आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

धान, चामल र चिनी माग्दै नेपालले लेख्यो भारतलाई पत्र

बिहीबार, ३२ साउन २०८०, १५ : ५९
बिहीबार, ३२ साउन २०८०

काठमाडौँ । नेपाल सरकारले भारत सरकारसँग धान, चामल र चिनी आयातका लागि पत्र लेखेको छ । आगामी चाडपर्वमा सम्भावित खाद्यान्नको अभाव हुन नदिन भारतलाई धान, चामल र चिनी माग गर्दै पत्र लेखिएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सह–सचिव रामचन्द्र तिवारीका अनुसार गत हप्ता परराष्ट्र मन्त्रालयमार्फत भारतलाई पत्र पठाइएको थियो । ‘नेपालले भारतसँग १० लाख टन धान, १ लाख टन चामल र ५० हजार टन चिनी माग गरेको छ,’ उनले भने ।

हाल नेपालमा चामल र चिनीको अभाव छैन । तर, भारतले बासमतीबाहेकको चामल अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्नका लागि प्रतिबन्ध लगाएसँगै आगामी दिनमा अभाव हुने आङ्कलन गरिएको छ । यसमा सावधानी अपनाउँदै नेपाल सरकारले खाद्यान्न आयातका लागि माग गरेको तिवारीको भनाई छ ।

चाडपर्वको समय नजिकिँदै गर्दा व्यापारीहरूले यी खाद्यान्न लुकाएर राख्ने र मूल्यवृद्धि गराउन सक्ने भएकाले आयतलाई नियमित राख्न आवश्यक भएको सरकारको भनाई छ ।

गत जुलाई २० मा भारत सरकारले आन्तरिक आपूर्ति बढाउन र खुद्रा मूल्य स्थिर राख्न बासमतीबाहेकको चामलको निर्यातमा प्रतिबन्ध लगाएको थियो । भारतले निर्यात गर्ने कूल चामलमध्ये बासमतीबाहेकको हिस्सा २५ प्रतिशत रहेको पीटीआईले जनाएको छ ।

भारतको प्रतिबन्धको असर यहाँ पनि पर्न सक्ने तथा अस्वाभाविक मौसमको कारण यसपटक खाद्यान्नको अभाव हुन सक्ने विज्ञहरूले चिन्ता व्यक्त गर्दै आएका छन् । नेपाल खाद्यान्नका लागि भारतसँग निर्भर रहँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप