सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठक

समिति सदस्यहरूले उठाए ल्यारक्यालदेखि विमानस्थलबारे प्रश्न

बिजनेस दिन नसकिरहेको बेला निजगढमा अर्को अन्तर्राष्ट्रिय विमानस्थल किन चाहियो ? : धवल शमशेर राणा
सोमबार, १८ भदौ २०८०, १७ : ०४
सोमबार, १८ भदौ २०८०

काठमाडौँ । संसदीय समितिहरूको सभापति चयनपछि पहिलो पटक बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा समिति सदस्यहरूले ल्यारक्यालदेखि विमानस्थलसम्मका सवालमा प्रश्न उठाएका छन् । 

सोमबारको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँती तथा राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीलाई बोलाएको थियो । बैठकको सुरुमै एक बजे प्रतिनिधिसभा संसदको बैठक भएकाले छोटोमा टुंग्याउने र थप विषयहरू अर्को बैठकमा राख्ने भन्दै अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवले प्रस्ताव राखे । त्यसमा सबैले ऐकबद्धता जनाएका थिए । 

सुरुमा पर्यटन सचिव भरतमणि सुवेदीले मन्त्रालयको स्थापना, कामकारबाही र जिम्मेवारीका विषयमा प्रष्ट पारेका थिए । त्यसपछि सभापति यादवले मन्त्री किराँती र राज्यमन्त्री ठकुरीलाई आफ्ना कुरा राख्न समय दिए । 

मन्त्री किराँतीले पर्यटन राज्यको प्राथमिकता हो वा होइन ? भनेर हामी सबै प्रष्ट हुनुपर्ने देखियो भन्दै बोल्न सुरु गरे । उनले पुरानो राजतन्त्रकालीन ऐन र नियमलाई परिमार्जन गर्ने तयारीअनुसार मन्त्रालयले मस्यौदा बनाउने काम गरिरहेको समितिमा जानकारी गराए । 

पर्यटक आउन पहिला पर्यटन क्षेत्रको विकासमा ध्यान दिनुपर्ने र त्यसमा सोहीअनुसार राज्यले लगानी गर्नुपर्ने किराँतीले बताए । उनले भने,‘ नगरकोटमा पर्यटक आईदिनुप¥यो भनेर भन्छौं । तर, बाटो बनाई दिँदैनौँ । अनि, कसरी आउँछन् पर्यटक ?’ उनले यो एउटा उदाहरण मात्रै भएको बताउँदै पर्यटन पूर्वाधार विकासमा ध्यान दिनुपर्ने उल्लेख गरे । 

उनले नेपालको हवाई टिकट संसारकै महँगो भएकाले पर्यटक भित्र्याउन समस्या भइरहेको बताए । ‘नेपालबाट थाइल्यान्ड जानुपर्‍यो भने ३५ देखि ४० हजारमा टिकट पाइन्छ । तर, नेपाल आइसकेपछि अन्य जिल्लामा जानुपर्‍यो भने थाइल्यान्ड गएभन्दा महँगो हुने भयो,’ किराँतीले भने । उनले यसबारे क्याबिनेटमा पनि पटक पटक छलफल गरेको बताए । 

हिमालमा प्याराग्लाईडिङ गर्न अनुमति दिने प्रसंग कोट्याउँदै किराँतीले अब ८ हजारभन्दा माथि तर सगरमाथाको उचाइभन्दा तलबाट प्याराग्लाईडिङ गर्न दिने गरी नियमावली बनाउने लागेको जानकारी दिए । 

उनले राष्ट्रिय संस्कृति ऐन बनाउन सोमबारै एउटा समिति बनाउन लागेको बताए । साथै, २२ वटा विमानस्थल खाली रहेको बताउँदै तीन वटा जहाज खरिद गर्न लागेको बताए । 

किराँतीले बोलेपछि राज्यमन्त्री ठकुरीले मन्त्रीकै कुरालाई समर्थन जनाउँदै समितिले मन्त्रालयलाई समेत झक्झकाउने गरी कामकारबाहीका विषयमा निर्देशन दिन सुझाव मागिन् । 

कसले के भने ?

