शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
निबन्ध

भोक महात्म्य

शनिबार, २७ साउन २०८०, ०६ : ४५
शनिबार, २७ साउन २०८०

एकदिन दिउँसो फुर्सदको समयमा परिलो घाममा पिठ्यूँ तताएर बसिरहेको थिएँ । मलाई एक्कासि भोक लागेर आयो । मुखमा पानी आयो । के खाऔँ, के खाऔँ भयो । घर गएर खाजा खाएँ । भोक हरायो । भोक हराएपछि मलाई भोकको बारेमा जान्ने उत्कण्ठा जागेर आयो । 

बेलुकाको खानापछि नेपाली बृहत् शब्दकोश पल्टाएर हेरेँ । त्यहाँ भोकलाई यसरी चिनाइएको थियो, ‘यो नाम वाचक शब्द हो, भुँडी काउकाउ गरी आहाराको आवश्यकता परेको अनुभव हुनु, क्षुधा, छुद्धे, आदि । 

‘भोक’ शब्दमा ‘आइ’ प्रत्यय लागेपछि ‘भोकाइ’ भन्ने नयाँ शब्द बन्दो रहेछ । जसको अर्थ छः भोकाउने भाव, क्रिया वा प्रतिक्रिया । 

‘भोक’ शब्दमै ‘ओ’ प्रत्यय लागेपछि ‘भोको’ शब्दको निर्माण हुँदो रहेछ । भोको भनेको खाने कुरा नपाएको, भोकै रहेको, भोकको इच्छापूर्ति नभएको । भोक र भोगको लालसा जागेको । यस्तै यस्तै अरु पनि अर्थ रहेछ ।

के खाउँ ? के खाउँ ? हुनु पनि भोक । कुनै उत्कृष्ट वा आफू योग्य वस्तु वा व्यक्ति प्रतिको उत्कट अभिलाषा जाग्नु पनि भोक । अन्नको अभावमा भोकै मर्ने अवस्थाको कारक तत्व पनि भोक । 

कुनै वस्तु वा सुखदुःखका अवस्थाको भोग गर्नुका पछि पनि भोक । भोजन गर्ने, शासन गर्ने, आशन खोज्ने, बासन खोज्ने र राम्री रोज्नुकापछि पनि भोक । चाडवाड, मेला पर्व, विहे, व्रतबन्ध, वरखी, शुद्धाईँमा खाइने भोजनमा झन् धेरै भोक । 

भेटघाट भोक । रमाइलो भोक । घमाइलो भोक । नुनिलो भोक । गुनिलो भोक । झुसिलो भोक । अझै अरु धेरै भोकै भोक । मलाई लाग्थ्यो, खानेकुराको मात्र भोक हुन्छ । भोकका लागि म त बिचरै पो रहेछु । मैले त भोकको अर्थ सङ्कुचन पो गरेछु । 

अलिअलि बुझिल्याउँदा अब त झन् शब्दकोशको अर्थ पनि साँघुरिए झैँ लाग्दै छ । मलाई अहिले झ्वाट्ट भोक शब्दको अर्थ विस्तार गर्ने भोक लागेर आयो । तर खै कसरी, म सक्दिन । विद्वानले म बबुराको कुरा के सुन्लान् र ? भोक नमर्ने भो गाँठे । अब के गर्ने होला ? आखिर यो मेरो मात्र चिन्ताको विषय होइन । जेसुकै होस् ।

प्रत्येक मान्छेको आफ्नै भोक हुँदो रहेछ । मेरो भोक, तपाईंको भोक, हजुरको भोक, मै सापको भोक, भाइसापको भोक, सम्पन्न परिवारको भोक, गरिबीको रेखामुनि रहेका परिवारको भोक । 

मेरो भोक एउटा, तपाईंको अर्को, हजुरको झन् अर्कै होला, कुरै नगरौँ सम्पन्न परिवारका भोकको । गरिबीको रेखामुनि रहेका परिवारको भोक झन् कति होला । मैसाप र भाइसापका छेउ पुग्नै सकिन्न । 

निद्राको भोक, सिद्राको भोक, शिक्षाको, दीक्षाको, अनि खानाको, नानाको, छानाको, यी सबै भोक एउटै छाना मुनि हुँदा झन् कस्तो होला । 

