बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

'अपरेसन आवर' तोकिदा कर्णालीको जनजीवन कष्टकर बन्दै, जहाज कुर्दाकुर्दै दुई जनाको ज्यान गयो !

सोमबार, २९ साउन २०८०, २० : ४२
सोमबार, २९ साउन २०८०

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले दुर्गम क्षेत्रको हवाई उडाउनमा समय सीमा तोकिदिएपछि कर्णाली प्रदेशको जनजीवन प्रभावित हुन पुगेको छ । प्राधिकरणले हवाई सुरक्षालाई देखाउँदै केही दिनदेखि कर्णाली प्रदेशका हुम्ला, डोल्पा, जुम्ला, मुगु बाजुरा लगायतका जिल्लाहरुमा दिउँसो १२ बजेदेखि कुनैपनि हवाई उडानमा प्रतिबन्ध लगाएको छ । 

बिहान बाक्लो हुस्सु, पानी बादल लाग्ने र दिउँसो प्राधिकरणको उडान प्रतिबन्धले कर्णालीको जनजीवन निकै कष्टकर बनेको कर्णाली पर्यटन उद्यमी समाजका अध्यक्ष देवीकृष्ण रोकायले बताए ।

प्राधिकरणको यस्तो निर्णयका कारण हवाई यात्राको विकल्प नरहेको कर्णाली प्रदेशका हुम्ला, डोल्पा, जुम्ला, मुगु र बाजुरा लगायतका जिल्लाहरुको मानव दैनिकी निकै कष्टकर बन्न पुगेको अध्यक्ष रोकायको भनाइ छ ।

यी क्षेत्रमा यातायातको अभावमा बिरामीलाई समयमा अस्पताल पुर्याउन नसक्नुका साथै अत्यावश्यक खाद्यान्न, औषधि लगायतका अन्य अत्यावश्यक खाद्यान्न सामाग्री ढुवानीमा समेत समस्या आएको रोकायको भनाइ छ । दुखकको कुरा यहीँ समयमा जहाज कुर्दा कुर्दै हुम्लामा दुई जनाले अकालमा नै ज्यान गुमाउनु परेको समेत उनले जानकारी दिए ।

'मानव जनजीवन नै अस्तव्यस्त हुनेगरी नेपाल नागरिक उड्डयन प्राधिकरणले कर्णालीमा लगाएको उडान प्रतिबन्ध नागरिकको नैसंर्गिक अधिकारको हनन भएको हामीले महसुस गरेका छौ । कर्णालीका हुम्ला, डोल्पा, जुम्ला, मुगु र बाजुरा लगायतका जिल्लामा हवाई उडान बाहेक अरू विकल्प छैन । कर्णाली राजमार्ग पनि भरपर्दो छैन । बिहानको मौसम नखुल्ने र दिनमा उडान हुन नदिने प्राधिकरणको यस निर्णयका कारण दुर्गममा बसोबास गर्ने आम नागरिकहरुमा आवतजावतमा समस्या भइरहेको छ । समाज वैज्ञानिक युगमा अघि बढिरहेको बेला कर्णालीबासी भने अझै पनि नाना, खाना, छाना, स्वास्थ्य, शिक्षा, सञ्चार, यातायात र खानेपानी जस्ता अत्यावश्यक समस्यासँग गुज्रिरहेका छन् । कर्णाली पर्यटन उद्यमी समाजले यो निर्णय लागू भएसँगै फिर्ता लिन सरकार र सम्बन्धित पक्षलाई दबाव सिर्जना, ध्यानाकर्षण र समन्वयका गतिविधिहरू गरिरहेको सबैलाई जानकारी गराउन चाहन्छौ । ‘अपरेशन आवर’ को निर्णय फिर्ता लिई सुरक्षा निर्देशिका पालना गर्दै अनुकूल मौसममा हवाई सेवा सञ्चालनका लागि नागरिक उड्ययन प्राधिकरणलाई जोडदार माग गर्दै निर्णय फिर्ता नभए थप सङघर्षका कार्यक्रम गर्ने घोषणा गरिनेछ' समाजद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

उडान प्रतिबन्ध विरुद्ध संगठित भएको कर्णालीका पर्यटन व्यवसायीहरुले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' लाई भेटी ज्ञापनपत्र समेत बुझाएको छ ।

यस्तो छ व्यवसायीहरुको संघर्षका कार्यक्रमहरु:

१) निर्णयलाई तत्काल फिर्ता लिई हवाई उडान सहज बनाउन नागरिक उड्डयन प्राधिकरण समक्ष माग ।

२) कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने सासंदहरुसंग छलफल गरी विषयको जानकारी गराउँदै सरकारसँग समन्वय गरी यथाशीघ्र निर्णय हटाउन अनुरोध ।

३) संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री ज्युलाई व्यवसायीहरुका तर्फबाट ध्यानाकर्षण ।

४) प्रधानमन्त्री ज्युका प्रशासन सल्लाहाकारलाई ध्यानाकर्षणका साथै प्रधानमन्त्री भेट्ने पहल जारी ।

५) सम्बन्धित सरोकारवाला निकायहरुमा औपचारिक र अनौपचारिक भेटघाट तथा छलफल जारी ।

123

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप