बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

करेन्ट लागेर तथा डुबेर सात जनाको मृत्यु

आइतबार, ०३ भदौ २०८०, १८ : ४८
आइतबार, ०३ भदौ २०८०

काठमाडौँ । देशका विभिन्न स्थानमा करेन्ट लागेर तथा डुबेर सात जनाले ज्यान गुमाएका छन् ।   करेन्ट लागेर तीन तथा डुबेर चार जनाको नेपाल प्रहरीले जानकारी दिएको हो ।

कैलालीको धनगढी उपमहानगरपालिका-१२ सी गाउँ बस्ने ४५ वर्षीय यवराज शाहीको करेन्ट लागेर शनिबार साँझ मृत्यु भएको छ । आफ्नै घरको शौचालयमा तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । 

यसैगरी धनगढी उपमहानगरपालिका-१४ डी गाउँ बस्ने पुष्पराज उपाध्यायको छोरा ७ वर्षीय बेद प्रसाद उपाध्यायको करेन्ट लागेर आइतबार बिहान मृत्यु भएको छ । आफ्नै घरको पानी तान्ने मोटरको तारमा अचानक छोइन गई करेन्ट लाग्दा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । 

यता बाराको जितपुर सिमरा उपमहानगरपालिका-१६ पिलुवा बस्ने ३० वर्षीया रेनु तिमिल्सिनाको करेन्ट लागेर आइतबार बिहान मृत्यु भएको छ । आफ्नै घरको फलामको ढोका लगाउने क्रममा ढोकामाथि रहेको बिजुलीको तार च्यापिएर करेन्ट लाग्दा गम्भीर घाइते भएकी उनको बयोध्या अस्पताल पर्सामा उपचारको क्रममा मृत्यु भएको हो । 

डुबेर चार जनाको मृत्यु

यता झापाको भद्रपुर नगरपालिका-५ स्थित देवीबस्ती मेचीखोलामा पौडी खेल्ने क्रममा डुबेर सोही नगरपालिका-६ भानुनगर बस्ने विनोद महतोको छोरा १३ वर्षीय शिव महतोको शनिबार दिउँसो मृत्यु भएको छ ।

झापाकै गौरादह नगरपालिका-८ भुडेसिम्बल बस्ने ४० वर्षीय टिकाराम ताजपुरीयाको सोही ठाउँस्थित लाल गौरिया खोलामा डुबेर शनिबार मृत्यु भएको छ । 

उता कैलालीको कैलारी गाउँपालिका-९ बनकनरी बस्ने शिशिर चौधरीको छोरा ५ वर्षीय बिजल चौधरीको सोही ठाउँस्थित समाज सुधार सामुदायिक वनमा रहेको पोखरीमा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ । नुहाउने क्रममा डुबेर अशक्त भएका उनको  उपचारको लागि स्वास्थ्य चौकी मोहनी बजारतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । 

रौतहटको गुजरा नगरपालिका-८ सिमरा भवानिपुर जयराजपुर बस्ने जोगेन्द्र साहको छोरा ३ वर्षीय कृष्ण साहको घर नजिकै रहेको पानीको खाल्डोमा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ । खेल्ने क्रममा डुबेर अशक्त भएका उनको स्थानिय मेडिकल सिमरा भवानीपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।  सबै घटनाका  सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप