भोकमरीमा राखेर सेनालाई शक्तिशाली बनाउन पनि आवश्यक नभएको तर सेनालाई आधुनिक प्रविधियुक्त सामग्रीले भरिपूर्ण बनाउनुपर्ने बताए । कोभिडको समयमा नेपाली सेनाको महत्वपूण भूमिका रहेको बताउँदै सेनासँग पर्याप्त हेलिकप्टर भएको भए उसलाई देशको जुनसुकै भूभागमा गएर पनि काम गर्न सहज हुने उल्लेख गरे । 

उनले भने– ‘राष्ट्रिय सुरक्षाको अन्तिम अस्त्र भनेको नेपाली सेना हो । राष्ट्रिय सुरक्षाका लागि सबैभन्दा पहिला राष्ट्रका सार्वजनिक संस्थालाई बलियो बनाउनुपर्छ । कोभिडपछि विश्वमा राष्ट्रिय सुरक्षाको मान्यतामा परिवर्तन आएको छ । राज्यका सबै सार्वजनिक संस्थाहरू बलियो भए मात्र राष्ट्रिय सुरक्षा बलियो हुने मान्यता कोभिड संकटपछि विकास भएको छ ।’

डा.केसीले नेपालको राष्ट्रिय सुरक्षा र परराष्ट्र नीतिका विषयमा कमजोरी रहेको बताउँदै सबै दल एकै ठाउँमा आउनुको विकल्प नरहेको बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप