आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

‘८० सालको गाईजात्रा’ : नेतादेखि कर्मचारीसम्मलाई झटारो, बालेनको प्रशंसा

शुक्रबार, १५ भदौ २०८०, २१ : ०४
शुक्रबार, १५ भदौ २०८०

काठमाडौँ । सरकार, सदन, सडकदेखि समाजसम्म जताततै गाईजात्रा छ । यो समय किन चाहियो कलाकारको गाईजात्रा ? धेरैको प्रश्न उठ्न सक्छ । जताततै रहेको गाईजात्रा हटाउने उद्देश्यले काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको छ ‘८० सालको गाईजात्रा’ ।

कलाकार मनोज गजुरेलले पुराना र नयाँको फ्युजनसहित सुरु गरेको कार्यक्रममा शैलेन्द्र सिम्खडा, सुबोध गौतम, गायक टीका भण्डारी, कमेडी च्याम्पियनका प्रतियोगी सुन्दर खनाल र म्याक्सम गौडेल,  प्रभात लामा कमेडियन सीता न्यौपाने र रुबिना अधिकारी लगायतको बेजोड प्रस्तुति छ ।

कलाकारले नेतादेखि अभिनेतासम्म, मन्त्रीदेखि कर्मचारीसम्म, सर्वसाधारणको घरदेखि शीतल निवाससम्म यो पटकको बिषयमा अटाएको छ । सबैमाथि ब्यङ्ग्यको झटारो बझारेका कलाकारले एक  व्यक्तिको भने प्रशंसा गरेका छन् । ती हुन् काठमाडौँ महानगरका मेयर बालेन शाह ।

हरेक वर्षको गाईजात्रामा फरक पात्रको रूपमा दर्शकका अगाडि उभ्याउँदै आएका कलाकार मनोज गजुरेल यो पटक स्वर्गीय मदन भण्डारी र अमेरिकी धनाढ्य एलन मस्कका हजुरबा एलियन मस्कका रूपमा प्रस्तुत छन् ।

gaijatra (2)

‘बीपी कोइरालाको स्वर्गालयमा मदन भण्डारीको प्रवेश’ शीर्षकको प्रहसनमा बीपी कोइरालासँग भण्डारीको स्वर्गको भेट काल्पनिक प्रहसनमा नेपाली राजनीतिदेखि भ्रष्टाचार, समाजका चर्चित घटना र हत्याकाण्ड व्यङ्ग्यका खुराक छन् । जसले दर्शकलाई पेट मिचिमिची हाँस्न बाध्य गराउँछ । विषय के र प्रस्तुति कस्तो जान्नका लागि भने कार्यक्रम हेर्नुपर्ने हुन्छ । 

प्रहसनमा गजुरेललाई बीपी  कोइरालाको रूपमा चक्र दुवाडीले साथ दिएका थिए । सिस्नुपानीका सदस्य समेत रहेका दुवाडी व्यावसायिक कलाकार नभए पनि बीपीको रूपमा परफेट देखिएका छन् । गजुरेल र दुवाडीको करिब २० मिनेटको प्रहसनमा गोकुल बास्कोटाको फ्रि वाइफाई, सुन तस्करमा मुछिएका भीआइपी, समाजवादको सपना देखाउने कम्युनिस्ट समेत निशानामा परेका छन् ।

प्रस्तुतिको अन्त्यमा बीपी पात्रको राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र र समाजवाद लागि काम गर्न र जनतालाई दुहुनो गाई नबनाउन राजनीतिक नेतालाई सुझाएको प्रसङ्गमा दर्शकले सिटी र तालीले प्रशंसा गर्छन् ।

पहिलो चरणमा विराटनगर, बर्दिबास र चन्द्रनिगाहपुर गरिएको कार्यक्रमको दोस्रो बिहीबारबाट काठमाडौँमा सुरु भएको हो । प्रतिष्ठानमा १७ गतेसम्म चल्ने कार्यक्रमको तेस्रो चरण २२ गते दाङ र २३ गते बुटवलमा हुनेछ ।

कार्यक्रममा गजुरेलको एलियन मस्कको प्रस्तुतिमा कलाकार प्रभात लामाले महावीर पुनको रूपमा साथ दिएका छन् । यो प्रस्तुतिमा मेयर बालेनको प्रशंसादेखि विगतका केही महत्त्वपूर्ण घटना दर्शकलाई ताजकी गराउँछ ।

कार्यक्रममा  मेक्सम गौडेलको छबि लामिछानेदेखि सुन्दर खनालको चिप्लाउने अंकलको गेटअफ दर्शकले सायदै बिर्सन सक्लान् । खनाल र गौडेलको प्रस्तुति ‘कार्यक्रम द चिप्लेटी शो’ मा युवाको विदेश मोह, नेताको शिक्षादेखि कर्मचारीको हाजिरसम्म विषय समेटिएका छन् । हरेक विषयले दर्शक हाँस्न बाध्य पार्छ ।

gaijatra (1)

कार्यक्रममा सुबोध गौतम र सीता न्यौपानेले स्टयाण्ड अफ कमेडी मार्फत हसाउँछन् । गौतमको राजनीतिक नेता कमेडीको विषय बन्दा न्यौपानेले भने परिवार र समावेशी कोटाको प्रसङ्गमा दर्शक रिझाउँछिन् ।

गाईजात्रा कार्यक्रममा शैलेन्द्र सिम्खडाको कविता शैलीले पनि बेग्लै रौनक थाप्छ । काजु, दाजु, भाउजूदेखि नायक, नायिकासम्म उनले कसैलाई बाँकी राखेनन् । रुबिना अधिकारीको जोडदार नृत्य रहेको कार्यक्रममा गायक टिका भण्डारीको प्यारोडी पनि रहेको छ ।

सरोज घिमिरेको सञ्चालन रहेको कार्यक्रममा बिहीबार सुवास नेवाङ, गोकुल बास्कोटा, योगेश भट्टराई, रबि लामिछाने, सुनील थापा, राजेन्द्र लिङ्देन, विश्वप्रकाश शर्मा, माधव सापकोटा, रवीन्द्र मिश्र, दीपकबहादुर सिंह लगायत थुप्रै नेता, सेलिब्रेटी र पत्रकार समेत दर्शकको रूपमा उपस्थित थिए ।

 

 

 

    

   

 

 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप