बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

इलामको उच्च पहाडी क्षेत्रमा पुग्यो प्रसारण लाइन

सोमबार, ११ भदौ २०८०, २१ : ५४
सोमबार, ११ भदौ २०८०

फिक्कल । बिजुली अभावका कारण समस्या भोग्दै आएका इलामको उच्च पहाडी क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइन पुगेको छ । 

सञ्चार र विद्युत्को उज्यालोबाट टाढा रहेका उच्च पहाडी क्षेत्रमा विद्युत् पुगेपछि गोठ सञ्चालकको दैनिकी फेरिएको छ । आठ वर्षदेखि गोठ सञ्चालन गर्दै आएका सन्दकपुर गाउँपालिका–२ का शिव राईले विद्युत् पुगेपछि दैनिकी नै परिवर्तन भएको बताए ।

गोठमा टुकी पन्छाएर सोलार जडान गर्नुभएका राईलाई विद्युत्को केन्द्रीय प्रसारण लाइन पुगेपछि सुरक्षित भएको अनुभूति भएको छ । इलामको उच्च पहाडी क्षेत्र बन्दुके क्षेत्रमा अहिले विद्युत्को उज्यालो छ । घना जङ्गलको बीचमा सञ्चालनमा आएको गोठमा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइन पुगेको हो ।

अर्का स्थानीय रुकमान शेर्पाले भने, “हाम्रो अर्थतन्त्रको आधार नै गोठ राखेर पशुपालन गर्नु हो । सडक, खानेपानी सञ्चार, विद्युत्लगायत आधारभूत सुविधाविहीन गोठमा विद्युत् पुगेपछि स्वर्गझै भएको छ ।” 

विद्युत् पुगेपछि जङ्गली जनावरको आक्रमणमा पनि कमी आएको छ । गोठमा पालिएका बाख्रा, गाई र चौँरीको रेखदेखका लागि विद्युत् विस्तारले सहयोग पुगेको हर्कमान मुखियाको भनाइ छ । आधारभूत सुविधा नभएको क्षेत्रमा विद्युत् पुगेपछि घरधन्दा गर्न पनि सहज भएको गोठ सञ्चालिका सञ्जीला राईले सुनाए ।

इलामको उच्च पहाडी क्षेत्र सन्दकपुर, जौबारी, कालपोखरी, बिखेभञ्ज्याङ बन्दुके, धुपी, आहाललगायत क्षेत्रमा गोठ राखेर पशुपालन हुँदै आएको छ । व्यावसायिक रुपमा पशुपालन गरिएका क्षेत्रमा विद्युत्को उज्यालो पुर्याउने योजनाअनुसार विद्युत् विस्तारको काम हुँदै आएको सन्दकपुर–२ का अध्यक्ष सनम राईले बताए ।

विद्युत्को उज्यालो नपुग्दा मोबाइल चार्ज गर्न पनि घन्टौ धाउनुपर्ने बाध्यता अहिले विद्युत् विस्तारसँगै सहज भएको छ । उच्च पहाडी क्षेत्रमा पशुपालन गरी दूध, घ्यू, छुर्पी, चीज उत्पादनसँगै बिक्रीबाट किसानले आम्दानी गर्दै आएका छन्  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप