बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

बन्द कार्यशाला मार्फत रणनीति बनाउँदै जिफन्ट

शनिबार, २७ साउन २०८०, ०९ : १६
शनिबार, २७ साउन २०८०

भक्तपुर । ट्रेड युनियन आन्दोलन प्रतिकुल समयमा रहेको निष्कर्ष निकाल्दै जिफन्टले कार्यमूलक कार्यशाला गरेको छ । ट्रेड युनियन आन्दोलनमा सधैँ अब्बल दरिएको जिफन्टले वर्तमान श्रम बजारको विश्लेषण गर्दै भावी रणनीति तय गर्न दुई दिनदेखि भक्तपुरमा बन्द कार्यशाला गरिरहेको छ । 

कार्यशालाको पहिलो दिन श्रम बजारको वर्तमान प्रतिकूलताहरूको पहिचान गर्दै श्रम आन्दोलनलाई कायाकल्प गर्ने उपायहरूको खोजीमा केन्द्रित भएपछि दोस्रो दिन रणनीति बनाउन केन्द्रित छ । जिफन्टको आठौँ राष्ट्रिय महाधिवेशनले पास गरेको ११ बुँदे चार वर्षे कार्यक्रममा छलफल गर्दै शुक्रबार ६ वटा प्रश्नहरूको समाधानमा केन्द्रित छ ।

न्यूनतम ज्याला निर्धारणका समस्या र सङ्कटका क्षेत्रहरू, विभिन्न प्रतिष्ठानहरूमा विना तलबी काम गराइएका इन्टर्नहरुलाई तलब अर्थात तालिमेलाई तलब, अनौपचारिक क्षेत्रका श्रमिकहरूको पञ्जीकरणमा पालिका तहमा रहेका सङ्कट र रणनीतिहरू, स्वरोजगार प्रवर्द्धन र आत्मनिर्भरता र स्वरोजगारका सम्भावित क्षेत्रहरूको विषयहरूका विषयमा समूह छलफल भइरहेको छ । 

त्यस्तै सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनमा उत्पन्न समस्याहरू र समेटिन बाँकी क्षेत्रहरूको पहिचान र आगामी ३ वर्षमा २० लाख श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा सहभागी गराउने बारे छलफल र जेटियुसिसि र आइटियुसी न्याक र अन्य संयन्त्रहरू ग्लोबल युनियन फेडेरेशनमा आवद्ध रहेका सदस्य युनियनहरूको कामलाई प्रभावकारी बनाउने विषयमा कार्यशाला केन्द्रित छ । 

जिफन्टको संरक्षक तथा पूर्व अध्यक्ष विष्णु रिमाल, जिफन्टका पूर्व महासचिव उमेश उपाध्याय सहित जिफन्ट राष्ट्रिय कमिटीका सबै नेताहरूलाई डा तत्त्व तिमल्सिना र रामशरण प्याकुरेलले सहजीकरण गरिरहेका छन् । 

कार्यामुलक कार्यशाला पछि प्राप्त दस्ताबेजका आधारमा शुक्रबार नै जिफन्टको राष्ट्रिय कमिटीको बैठक मार्फत वार्षिक कार्ययोजना निर्माण गरी जिफन्टका सम्पूर्ण नेतृत्व देशव्यापी अभियानमा परिचालित हुने जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले बताए । 

नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका प्रमुख प्रतिनिधि ठाकुरकुमार श्रेष्ठले कार्यशालाले सङ्गठन गर्ने नयाँ तरिका सिकाएको छ र श्रमिकहरूको समस्याहरुलाई नयाँ तरिकाले बुझ्ने मौका मिलेको बताए । यस्ता विषयमा केन्द्रित कार्यशालाले जिफन्टलाई थप बलियो बनाउने विश्वास उनले व्यक्त गरे ।  

नेपाल अटोमेकानिक्स ट्रेड युनियनका संयोजक माधव पाण्डेले   कार्यशाला ट्रेड युनियन आन्दोलनको इतिहासमै फरक रहेको दाबी गरे ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप