सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
सुन तस्करी प्रकरण

दावा छिरिङले ‘नक्कली कागजात’ बुझाएर नागरिकता लिएको पुष्टि

खारेज गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लगिँदै
बिहीबार, १४ भदौ २०८०, १९ : ५७
बिहीबार, १४ भदौ २०८०

काठमाडौँ । ६० किलो ७ सय १६ ग्राम सुन प्रकरणमा पक्राउ गरिएका दावा छिरिङले नक्कली कागजात पेस गरेर नेपाली नागरिकता लिएको पुष्टि भएको छ ।

तिब्बतीयन मुलका बेल्जियन नागरिक छिरिङले निमा तामाङको नाममा जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट नागरिकता लिएको छानबिन समितिको ठहर छ ।

नागरिकताबारे छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको थियो । उप–सचिव कृष्ण बहादुर कटुवालको नेतृत्वमा बनेको समितिले दावाको नागरिकता छानबिन रिपोर्ट बुझाएको छ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई छानबिन रिपोर्ट बुझाएको समितिका एक जना सदस्यले रातोपाटीलाई बताए ।

काठमाडौँ महानगरपालिका–२ स्थित लाजिम्पाट बस्ने छिरिङ ठमेलस्थित ‘होटल भियना’को सञ्चालकसमेत हुन् l  छिरिङले काभ्रेको नमोबुद्ध नगरपालिका–११ घर भएका पेमा तामाङलाई बुबा बनाएर नागरिकता लिएको भेटिएको छ । नागरिकता लिनका लागि वडा अध्यक्ष सरस्वती पण्डित कार्कीले सिफारिस गरेको कागजात भेटिएको छ । तर, छानबिन गर्दा सरस्वती पण्डित कार्की नाम गरेको वडाअध्यक्ष नै भेटिएन ।

उपसचिव कटुवाल नेतृत्वको समितिले दावाको औंठाछाप परीक्षण गरेको छ । नेपाली नागरिकताको आधारमा लिएको पासपोर्ट र बेल्जियमबाट नेपाल आउँदा त्रिभुवन  विमानस्थल अध्यागमन कार्यालयमा उनले दिएको औंठाछाप म्याच भएको छानबिनमा संलग्न एक जना अधिकृतले बताए ।

२०७४ पुस २० मा उनले काभ्रेबाट लिएको नागरिकता खारेज गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी भइरहेको गृह मन्त्रालयका एक जना उच्च अधिकृतले जानकारी दिए ।

दावाले लिएको नागरिकतामा हस्ताक्षर गर्ने अधिकृत र नासुसँग समितिले बयान लिएको थियो । छानबिन समितिले नागरिकता वितरणमा संलग्न कर्मचारीहरुलाई कारबाही गर्न सिफारिस गरेको छ ।

दावाको नागरिकता अनुसन्धान गर्दा अर्का एक जना चिनियाँ नागरिकले पनि यामाङ तामाङको नामबाट नागरिकता लिएको भेटिएको छ ।

हङकङबाट तस्करी गरेर ल्याएको ६० किलो ७ सय १६ ग्राम सुन प्रकरणमा पक्राउ गरिएका ५ जना चिनियाँ नागरिकसँग नेपाली नागरिकता भेटिएको छ । ४ जनाले काभ्रेबाट र एक जनाले काठमाडौँबाट नागरिकता लिएका हुन् ।

काभ्रेबाट नागरिकता लिनेमा चिनियाँ नागरिक लि–नेङकाई, डिङ सेग्फा र बेल्जियन दावा छिरिङ छन् । दावा छिरिङको साथमा ३०–०१–७४–११८६५ नम्बरको नेपाली नागरिकता फेला परेको छ ।

चिनियाँ नागरिक ली वेन सुङले छिरिङ लामाको नामबाट जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट नागरिकता लिएको भेटिएको छ । सुन तस्करीको आरोपमा पक्राउ गरिएका एक जना चिनियाँसग भारतीय आधारकार्ड फेला परेको छ । तिब्बती मुलका भारतीय नागरिक थाप्तेन छिरिङ र चिनियाँ ‘एलेक्स’ भनेर चिनिने याओ पुचेङ्गको साथमा भारतको आधारकार्ड भेटिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप