सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

अतिक्रमित सार्वजनिक जग्गा खाली गर्न फत्तेपुरका स्थानीय सहमत

बिहीबार, २१ भदौ २०८०, ०८ : २९
बिहीबार, २१ भदौ २०८०

बारा । लामो समयदेखि अतिक्रमणमा परेको सार्वजनिक जग्गा खाली गर्न बारा फत्तेपुरका स्थानीय सहमत भएका छन् । कृषि बजार (हाटबजार) लाई व्यवस्थित गर्ने र वडा कार्यालय भवन निमार्ण गर्ने विषयमा सहमति भएपछि स्थानीयहरूले सार्वजनिक जग्गा खाली गर्न सहमत भएका हुन् । 

साबिक फत्तेपुर गाविस वडा नं ३ हाल जीतपुर सिमरा वडा नं १२ अन्तर्गत पर्ने कित्ता नं १७ को १८ कट्टा सार्वजनिक जग्गा २०२२ सालको नापीमा फिल्डबुकमा हाटबजार भनी उल्लेख छ । सो १८ कट्टा सार्वजनिक जग्गा मध्ये ६ कट्टा बजारमा प्रयोग भएको र बाँकी रहेको १२ कट्टा जग्गा व्यक्तिले घर टहरा बनाएर लामो समयदेखि भोग चलन गरेका छन् ।

सो क्षेत्रलाई स्थानीय कृषि बजार सञ्चालन गर्ने गत आर्थिक वर्षमा उपमहानगरले ३५ लाख बजेट विनियोजन गरेको थियो तर सार्वजनिक जग्गा खाली गर्न नसकेपछि बजेट फिर्ता भयो । उपमहानगरले चालु आर्थिक वर्षको लागि पनि कृषि हाटबजार र वडा कार्यालयको भवन निमार्ण गर्न ९० लाख बजेट विनियोजन गरेको छ । 

मङ्गलवार वडा कार्यालयले स्थानीय महिला, राजनीतिक दलका प्रतिनिधि, शिक्षक तथा वडा प्रतिनिधिहरूको उपस्थितिमा सार्वजनिक जग्गा खाली गर्ने र स्थानीय हाटबजारलाई व्यवस्थित गर्ने विषयमा छलफल राखेको थियो ।  सो छलफलमा स्थानीयले आफूहरू सार्वजनिक जग्गा खाली गर्न सहमत भएको बताएका हुन् । सो सार्वजनिक जग्गामा घरायसी र व्यावसायिक प्रयोजनका सटरहरु गरी करिब ६० घरधुरी छ भने निजी बोडिङ स्कुल पनि सञ्चालनमा छ ।  

student

स्थानीयवासी ईश्वरराज ढकालले फत्तेपुर बजारको वैज्ञानिक व्यवस्थापन र जीर्ण रहेको वडा कार्यालयको भवन निमार्णको लागि सार्वजनिक जग्गा खाली गर्न स्थानीयहरू सकारात्मक रहेको बताएका छन् । ‘हाम्रो चासो अव सार्वजनिक जग्गा खाली गरेर यसलाई व्यवस्थापन गर्नुपर्छ, सार्वजनिक जग्गा खाली गर्दा घरबार विहीन भएकाहरूलाई  उपमहानगरले बसोबासको व्यवस्थापन गर्नुपर्छ भन्ने हो’ स्थानीयवासी ढकालले भने ‘विगतमा यो जग्गामा संरचना बनाउन डिपिआर, मास्टर प्लान नभएकोले कहाँबाट सुरु गर्ने कसको घर भत्काउने भन्ने विवाद भएर बजेट फिर्ता भयो तर, यस पटक स्थानीयहरू सबै सकारात्मक छन् । ’ 

उपमहानगरको वडा नं १२ मा व्यावसायिक तरकारी खेती, माछा पालन, हुने गर्दछ । सो सार्वजनिक जग्गामा विगत लामो समयदेखि सातामा २ दिन कृषि हाटबजार लाग्ने गर्दछ । यस पटक वडाध्यक्ष श्याम बाबु खाँ चौधरीको पहलमा पुरानो हाटबजारलाई व्यवस्थित गर्न  र सार्वजनिक जग्गा खाली गर्न छलफल कार्यक्रम राखेका थिए । 

नेरा मावि फत्तेपुरका पूर्व शिक्षक तेजनारायण रायले हाटबजारको सार्वजनिक जग्गामा सङ्घसंस्था, व्यापार व्यवसाय र बसोबासको प्रयोजनका लागि बनेका घर टहराहरू गत वर्ष  खाली गर्न नसक्दा बजेट फिर्ता भएकोले यस पटक त्यसो हुन नदिने बताएका छन् । ‘यस पटक सार्वजनिक जग्गा खाली गरेर बजार व्यवस्थापन जसरी पनि हुनुपर्छ भन्ने विषयमा सबैको सहमति छ, कहाँबाट कसरी भत्काउन सुरु गर्ने, ओगटेका जग्गाहरू कसरी खाली गर्ने भन्ने सम्बन्धमा पुनः सर्वदलीय बैठक बसेर काम सुरु गर्न सबै सकारात्मक हुनुहुन्छ’ स्थानीय नेरा मावि फत्तेपुरका शिक्षक रायले भने ‘बजारको व्यवस्थापन गर्दा गाउँको भविष्य बन्छ भने हामी खाली गर्न तयार छौ, तर अतिक्रमण भएको जग्गा कहाँबाट खाली गर्न सुरु गर्ने अहिले प्रस्ट भइसकेको छैन’

bara2

जीतपुर सिमरा उपमहानगरका इन्जिनियर सञ्जीव रुपाखेतीले  उपमहानगरभित्र रहेका कृषि बजारहरूलाई सुन्दर, वातावरणमैत्री र दिगो संरचना बनाएर त्यसबाट दिगो रूपमा राजस्व सङ्कलन गर्ने उपमहानगरको उद्देश्य रहेको बताएका छन् । ‘यो जग्गामा संरचना बनाउन डिपिआर तयार हुदैछ, कृषि हाटबजारलाई अझ व्यवस्थित बनाउने र त्यसबाट दिगो रूपमा राजस्व सङ्कलन गर्ने हाम्रो उद्देश्य हो’ इन्जिनियर रुपाखेतीले भने ‘अतिक्रमण गरेर बसेको संरचनाहरु ढिलोचाडो त खाली गर्नै पर्छ’ । 

bara5

सो सार्वजनिक जग्गामा सटर बनाएर लामो समयदेखि भोग चलन गरेका व्यवसायिकहरुले उपमहानगरलाई हालसम्म कुनै प्रकारको राजस्व नबुझाएको इन्जिनियर रुपाखेतीले जनाएका छन् । 

उपमहानगरभित्र रहेका २४ वटा मध्ये ग्रामीण भेगका केही वडाहरूमा कृषि हाटबजार लाग्ने गर्दछ तर त्यसलाई व्यवस्थित गर्न नसक्दा स्थानीय साना कृषकहरू थोरै तरकारी बोकेर बिक्री गर्न जीतपुर र सिमरा बजार पुग्ने गर्दछन् ।  उपमहानगर वडा नं १२ का वडाध्यक्ष श्याम बाबु खाँ चौधरीले बजारलाई व्यवस्थित गर्न सार्वजनिक जग्गा खाली गर्ने विषयमा पुनः छलफल राखेर उठेका विवादलाई समाधान गर्दै लैजाने बताएका छन् ।

bara3bara4bara6

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप