बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

रिलायन्स इन्डस्ट्रिजको निर्देशक मण्डलबाट नीता अम्बानी बाहिरिइन्, यस्ता छन् अन्य फेरबदल

मङ्गलबार, १२ भदौ २०८०, ०८ : ४१
मङ्गलबार, १२ भदौ २०८०

सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै रिलायन्स इन्डस्ट्रिज लिमिटेडले आफ्नो संस्थामा ल्याउन लागिएको नयाँ र महत्त्वपूर्ण परिवर्तन बारे जानकारी दिएको छ ।

यसमा रिलायन्स समूहका प्रमुख मुकेश अम्बानीका तीन सन्तान रिलायन्स इन्डस्ट्रिज लिमिटेडको बोर्ड अफ डाइरेक्टरमा सामेल हुने र नीता अम्बानी यसबाट बाहिरिनेलगायतका महत्त्वपूर्ण जानकारी समावेश छन् ।

रिलायन्स समूहको वार्षिक साधारण सभा चलिरहेका बेला यस्तो घोषणा भएको हो ।

यस अवधिमा ती सबै योजना बारे जानकारी दिइएको छ जसले आगामी वर्षहरूमा रिलायन्स समूहसँग सम्बन्धित सबै कम्पनीहरूको भविष्य तय गर्नेछ ।

mukesh ambaniरिलायन्स समूहले के भन्यो ?

रिलायन्स समूहले जारी गरेको प्रेस विज्ञप्तिमा सोमबारदेखि सुरु भएको वार्षिक साधारण सभा अघि रिलायन्स इन्डस्ट्रिज लिमिटेडको सञ्चालक समितिको बैठक बसेको बताइएको छ ।

यस बैठकमा मुकेश अम्बानीका तीन सन्तान आकाश अम्बानी, अनन्त अम्बानी र ईशा अम्बानीलाई बोर्ड अफ डाइरेक्टरमा समावेश गर्ने विषयमा विचार गरिएको छ ।

यससँगै यी नियुक्तिलाई स्वीकृत गर्न शेयरधनीहरुलाई प्रस्ताव गरिएको छ ।

सोही बैठकमा मुकेश अम्बानीकी पत्नी नीता अम्बानीको निर्देशक मण्डलबाट राजीनामा स्वीकृत भएको छ ।

यद्यपि, रिलायन्स फाउन्डेसनकी अध्यक्ष नीता अम्बानी बोर्डको ‘परमानेन्ट इनभाइटी’ भएकाले आरआईएलको सञ्चालक समितिको सबै बैठकमा भाग लिनेछिन् ।

रिलायन्स समूहका शेयर धारकहरूको स्वीकृतिसँगै मुकेश अम्बानीका तीन सन्तानलाई बोर्ड अफ डाइरेक्टरमा सामेल गर्ने प्रक्रिया पूरा हुनेछ ।

यस समूहमा आकाश, अनन्त र ईशाले विभिन्न जिम्मेवारी सम्हाल्दै आएको कम्पनीले जनाएको छ ।

mukesh ambani1कसले के सम्हालिरहेको छ ?

हाल, मुकेश अम्बानीका तीनै सन्तानले रिलायन्स ग्रुपका विभिन्न क्षेत्रहरूमा फैलिएको व्यवसायहरू सम्हालिरहेका छन् ।

मुकेश अम्बानीका जेठा छोरा आकाश अम्बानीसँग टेलिकम सेक्टरको कमान्ड छ । उनले सन् २०१४ मा जियो इन्फोकममा काम गर्न थालेका थिए ।

त्यसपछि सन् २०२२ मा उनलाई यस कम्पनीको अध्यक्ष बनाइएको थियो ।

ब्राउन युनिभर्सिटीबाट अर्थशास्त्रमा स्नातक गरेका आकाश अम्बानी सन् २०२० मा फेसबुकको स्वामित्वमा रहेको कम्पनी मेटाबाट जियो प्लेटफर्मको डिजिटल इकाईमा ५.७ बिलियन डलर लगानी ल्याएको टोलीको हिस्सा थिए ।

यससँगै आकाश अम्बानीले विश्वव्यापी लगानीकर्ता केकेआर र टीपीजेडसँगको सम्झौतामा पनि महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

यसका साथै आकाश अम्बानीले रिलायन्स समूहको स्वामित्वमा रहेको आईपीएल क्रिकेट टोलीको व्यवस्थापन पनि गर्छन् ।

सन् २०१९ मा आकाश अम्बानीले प्रसिद्ध हीरा व्यापारीकी छोरी श्लोका मेहतासँग विवाह गरेका थिए ।

आकाश अम्बानीकी जुम्ल्याहा बहिनी ईशा अम्बानीले रिलायन्स समूहको खुद्रा, ई–कमर्स र लक्जरी व्यवसायहरू ह्यान्डल गर्छिन् ।

mukesh ambani2रिलायन्सले भर्खरै आफ्नो खुद्रा व्यापार कमाई र नाफाको आधारमा भारतमा सबैभन्दा अगाडि रहेको बताएको छ ।

अमेरिकाको प्रतिष्ठित स्ट्यानफोर्ड विश्वविद्यालयबाट व्यवस्थापन अध्ययन गरेकी ईशा अम्बानीले येल विश्वविद्यालयबाट साउथ एसियन स्टडीज र साइकोलोजी पढेकी छिन् ।

ईशा अम्बानीले केही समय अघि मुम्बईमा नीता मुकेश अम्बानी कल्चरल सेन्टरको सुरुवातमा पनि भूमिका खेलेकी छिन् जुन एक व्यापक शैलीको थिएटर र कला केन्द्र हो ।

मुकेश अम्बानीका कान्छो छोरा अनन्त अम्बानीले पनि ब्राउन युनिभर्सिटीबाट स्नातकसम्मको पढाइ गरेका छन् ।

२७ वर्षीय अनन्त मार्च २०२० देखि जिओको बोर्ड अफ डाइरेक्टरमा छन् ।

यससँगै सन् २०२२ मा उनी रिलायन्स रिटेलको बोर्ड अफ डाइरेक्टरमा पनि सामेल भएका छन् ।

यति मात्र होइन, अनन्तले रिलायन्स समूहको ऊर्जा क्षेत्रसँग सम्बन्धित व्यवसायहरू हेरिरहेका छन्, जसले कम्पनीलाई सन् २०३५ सम्ममा नेट–जिरो कार्बन उत्सर्जन गर्ने कम्पनी बनाउने लक्ष्य राखेको छ ।

mukesh ambani3मुकेश अम्बानीले के भने ?

रिलायन्स ग्रुपको वार्षिक साधारण सभामा कम्पनीले लिएका यी निर्णयहरूको जानकारी पनि दिइयो ।

यस क्रममा मुकेश अम्बानीले भने, ‘आज म ईशा , आकाश र अनन्तमा आफ्नो र मेरो बुवाको झलक देखिरहेको छु । म तीनैमा धीरुभाई अम्बानीको चमक देख्छु ।’

यससँगै उनले आफ्ना तीन सन्तानलाई नेतृत्व सम्बन्धी जिम्मेवारी सम्हाल्न तयार पारिरहने बताए ।

उनले भने, ‘कम्पनीको अध्यक्ष तथा प्रबन्ध निर्देशकको हैसियतमा आगामी पाँच वर्षसम्म आफ्नो कर्तव्य र जिम्मेवारी उत्साहका साथ पूरा गर्न म तत्पर छु ।’

मुकेश अम्बानीले सन् २०२१ देखि उत्तराधिकारको बारेमा खुलेर कुरा गरिरहेका छन् ।

बीबीसी


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप