शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

उपप्रधानमन्त्री खड्काले सदनमा सुनाए सुन तस्करीको छानबिनबारे भएको सहमति

बुधबार, ०६ भदौ २०८०, १६ : २१
बुधबार, ०६ भदौ २०८०

काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन भएको सहमतिबारे सदनलाई जानकारी गराएका छन् ।  बुधबारको प्रतिनिधसभा बैठकमा उनले संघीय संसदका राष्ट्रिय मान्यताप्राप्त ७ दलका नेताहरूबीच भएको दुई बुँदे सहमति सुनाएका हुन् । 

‘साउन २ गते विदेशबाट अवैध ढंगले तस्करी गरिएको सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर लगेको अवस्थामा राजश्व अनुसन्धान विभागबाट बरामद भएको थियो। यो विषय नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान र छानबिन गरिरहेको सर्वविदित्तै छ। केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान, छानबिन गरी सुन तस्करीमा संलग्न व्यक्तिहरूलाई अभियोजन गर्नेछ,’ उनले भने ।

यस्तै उनले सहमतिको दोस्रो बुँदामा विदेशबाट इलेक्ट्रिक सिगरेट (भेप्स) मा सुन राखी अवैध पैठारी (तस्करी) गरिएको, साउन २ मा ब्रेकसूमा राखी अवैध पैठारी (तस्करी) गरिएको सुन लगायत पटक–पटक सुन तस्करी भई मुलुकभित्र आइरहेको विषयलाई गम्भीरतापूर्वक लिई स्वतन्त्र र निष्पक्ष छानबिन गर्न आयोग गठन निर्णय सुनाए ।

आयोग असोज ५ मा गठन हुने र त्यसले तस्करीजन्य कार्यको पूर्ण रुपमा नियन्त्रण गर्न मौजुदा कानुनमा गर्नुपर्ने परिमार्जन, संरचनागत सुधार र सुन तस्करी सम्बन्धमा भएका छानबिन अनुसन्धानबारे समेत अध्ययन गरी सुझाव सहितको प्रतिवेदन तयार पारिने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप