मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

पहिरोमा बेपत्ता बाबु छोरामध्ये छोराको शव भेटियो

सोमबार, २९ साउन २०८०, १६ : २८
सोमबार, २९ साउन २०८०

दोलखा  । अविरल वर्षाका कारण आइतबार दिउँसो आएको भेलले बगाउँदा दोलखाको विगु गाउँपालिका–७ राखामका बाबुछोरा बेपत्ता भएकामा  छोरा पासाङ शेर्पाको शव भेटिएको छ । आइतबार बिहान घरबाट झण्डै एक घण्टाको दूरीमा रहेको तीनपाटेमा निगुरो टिप्न गएका  ३५ वर्षीय बाबु निमदोर्जे शेर्पा र उनका छोरा  १२ वर्षीय पासाङलाई वर्षासँगै आएको पहिरोको भेलले बगाउँदा बेपत्ता भएका थिए ।  

निमदोर्जे अझै फेला पार्न नसकिएको  जिल्ला प्रहरी कार्यलयका प्रहरी निरीक्षक राजेस सिग्देलले बताए । आइतबार १२ बजेतिर तीनपाटेमा निगुरो टिप्ने क्रममा अविरल वर्षासँगै माथिबाट आएको भेलले बाबुछोरोलाई अम्बाटोल मुलखोलाले बगाए पछि उनीहरू बेपत्ता भएका थिए । उनका अनुसार बाबु शेर्पा नभेटिए पनि छोरा पासाङ भने हिजो साँझ नै भेटिएका थिए । 

सो घटनापछि प्रहरी घटनास्थल पुगेर खोजी सुरु गरेको थियो  । अविरल वर्षा जारी रहेकाले खोजीकार्यमा कठिन भएको प्रहरीको भनाइ थियो । यो सातामा मात्रै अविरल वर्षाका कारण गत मङ्गबार तामाकोशी नदीमा तितेमाछा टिप्न गएका विगुगापा–२ ओराङका तिरिस तमाङको माथिबाट झरेको पहिराले ज्यान गएको थियो । 

त्यस्तै गत बिहीबार गौरीशङ्कर गाउँपालिका–७ मार्बु टोपाटारमा गएको पहिरोमा परी सोही स्थानका ५० वर्षीय देवीमाया मगर र १५ महिने नाबालक प्रिन्स थामीको  मृत्यु भएको थियो भने सोही स्थानको पहिरोमा परेका स्थानीय ६० वर्षीय कृष्ण मगर र ४९ वर्षीय हरिला श्रेष्ठ अझै फेला नपरेको प्रहरीको भनाइ थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप