सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
विकृति

सप्तरीमा जसपाका तीन पालिका प्रमुख भ्रष्टाचार मुद्दाका कारण निलम्बित

नेकपा एकीकृत समाजवादीका मेयर पनि बाँकी रहेनन्
शुक्रबार, १५ भदौ २०८०, ०७ : २१
शुक्रबार, १५ भदौ २०८०

जनकपुरधाम । जनता समाजवादी पार्टीबाट सप्तरीका पालिकाको प्रमुखमा निर्वाचित तीन जना निलम्बित भएका छन् । भ्रष्टाचार गरेको आरोपमा उनीहरु सबै निलम्बनमा परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेपछि निलम्बनमा परेका छन् । सप्तरी जिल्लामा रहेको १८ स्थानीय तहमध्ये तीन वटा स्थानीय तहमा जसपाबाट प्रमुखमा निर्वाचित भएका थिए ।

जिल्लाको राजविराज नगरपालिका, विष्णु गाउँपालिका र बोदे बरसाइन नगरपालिकामा जसपाका प्रमुख निर्वाचित भएका थिए । विष्णु गाउँपालिका अध्यक्ष उमेशप्रसाद यादव र बेदो बरसाइन नगरपालिकाका मेयर आतेशकुमार सिंह यादव उपर मुद्दा दायर भई निलम्बनमा परेका हुन् भने राजविराज नगरपालिकाका मेयर भीमराज यादवलाई विशेष अदालतले दोषी नै ठहर गरिसकेको छ । उनलाई स्थानीय राज रंगशाला स्तरोन्नति ठेक्कामा भ्रष्टाचार गरेको सम्बन्धमा विशेष अदालतले दोषी ठहर गरेको हो ।

आर्थिक वर्ष ०७३-७४ मा राजविराजस्थित राज रंगशालामा स्तरोन्नति कार्यमा भ्रष्टाचार गरेको विशेष अदालतको ठहर छ । उनीमाथि अख्तियारले विशेष अदालतमा २०७९ असार २९ गते आरोप पत्र दायर गरेको थियो । गत साउन ३१ गते न्यू गाहिल कन्सट्रक्सनका सञ्चालकसमेत रहेका मेयर यादवलाई विशेष अदालतले २ लाख ६३ हजार ४६८ रुपैयाँ जरिवाना र त्यत्तिकै बिगो असुलउपर गर्न आदेश दिएको हो ।

सोही मुद्दामा उदय निर्माण सेवाका सञ्चालक उदय श्रेष्ठलाई पनि दुई लाख ६३ हजार चार सय ६८ रुपैयाँ जरिवाना र उत्तिनै बिगो असुलउपर गर्न विशेष अदालतले आदेश दिएको छ ।

यसै मुद्दाका प्रतिवादी जिल्ला समन्वय समिति सप्तरीका इन्जिनियर विकास श्रेष्ठलाई भने भ्रष्टाचारका दुई कसुरमा तीन–तीन महिना कैद सजाय सुनाइएको छ । उनलाई भ्रष्टाचार निवारण ऐनको दफा १९ (२) बमोजिम गलत प्रतिवेदन दिएको र दफा ८ (१) (ग) बमोजिम कसुर गरेको भन्दै दुवै कसुरमा तीन–तीन महिना कैद हुने फैसला गरेको हो । उनलाई चार लाख ९९ हजार ६ सय ६५ रुपैयाँ जरिवानासमेत तिराउने फैसला गरेको छ ।

मेयर यादव दोषी ठहर भए पनि राजविराज नगरपालिकामा अहिले उपनिर्वाचनको प्रक्रिया अगाडि बढ्ने छैन । विशेष अदालतले दोषी ठहर गरे पनि उक्त फैसलाविरुद्ध सर्वोच्च जाने अधिकार उनीसँग रहेकाले तत्काल त्यस पालिकामा उपनिर्वाचन नहुने भएको छ ।

उनी दोषी ठहर भएको सो मुद्दाको अन्तिम किनारा लागेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पद रिक्त भएको भनी आयोगलाई पत्राचार गरेपछि मात्र उपनिर्वाचनको प्रक्रिया अघि बढ्ने छ ।

जसपाबाटै निर्वाचित विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद यादव पनि घुससम्बन्धी घटनामा अख्तियारले नियन्त्रणमा लिएपछि निलम्बित भएका छन् । सोलार बत्ती जडान योजनाको भुक्तानीबापत घुस मागेको सम्बन्धी मुद्दामा अध्यक्ष यादवविरुद्ध विशेष अदालतले म्याद थप गरी थुनामा राखेसँगै उनी निलम्बनमा परेका छन् ।

गत साउन ३१ गते सोलार सम्बन्धी एक योजनामा २ लाख नगद र ३ लाखको चेक घुसबापत लिँदै गर्दा गाउँपालिकाका लेखापाल र एमआईएस अपरेटरलाई आयोगको टोलीले राजविराजस्थित गजेन्द्र चौकबाट नियन्त्रणमा लिएको थियो ।

सो प्रकरणमा पालिका अध्यक्ष यादवको समेत संलग्नता रहेको अख्तियारको दाबी छ ।

यस्तै बुधबारमात्रै बोदे बरसाइन नगरपालिका मेयर आतेशकुमार सिंह यादव पनि निलम्बित भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि भ्रष्टाचार गरेको आरोप लगाउँदै मुद्दा दायर गरेपछि उनी निलम्बित भएका हुन् । मेयर यादव जसपाबाटै निर्वाचित हुन् ।

अख्तियारले उनीसहित ८ जनाविरुद्ध बुधबार भ्रष्टाचार मुद्दा दायर गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत बाख्रा व्यवसायी पकेट कार्यक्रमका लागि छुट्याइएको रकम कामै नगरी भुक्तानी गरेको आरोपमा उनीहरुविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो ।

बोदे बरसाइन नगरपालिकाले बाख्रा व्यवसायी पकेट कार्यक्रमका लागि वडा नम्बर ६ फुलकाहीको माँ जगदम्बा कृषक समूहसँग सम्झौता गरेको थियो । तर, नक्कली बिल भर्पाइ र झुटा बिल बनाएर १४ लाख ७१ हजार ९ सय २१ रुपैयाँ नगरपालिकाले भुक्तानी गरेको अख्तियारको दाबी छ ।

मेयर यादव र वडा नं ४ का तत्कालीन वडाध्यक्ष रामानन्द चौधरी र तत्कालीन नगर कार्यपालिका सदस्य श्रीप्रसाद भगतले स्थलगत अनुगमन गरी योजनाको स्थिति राम्रो भनी गलत प्रतिवेदन दिएको र सोही प्रतिवेदनका आधारमा कृषक समूहलाई भुक्तानी दिइएको अख्तियारको दाबी छ ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत घनश्याम यादव र लेखापाल सरोजकुमार मण्डलले नक्कली बिल भर्पाइकै आधारमा भुक्तानीको टिप्पणी आदेश स्वीकृत गरेर कृषक समूहलाई भुक्तानी दिएको देखिएको अख्तियारको ठहर छ ।

अख्तियारले नगरपालिकाका पशुविकास अधिकृत अर्जुनप्रसाद यादव, माँ जगदम्बा कृषक समूहका अध्यक्ष राधेश्यामकुमार साह र कोषाध्यक्ष निलमकुमारी शर्माविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

त्यसैगरी शम्भुनाथ नगरपालिकाका मेयर जितेन्द्र प्रसाद गुप्ता कलवार पनि निलम्बित भएका छन् । मेयर कलवार नेकपा एकीकृत समाजवादी पार्टीबाट निर्वाचित भएका हुन् । अख्तियार दुरुपयोग आयोगले उनीविरुद्ध विशेष अदालतमा घुस लिएको आरोपमा आरोप पत्र दायर भएसँगै उनी निलम्बित भएका छन् ।

नगरपालिकाका ईन्जिनियर रामचन्द्र साहको मिलोमितोमा विद्यालयको सभाहल निर्माणको अन्तिम बिल भुक्तानी प्रयोजनका लागि सेवाग्राहीसँग १ लाख ४० हजार घुस लिएको पुष्टि पश्चात आरोप पत्र दायर गरिएको अख्तियार स्रोतले जनाएको छ ।

इन्जिनियर साहलाई अख्तियारको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले गत ३ माघमा रु १ लाख ४० हजार घुस लिदँै गर्दा पक्राउ गरेको थियो । साहलाई नियन्त्रणमा लिएर अख्तियारले अनुसन्धान सुरु गरेपछि मेयर कलवारको पनि संलग्नता देखिएको अख्तियारले जनाएको छ ।

कलवार र साह दुबैलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुरमा बिगो एक लाख ४० हजार कायम गरी कैद र बिगोबमोजिम जरिवानाको माग दाबीसहित आरोप पत्र दायर गरिएको छ ।

नेकपा एकीकृत समाजवादी पार्टीबाट जिल्लाको १८ वटा स्थानीय तहमध्ये यस पालिकामा मात्रै प्रमुख निर्वाचित भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमरेन्द्रकुमार यादव
अमरेन्द्रकुमार यादव
लेखकबाट थप