समितिको बैठकमा सांसदहरुले के कस्तो मुद्दा उठाए । प्रस्तुत छ, तिनकै शब्दमा प्रश्नको पेटारो ।

चीनलाई नयाँ नक्सा बुझाइएको थियो कि थिएन ? : प्रेम सुवाल

चीनले हालै सार्वजनिक गरेको नक्सामा नेपालको चुच्चे नक्सा समेटिएको देखिएन । तत्कालीन प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले त बुझाएको भन्नुहुन्छ । तर, अहिलेका परराष्ट्रमन्त्रीले बुझाएको छैन भन्नुहुन्छ ? यसबारे प्रष्ट पार्नुहोला । 

अहिले सुनकै चर्चा छ । पर्यटनमा सुन जोडिन्छ कि जोडिँदैन ? भेपमा लुकाएर ल्याएको सुन हराउने, ब्रेक सुमा ल्याएको सुन कोट्याउँदा कालो पत्थर मात्रै देखिने रहेछ । पर्यटनसँग सुन जोडेर पनि हेर्ने बेला आएको छ । 

कर्णाली प्रदेशका संस्कृति र पर्यटनको कुरा किन जानकारी नगराएको हो ? छुटेको हो भने अर्को पटक ल्याउनुहोला । 

सरकारी निकायको नाम परिवर्तन गरेको सूचना पाइयो । नाम परिवर्तन होइन, काम राम्रो गर्नुप¥यो । 

क्यासिनो र मानव बेचबिखनको विषयमा सरकार गम्भीर हुनुपर्छ । 

हनुमाढोका दरबारको पुनर्निर्माणको काम कहाँ पुग्यो ? 

कमलपोखरीको ३६ रोपनी जग्गा व्यक्तिको भनेर दिने पुरातत्व विभागलाई के कारबाही हुन्छ ? 

तारागाउँ समितिको धेरै जग्गा हायात होटललाई दिएको भनिएको छ । किन दिइएको हो ? 

रारालाई हिमालयन ट्राभल मार्टको रुपमा किन विकास नगर्ने ? 

क्याप्टेन रामेश्वर थापा र अन्नपूर्ण दैनिकसँग नागरिक उड्डयन प्राधिकरणको विवाद के हो ?

ल्यारक्याल लामाको नियुक्ति कसरी भयो ? : प्रभु साह

अहिलेको पर्यटनमन्त्री धेरै स्मार्ट र काम गर्न खोज्ने हुनुहुन्छ । त्यो देशकै लागि पनि राम्रो हो । तर, तपाईले विवादित ल्यारक्याललाई कुन दबाबमा आएर लुम्बिनी विकास कोषको उपाध्यक्ष बनाउनु भयो ? यसको जवाफ दिनुहोला । 

नेपालको हवाई उडान असुरक्षित छ भनेर जुन भ्रम फैलाइएको छ, आईकाओले पनि नेपालको हवाई क्षेत्रलाई कालोसूचीमा राख्ने भनेको सुन्छु । खास कुरा के हो ? 

निजगढ विमानस्थल निर्माण गर्ने कुरा कहाँ पुग्यो ? पर्तौरा पुरातात्विक क्षेत्रको संरक्षणको अवस्था के छ ? विश्व सम्पदा सूचीमा राख्ने मापदण्ड के हो ? 

जानकी मन्दिर अझैसम्म सम्पदा सूचीमा पर्न नसक्नुको कारण के हो ? 

परम्परागत पदमार्गहरूको संरक्षणमा के कस्ता काम भइरहेका छन् ? सम्पदाको बाँडफाटबारे अझै हामी स्पष्ट हुनुपर्ने देखिन्छ । 

संविधानले थोरै बोले पनि प्रदेश र स्थानीय तहले के हेर्ने हो ? कानुनमा स्पष्ट के छ ? 

ल्यारक्यालको नियुक्ति राष्ट्रिय सहमतिको होइन : शिशिर खनाल

सबैभन्दा पहिला त मन्त्रीज्यूले हालै ल्यारक्याल लामाको नियुक्ति राष्ट्रिय सहमतिमै भएको भनेर बोल्नु भएछ । राष्ट्रिय सहमतिको होइन, यसमा प्रशस्त प्रश्न छन् । 

भैरहवा ट्रान्जिट राखेर उडान भर्दा आर्थिक र सुरक्षाको जोखिम बढेको रिपोर्टिङ मैले पाएको छु । ठुला जहाजले ४ देखि ७ घण्टा उडान भरेपछि मर्मतमा जानुपर्ने हुन्छ । तर, १० मिनेटको दुरीलाई १८ मिनेट बनाइएको छ । भैरहवादेखि काठमाडौँसम्मको उडान भर्दा एउटा जहाजको खर्च ८ हजार डलर आउने रहेछ । 

अब भन्नुस् मन्त्रीज्यू यसरी जहाजको कष्ट बढ्दैन ? कि यो तपाईकै प्रेसरले उठाएको हो ? यो तुरुन्त बन्द गर्नुस् । 

हवाईमार्गबारे के प्रगति भए ? प्रधानमन्त्री यस अघिको भारत भ्रमणमा राखेका बुँदा कति कार्यान्वयनमा आए ? 

निराश मन्त्रीबाट हामीले के आश गर्ने ? : एकनाथ ढकाल

मन्त्रीज्यूले सुरुमै निराशाजनक कुरा राख्नुभयो । मैले मन्त्री निराश भएको अनुभूत गरेँ । समस्या छन्, जति प्रयास गर्दा पनि केही हुन नसकेको कुरा आयो । तपाई आफै निराश भएपछि कोसँग जवाफ माग्ने ?

पर्यटनले कति प्रतिशत नेपालको जीडीपीमा जम्मा तीन प्रतिशत हिस्सा राख्छ । अनि हामी जिडिपी माथि लैजान पर्यटन क्षेत्र मेजर हो भनेर भनिरहेका छौँ । पर्यटन क्षेत्रमा कति नाफा र कति घाटा हुने स्पष्ट हुनुपर्छ । पर्यटक आवागमनलाई कसरी बढाउन सकिन्छ ? मन्त्रीज्यूका योजना के छन् ? 

अहिले मैले बुझेसम्म पर्यटक बस्न मिल्ने नेपालमा ५० हजार कोठा छन् । अर्को कुरा नेपाल आउने जहाजमा कम्तीमा नेपालको बारेमा केही जानकारी हुने भिडियो देखाउनुपर्छ । केहीले यसो गरेपनि अधिकांशले देखाउँदैनन् । यसमा ध्यान दिनुपर्‍यो ।

पर्यटन क्षेत्र सरकार आफैँ ध्वस्त बनाउँदै छ : धवल शमशेर राणा

सरकार आफैँले पर्यटन क्षेत्र समाप्त पार्न खोज्दैछ । ठूला पाँचतारे होटललाई प्रतियुनिट ३० रुपैँयामा बिजुली बिक्री गरेर के गर्न खोजेको हो ? एक त पर्यटन ल्याउन सकिरहेका छैनौँ । अर्कोतर्फ व्यवसायीलाई नै मार पर्ने गरी चर्को विद्युत महशुल लिन भएन नि । 

नेपालगंज नगरपालिकाले जग्गा दिएर नाथम कलेज बनाउने भन्यो । एक्कासी अहिले त सामान हटाएर लगियो ? किन त्यो काम रोकियो ? यसको जफाव दिनुपर्छ । 

भारतबाट नेपाल उडान गर्ने रुट मिलाउनुपर्यो । नेपालगंज, लखनउ हुँदै दिल्ली सम्मको रुटले ‘आधा पैसा, आधा समय’ बचत हुन्छ । काठमाडौँबाट विदेशीलाई किन अन्य जिल्लामा उडान भर्न जाँदा टिकटमा ४ देखि ५ गुणा रकम लिइएको ? अनि कहाँबाट आउँछन् पर्यटक ? 

हामीले भएका अन्तर्राष्ट्रिय विमानस्थललाई त बिजनेस दिन सकिरहेका छैनौँ । अहिले मुलुकको आर्थिक अवस्था कमजोर भइरहेको बेला निजगढमा अर्को अन्तर्राष्ट्रिय विमानस्थल किन बनाउने ? 

भैरहवामा ट्याक्सी–वे किन ? : उदय शमशेर राणा

माननीय धवल शम्शेरले भनेको जस्तो भैरहवासँगै तीनवटा भव्य अन्तर्राष्ट्रिय विमानस्थललाई बिजनेश पु¥याउन नसकिरहेको बेला अर्को विमानस्थलका बारेमा सोच्ने बेला आएको छ र ? 

भैरहवा विमानस्थलमा ट्याक्सी–वे को लागि ४ अर्ब रुपैयाँको ठेक्का लागेको सुनेको छु । पछि  बनाउन सकिन्थ्यो कि । अहिले आर्थिक अवस्था कमजोर भएका बेला किन बनाउन हतार गरेको ? 

भरतपुर विमानस्थलमा एक अर्ब ९२ करोड रुपैयाँ एटिआर बनाउन ठेक्कामा दिइएको रहेछ । नेपालगंज विमानसथलमा टर्मिनल बनाउन ३ अर्ब रुपैयाँमा ठेक्का दिइएको रहेछ । अहिले आर्थिक अवस्था कमजोर भएका बेला किन अर्बका अर्ब रुपैयाँको ठेक्का ? हेर्नोस् यो जनताको पैसा हो । जवाफ दिनुपर्छ । 

अर्को तीन वटा डोमेष्टिक विमानस्थल बन्दै छ भन्ने सुनिन्छ । यस विषयमा मन्त्रीज्यूले जवाफ दिनुहोला ।

फेक रेस्क्यू समस्या समाधान हुनुपर्‍यो : सुनिता बराल

नेपालमा १२ वटा विदेशी कम्पनीले रेस्क्यूको काम गर्दै आएका छन् । हेलिकप्टर उडानसँगै फेक रेस्क्यू हुँदै आएको समस्या समाधान गर्नुपर्ने देखिन्छ । स्कील म्यानपावर नहुँदा र नपठाउँदा विमानस्थलमा समस्या भइरहेको सुनिन्छ । 

ट्रेकिङ रट थप व्यवस्थित गर्न जरुरी छ । स्थानीय सरकारसँग समन्वय गरेर जानुपर्छ । कतिपय पुराना रुट भू–क्षयीकरणका कारण भत्किएका छन् । संरक्षण खै ?

अण्डा दिने पोथी काटेर खाएपछि के हुन्छ ? : मन्त्री किराँती

सांसदहरुले उठाएका प्रश्नबारे मैले जवाफ दिने हो भने तीन घण्टा भन्दा बढी लाग्छ । पहिला त नकारात्मक मनोविज्ञान हटाउनुस् भन्छु म । सांसद हुँदा एउटा कुरा र मन्त्री हुँदा अर्को कुरा गरेर हुँदैन । 

विमानस्थलको पूर्वाधारमा ४ अर्ब रुपैयाँ खर्च हुने कुरा मेरो नियुक्ति अगाडिकै कुरा हो । भैरहवाबाट राष्ट्रिय उडान भर्दा घाटा कि नाफा भनेर प्रश्न गर्न मिल्दैन । यो राष्ट्रिय जिम्मेवारी हो । ताप्लेजुङमा सडक पु¥याएपछि गाडी लैजानुपर्छ ।

हाम्रो विमानस्थलमा अरु कसले उडाउँछ ? पहिला हामीले नै उडाउने हो । एनओसीमा नाफा कति भनेर सोध्नुहुन्छ ? अरे यो धमिजा, लाउडा हुँदै वाईडबडी काण्ड हुँदै उड्डयन क्षेत्र यहाँसम्म आईपुग्दा एकैपटक जादुको छडी अनुसार परिवर्तन आउँदैन । 

तर, पनि यो साल हामीले पौने चार अर्ब ऋण तिर्यौं त । ४८ अर्ब ऋण कहिले तिर्छौ नि ? भनेर प्रश्न आइहाल्छ । अनि अण्डा दिने पोथीलाई नै काटेर खाएपछि कसरी हुन्छ त ? नकारात्मक सन्देश प्रवाह गरेर छलफल गर्नु हुँदैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास गोतामे
सुवास गोतामे
लेखकबाट थप