मलाई लाग्यो भोक हराएको पक्का पनि नहुनु पर्छ, यस चराचर जगतमा । लु हेर्नुस्, हैन भने यहाँ कति छन् अझै भोक । न भनी साद्धे न गनी साद्धे । 

दरबारको भोक, घरबारको भोक, तरबारको भोक । शासकलाई सत्ताको भोक । गृहस्थीलाई घरबारको भोक । हत्या, हिंसा र आतङ्कमा रमाउनेलाई तरबारको भोक । कमिसनको भोक झन् कस्तो होला । 

प्राध्यापकको भोक प्राध्यापकीय होला । विद्यार्थीको भोक मलाई थाहा छ । व्यापारीको भोकको सम्बन्धमा विशेष गरी व्यापारीलाई थाहा होला, कता नाफा, कता घाटा ? लुटाहा, फटाहाको भोक जान्न उनीहरुकै सङ्गत गर्नु पर्ला । नत्र नख्खु, भद्रकाली, डिल्लीबजार गए पनि हुन्छ । तर त्यहाँ जान झन् ठूलो भोक चाहिन्छ । ती मैले लेखिन, आफै खोज्नु होला । 

जुवाडेको भोक बुझ्न खालमा पुगे पुग्छ । पण्डितलाई पण्डित्याईंको भोक, कर्मकाण्डी ब्राह्मणलाई आज कसले पानी समाउलाको भोक । 

बाटाका ज्योतिषी बटुवा देख्नै हुन्न भोकले मरेर कराउछन्, “हात हेराउनुस्, भाग्य बदल्नुस् ।“ सम्झिएँ चुस्स हात हेराउँदा भाग्य बदलिने भए यी ज्योतिषी किन बाटामा बसिरका हुन् ? 

भोकका भकारीहरुबारे खै कति लेखौँ । कति हो कति आठै दिशा भोकै भोक ।

ज्ञान विज्ञानको भोक लागेर होला, नाट्यसम्राट बालकृष्ण समले यसो भनेका “ज्ञान विज्ञानको हात जोडनुपर्छ कर्ममा ।” हामीले ज्ञान विज्ञानका पक्षमा कर्म गरे सबै भोकहरु हट्दछन् भन्ने व्याख्या नगरेर महान विचारको उपमा दियौँ कि रुपमा लियौँ ? यसबारे भोकै मरेन मेरो । 

ज्ञान विज्ञानका खातिर काम गरे कुनै पनि भोकले बास नपाउला जस्तो लाग्छ । पक्का पनि भोक हराउन सक्छ । मार्कण्डेय पुराण अन्तर्गतको दुर्गा सप्तशतीमा भोककै रूपमा देवीलाई यसरी पुकारेको पाइन्छः

“या देवी सर्व भूतेषु क्षुधा रुपेण संस्थिता ।

नमस्तस्यै, नमस्तस्यै, नमस्तस्यै नमोनमः ।।”

हामी सबैमा भोकको रुपमा रहेकी रहिछन् देवी भगवती, मैले यति बुझेँ “ज्ञानको भोकका रुपमा देवीलाई बुझ्नु पर्ने होला ।” अरु केके बुझ्न मन छ हजुरहरुलाई जिम्मा । 

“जय भुँडी” लेख्दै जाँदा भैरव अर्याललाई पनि भोक लागेछ क्यारे, उनले यस्तो लेखेः

“नमो देव्यै महाँ देव्यै सर्व देव्यै नमो नमो नमः ।

आन्द्रा अन्द्री समेतायै भुँडी देव्यै नमो नमः ।।”

यो व्यङ्ग्यमूलक भोक होला । यसले कता कता व्यङ्ग्यको भाइरस छर्यो, मैले सबै खोजिन । 

राधालाई कृष्णको भोक लागेछ क्यार, वैष्णवी रुप धारण गरी तीर्थाटनमा लागिछन् । कृष्णलाई राधाको भोक लागेर होला, उनी पनि राधा खोज्दै सोह्र हजार एक सय आठ गोपीनीलाई जम्मा गर्न पुगेछन् । बूढाका आँटलाई मान्नै पर्छ । 

म कामना गर्छु, अबको हाम्रो भोक प्रगतिको होस्, उन्नतिको होस् । अनि, भन्ने गरिएका समृद्धिको होस् । जय भोक ।

लालबन्दी, सर्लाही 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लवहरि ढुङ्गेल
लवहरि ढुङ्गेल
लेखकबाट थप