सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

लोसपाका नेताहरूको गुनासो : रेशमका लागि धेरै गुमायौँ तर उनले गुन बिर्सिए

आइतबार, ०३ भदौ २०८०, १५ : ३०
आइतबार, ०३ भदौ २०८०

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका नेताहरूले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीका कारण आफ्नो पार्टीले धेरै थोक गुमाएको दाबी गरेका छन् । 

तत्कालीन राष्ट्रिय जनता पार्टीबाट कैलालीमा चुनाव जितेका रेशम चौधरी टीकापुरको घटनामा मुछिएको भन्दै जेलमा परेका थिए । उनको रिहाइका लागि लोसपाले अन्तिम समयसम्म प्रयास गर्‍यो । रेशम चौधरीको रिहाइलाई प्राथमिकतामा राखेर प्रत्येक सरकारलाई लोसपाले दबाब दिँदै आएका थियो । 

सरकारसँग हुने हरेक वार्ता र संवादमा लोसपाका अध्यक्ष महन्थ ठाकुरले रेशम चौधरीको रिहाइको कुरा पहिलो बुँदामै राख्थे । चौधरीको रिहाइको माग गर्दै लोसपाले पटक पटक आन्दोलन पनि गर्‍यो । चौधरीको रिहाइ सम्भव नहुँदा लोसपा सरकारमा सहभागी पनि हुँदैनथ्यो ।

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला रेशम चौधरीलाई रिहाइ गर्ने प्रतिबद्धता जनाएपछि उपेन्द्र यादव नेतृत्वकै जसपामा रहेका महन्थ ठाकुरका पक्षका नेताहरू सरकारमा सहभागी भएका थिए । त्यसपछि पार्टी विभाजन भएको थियो । 

लोसपाका नेताहरू भन्छन्, ‘त्यतिबेला रेशम चौधरी रिहाइको शर्तमा हामी सरकारमा जाँदा पार्टी विभाजन भएको थियो, हामी सरकारमा नगएको भए पार्टी विभाजन हुने थिएन ।’ लोसपाका नेताहरू ओली नेतृत्वको सरकारमा सहभागी भएपछि रेशम चौधरी रिहाइका लागि प्रक्रिया पनि सुरु भएको थियो । 

एमालेका अध्यक्ष ओली पनि रेशम चौधरीको रिहाइका लागि गम्भीर थिए । कानुनी परामर्श लिने काम भइरहेको थियो, त्यतिबेलै ओली नेतृत्वको सरकार ढल्यो । लोसपाका कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्ण भन्छन्, ‘रेशम चौधरीको बारेमा बोल्ने मान्छे कोही थिएन । लोसपा नभएको भए रेशम चौधरी यो अवस्थामा आउनु हुन्थेन । सडक, सदन र सरकारसम्म सिर्फ लोसपाले उहाँको बारेमा कुरा उठाएको हो ।’

‘रमेश चौधरीले राम्रो गरुन्, प्रगति गरुन्, शुभकामना छ । तर, लोसपाको गुण बिर्सिनु हुँदैन,’ भन्दै उनले रेशम चौधरीको रिहाइको मागमा अडान लिएर पटक–पटक लोसपा सरकारबाहिर बसेको बताए । 

लोसपाका एक कार्यकारिणी सदस्यले भने, ‘यो भन्ने कुरा त होइन तर रेशम चौधरीको पुरै परिवारको लालनपालन गर्ने काम लोसपाले गरेको थियो । गाह्रो भएको बेला रेशम चौधरीको श्रीमती रञ्जिता श्रेष्ठ चौधरी प्रत्येक महिनाजसो पार्टी कार्यालयमा आएर महन्थ ठाकुरबाट सहयोग लिएर जानु हुन्थ्यो ।’

कहिले छोराको शुल्क तिर्न सकिएन, अहिले घर भाडा बुझाउन सकिएन भन्दै पार्टी कार्यालयमा आएर पैसा लिएर जानुहुन्थ्यो । तर, आज रेशम चौधरीले लोसपाले आफ्नो लागि केही नगरेको भन्दा दुःख लागेको ती नेताले बताए । 

लोसपाका केन्द्रीय नेता सन्तोष मेहताले रेशम चौधरी जेलबाट रिहाइ लगत्तै लोसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो लगायतका नेतालाई भेट्नसमेत उचित नठानेको कुरा आफूलाई अनौठो लागेको बताए । 

रेशम चौधरीका रिहाइका लागि लोसपा आफ्नो सबैथोक दाउमा लगाएको तर रिहा भएपछि धन्यवादसमेत दिन नआएको नेता मेहताले बताए । उनले भने, ‘आफ्ना सन्तानलाई पढाएर, बढाएर हुर्काएको वृद्ध आमाबुवा त्यही सन्तान विदेशबाट फर्केपछि छुट्टै घरजम गरेर बसे पनि केही कोसेली लिएर आउला भनी आश हुन्छ । रेशमले त्यसो गरेनन् ।’ 

रिहा भएपछि लामो समय बित्दा पनि महन्थ ठाकुर र राजेन्द्र महतोलाई भेट्न नआउँदा आफू नै रेशम चौधरीलाई भेटेर गुनासो गरेपछि निकै पछि भेट्न आएको उनले बताए । 

रेशम चौधरीले छुट्टै पार्टी बनाए पनि लोसपालाई कुनै दुखेसो छैन । तर, जो पार्टी जसको लागि यति सङ्घर्ष गर्दागर्दै खुम्चिन पुग्यो, त्यो दलसँग सामान्य राजनीतिक सम्बन्धसमेत नराख्नु दुःखद रहेको उनले जिकिर गरे ।

नेता महतोले थरुहट र मधेसको अधिकारका लागि लोसपा, जसपा, जनमत, नागरिक उन्मुक्ति मिल्नुपर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप