शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

दैनिक कार्यमा होराको महत्त्व कति ?

आइतबार, १० भदौ २०८०, १२ : ५२
आइतबार, १० भदौ २०८०

ज्योतिषशास्त्रमा होरालाई समय निर्धारणको एउटा महत्त्वपूर्ण पक्षका रूपमा लिइन्छ । ग्रह गणितको माध्यमबाट गरिने समय निर्धारणलाई सहज र सरल बनाउन होरालाई अपनाउने गरिन्छ । शुभाशुभ समय निर्णय गर्न होरा एउटा यस्तो सरल माध्यम हो जसमा सामान्य व्यक्तिले पनि आफ्नो कार्यअनुरूप शुभ समय तय गर्न सक्छ । व्यावहारिक जीवनमा होराको प्रयोगले मानिस आफ्नो अनुकूलतालाई बढाउन सक्छ । होरालाई तपाईं हामी हरेकले सजिलै बुझ्न र उपयोग गर्न सकिन्छ । 

ज्योतिषीय गणनाका आधारमा प्रत्येक कार्यका लागि शुभाशुभ मुहूर्त निर्धारण गरिन्छ, तर पञ्चाङ्गका आधारमा समय निर्धारित छैन र कार्य गर्नैपर्ने अवस्थामा होराको प्रयोग उपयोगी मानिन्छ । पञ्चाङ्ग र ज्योतिषीय परामर्श लिन सहज नभएको अवस्थामा पनि तपाईं हामी होरालाई प्रयोग गरेर कार्य प्रारम्भ गर्दा त्यसको परिणाम सकारात्मक हुन्छ । त्यसका लागि वैदिक परम्परामा होराशास्त्रको प्रचलन छ । कार्य अनुसार होरा चयन गर्न सक्दा शुभ मुहूर्त जत्तिकै फलदायी हुने शास्त्रीय मान्यता छ । 

प्रत्येक दिनको प्रत्येक घन्टामा फरक–फरक ग्रहको होरा हुन्छ भने फरक–फरक होरा फरक–फरक कार्यका लागि उपयुक्त या शुभ हुन्छ ।

होरा हेर्न र जान्न कठिन छैन । बार र समय बुझ्न सक्ने जो–कसैले यसको सदुपयोग गर्न सक्छ । सामान्यतः दैनिक २४ होरा (दिनमा १२ र रातमा १२) हुन्छन् । अथवा हरेक सूर्योदयबाट अर्को सूर्योदय नभएसम्मको अवधिलाई २४ होरामा विभाजन गरिएको हुन्छ । प्रत्येक घन्टामा होरा बदलिन्छ । ती प्रत्येक घन्टालाई प्रत्येक ग्रहले शासन गरेको हुन्छ । अर्थात् प्रत्येक घन्टामा होरा मालिकका रूपमा अलग अलग ग्रह हुन्छन् । सातै ग्रहले एक–एक होरा भोग गरिसकेपछि पुनः दोहोरिन्छ । सात ग्रहका एक एक बार छन् । जस्तो : आइतबार सूर्य, सोमबार चन्द्रमा, मंगलबार मंगल, बुधबार बुध, बिहीबार गुरु, शुक्रबार शुक्र र शनिबार शनि ग्रहको बार हो । होराको सुरुवात यिनै बारको मालिकबाट हुन्छ । सात बारको सुरुवातमा सम्बन्धित बारको मालिकले भोग गर्छ । 

सात बारका सात होराहरूको फरक–फरक फल निर्धारण गरिएको छ । सात ग्रहले आ–आफ्नो फल प्रदान गर्छन् । प्रत्येक ग्रहको होरा विशेष कार्यका लागि शुभ फलदायी हुन्छ । जस्तो कि सूर्यको होरामा सरकारी कार्यका लागि शुभ मानिन्छ । जसमा सरकारी नोकरी, अन्तर्वार्ता, आवेदन, उच्च पद धारण, पदाधिकारी भेट, सरकारी लाभका लागि निवेदन या माग गर्न, पदबहाली गर्न, शपथ लिन या सरकारसँग गरिने सम्झौतामा हस्ताक्षर गर्न शुभ मानिन्छ ।

सोम या चन्द्रमाको होरा अधिकांश कार्यका लागि शुभ मानिन्छ । होरा शास्त्रका अनुसार अन्य मुहूर्त नभेटिए चन्द्र होरामा कार्य गर्दा उपयुक्त हुन्छ । यो होरा विशेष गरेर चन्द्रसँग सम्बन्धित कार्य (जस्तो जलसँग सम्बन्धित कामको सुरुवात, छिटो छिटो गरिने कार्य, चाँदीसँग सम्बन्धित काम, सामुद्रिक कार्य, जलयात्रा, होटल या खाद्य सामग्रीको काम) शुभ फलदायी रहन्छ । 

मंगलको होरा साहसिक कार्यका लागि उपयुक्त मानिन्छ । सेना या पुलिससँगको काम यो होरामा गर्दा लाभ मिल्छ भने अदालती कामको प्रारम्भ गर्न यो होरालाई उपयोगमा ल्याउन सकिन्छ । जुवातास या सट्टा बजारमा जोखिम लिन, कसैलाई ऋण दिन, लडाइँ झगडाको अवस्थामा भाग लिन, युद्ध आदिमा सहभागी हुन मंगलको होरा उपयोगी रहन्छ । 

बुधको होरा आफैँमा व्यापारिक होरा हो । व्यापार सुरु गर्न, पसल सुरु गर्न, कुनै पनि व्यापारिक कार्यको सुरुवात गर्न, व्यापारिक सम्झौतामा हस्ताक्षर गर्न बुधको होरा उपयोग गर्नुपर्छ । यो होरालाई लेखन, प्रकाशनका काम सुरुवात गर्न तथा अन्य विद्यासँग सम्बन्धित काम गर्न प्रयोगमा ल्याउँदा लाभदायी रहन्छ । 

गुरुको होरा विवाहसँग सम्बन्धित निर्णय गर्नुपरेमा अत्यन्तै उपयोग हुन्छ । गुरु उच्च व्यक्तित्व हुने हुनाले आफ्नो कामका लागि उच्च व्यक्तित्व भेट्न र माग गर्न, ज्ञानसँग सम्बन्धित कार्य गर्न, ध्यान, पूजा या मन्दिर जान, धार्मिक ग्रन्थ र सामग्रीहरू संकलन गर्न गुरुको होरालाई पच्छ्याउँदा शुभ हुन्छ । 

शुक्र भोगविलासको कारक ग्रह हो । शुक्रको होरामा भोगविलास, विलासिताका सामग्री खरिद गर्न, मनोरञ्जनका कामहरू सुरु गर्न, गरगहना र नयाँवस्त्र खरिद गर्न, प्रयोग गर्न शुक्रको होरा अत्यन्तै शुभ मानिन्छ । यो होरा सवारीसाधन खरिद गर्न, चलचित्र हेर्न या यससँग सम्बन्धित कार्य आरम्भ गर्न, रमाइलोका लागि यात्रा गर्नका लागि उपयोग गर्दा शुभ फलदायी हुन्छ । 

सूर्यको होरामा सरकारी कार्यका लागि शुभ मानिन्छ । जसमा सरकारी नोकरी, अन्तर्वार्ता, आवेदन, उच्च पद धारण, पदाधिकारी भेट, सरकारी लाभका लागि निवेदन या माग गर्न, पदबहाली गर्न, शपथ लिन या सरकारसँग गरिने सम्झौतामा हस्ताक्षर गर्न शुभ मानिन्छ ।

शनिको होरा शनिजन्य कार्यका लागि लाभदायी मानिन्छ । उद्योग खोल्न यो होराको सदुपयोग गर्न सकिन्छ । फलामसँग सम्बन्धित कार्य गर्न, वाहन खरिद गर्न र भवन निर्माण सुरुवात गर्न शनिको होरा उपयोगी मानिन्छ । यसै होरामा कारखानाहरू सुरु गर्दा शुभमुहूर्त जत्तिकै उपयोग हुने शास्त्रीय मान्यता छ । 

यी सातै होराको उपयोग गर्न प्रत्येक होराको ज्ञान हुन आवश्यक छ । जसमा आइतबारको सूर्योदयबाट होरा गणना गर्दा पहिलो होरा सूर्यको हुन्छ । सोमबार पहिलो होरा चन्द्रमाको हुन्छ भने जुन बार हो त्यही बारको होरा पहिलो हुन्छ । बार अनुसारको पहिलो होरा भएपछि दोस्रो होरा छैटौँ बारको मालिक हुन्छ । जस्तो कि आइतबार सूर्यको होरा पहिलो भने दोस्रो होरा शुक्रको, तेस्रो होरा बुधको, चौथो होरा चन्द्रको, पाँचौँ होरा शनिको, छैटौँ होरा गुरुको र सातौँ होरा मंगलको हुन्छ । त्यसपछि पुनः सूर्यको होराबाट सुरु हुन्छ ।

पहिलो सूर्य, दोस्रो शुक्र, तेस्रो बुध, चौथो चन्द्र, पाँचौँ शनि, छैटौँ गुरु, सातौँ मंगल त्यसपछि पुनः आठौँ सूर्य, नवौँ शुक्र, १०औँ बुध, ११औँ चन्द्र, १२औँ शनि, १३औँ गुरु, १४औँ मंगल, १५औँ सूर्य, १६औँ  शुक्र, १७औँ बुध, १८औँ चन्द्र, १९औँ शनि, २०औँ गुरु, २१औँ मंगल, २२औँ सूर्य, २३औँ शुक्र र २४औँ बुधको होरा हुन्छ ।

जसरी २४ घन्टाका २४ होरा आइतबार सूर्यबाट सुरु भएर बुधमा सकियो, त्यसरी नै सोमबारको होरा चन्द्रमाबाट सुरु भएर गुरुमा समाप्त हुन्छ । मंगलबार मंगलबाट सुरु भएर शुक्रमा, बुधबार बुधबाट सुरु भएर शनिमा, बिहीबार गुरुबाट सुरु भई सूर्यमा, शुक्रबार शुक्रबाट सुरु भई चन्द्रमा र शनिबार शनिबाट सुरु भई मंगलमा समाप्त हुन्छ ।

यसरी प्रत्येक दिनको प्रत्येक घन्टामा फरक–फरक ग्रहको होरा हुन्छ भने फरक–फरक होरा फरक–फरक कार्यका लागि उपयुक्त या शुभ हुन्छ । आफ्नो काम र प्रकृति अनुकूल होराको उपयोग गरेर त्यसको अधिकतम प्रतिफल लिन सकिन्छ । होरालाई जानौँ, बुझौँ र प्रयोग गरौँ । 

(लेखक ज्ञवाली दक्षिण एसियाली ज्योतिष महासंघका कार्यवाहक महासचिव हुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भरतमणि ज्ञवाली
भरतमणि ज्ञवाली
लेखकबाट थप