बिहीबार, ३१ जेठ २०८१
ताजा लोकप्रिय

खर्चै गर्न मन भए के वृद्धाश्रम र बाल आश्रममा तीज मनाउन सकिँदैन ?

शुक्रबार, २२ भदौ २०८०, १२ : ४७
शुक्रबार, २२ भदौ २०८०

महिलाले महिला सशक्तीकरणको बिगुल फुक्नुपर्छ, तर महिलाले नै विकृति जन्माइरहेका छन् भने सो विरुद्ध आवाज उठाउन र कलम चलाउन भने पक्कै छाड्नुहुन्न । 

‘चार वर्ण छत्तीस जातको साझा फूलबारी’ हो हाम्रो राष्ट्र । यहाँका फरक–फरक जातजाति, धर्म अनि मनाइने चाडपर्व हाम्रा गौरव हुन् । संस्कृतिमा धनी राष्ट्र नेपालमा बर्सेनि विभिन्न धार्मिक चाडपर्व मनाइन्छ । यसै क्रममा वर्ष २०८० को तीज पनि नजिकमा आइसकेको छ । हिन्दु नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाडका रूपमा तीजलाई लिन सकिन्छ । यो चाड भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिन मनाइन्छ । तीजमा भगवान् शिवको आराधना गरिनुकासाथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ । विशेषतः विवाहिता महिलाले श्रीमान्को लामो आयु र सुस्वास्थ्यको कामना गर्दै, अविवाहिताले कुशल वरको प्राप्ति, पारिवारिक सद्भाव, एकता र मेलमिलापको मनोकाङ्क्षा राख्दै यो पर्व मनाउँदै आएका छौँ । 

विडम्बना, संस्कृतिका नाममा विकृतिले यसरी जरा गाडिसकेको छ कि तीज पनि कुनै विश्वकप फुटबल प्रतियोगिताभन्दा कम नहुने भइसकेको छ । जसरी विश्वकप फुटबलमा समूह चरण, नकआउट, प्री–क्वार्टरफाइनल, क्वार्टरफाइनल, सेमिफाइनल हुँदै फाइनल हुने गर्दछ, त्यसरी नै तीज पनि विभिन्न चरण पार गर्दै अन्तिम चरणमा पुग्ने गरेको त होइन ? महिना दिन अघिदेखिको तीज लक्षित कार्यक्रमले सांकेतिक रूपमा के दर्शाएको होला ? अब सोच्ने बेला आएको छ । हामीले मनाउँदै आएका विविध चाडपर्व नजिकिँदै गर्दा विकाससँगै मौलाएको विनाश भनेजस्तै विकृति पनि क्रमशः बढ्दै आएको सहजै बोध गर्न सकिन्छ । विगतमा तीजको दरखाने दिन चेलीबेटी लगायत जम्मा भई मिठानमिठो खाई नाचगान गरी हर्षोल्लासका साथ तीज पर्व मनाइन्थ्यो । अचेल खोक्रो आडम्बर र आधुनिकताको प्रभावले हो या देखासिकीले हो, ठुल्ठुला होटल वा पार्टी प्यालेसमा एक महिना अघिदेखि नै दरखाने चलन बढेको छ ।

कुनै समय यस्तो पनि थियो, तीजमा महिला दिदीबहिनी आफ्ना मनका व्यथा–भावना अनि खुसीहरूलाई गीत बनाएर मादल वा तालीको तालमा गाउँथे–नाच्थे । अहिले सहरबजार क्षेत्रमा डिस्को या पार्टी प्यालेसहरूमा हिन्दी–अंग्रेजी गीतमा नाच्दै तीज मनाउन थालिएको छ ।

आधुनिकताको पछि लागेर हामीले हाम्रो संस्कृतिलाई भुल्न पनि हुँदैन । विकृति बढ्दै जाने हो भने एक दिन अवश्य हाम्रा भावी सन्ततीले तीज भनेको महिलाहरू गरगहनामा सजिएर मदिरा पिएर विदेशी गीतमा नाच्ने पर्व रहेछ भनी बुझ्नुपर्ने हुन्छ । गहना, पोसाक, खानपानमा प्रश्न गर्दा नारी स्वतन्त्रता र इच्छाका कुरा आउलान् । यद्यपि स्वतन्त्रता पनि कुन हदसम्मको भन्ने चेतना हुनु जरुरी छ । आफ्नो चाडमा महिलाहरुले आफ्नो आर्थिक हैसियत अनुसार शृंगार गर्नु, गहना लगाउनु, खुसीले नाच्नु, खानु–पिउनु स्वभाविकै हो, तर देखासिकी गर्नु राम्रो होइन । ऋणै काढेर वा अन्य आवश्यक खर्च कटाएर चाडपर्व मनाउनु मूर्खतापूर्ण हुन्छ ।

सम्पन्न परिवारका महिला दिदीबहिनीले ठुल्ठुला होटल वा पार्टी प्यालेसमा तीजको दर खाने कार्यक्रमको आयोजना गर्नुको साटो वृद्धाश्रमका बाआमालाई अनि बालआश्रमका बालबालिकालाई केही लगाउने वा खाने व्यवस्था गरिदिँदा कति धर्म प्राप्ति हुँदो हो ।

यीबाहेक तीज नजिकिने क्रममा बन्ने गीतमा अश्लीलता बढ्दै गएको पाइन्छ । परिवार अनि बालबच्चाका सामु बसेर तीजका गीत सुन्न–हेर्न नसकिने अवस्थाको सिर्जना भइरहेको छ । 

नेपाल अनि यहाँको संस्कृति विश्वमै प्रख्यात छ । यहाँका धार्मिक चाडपर्व मनाउनु अनि जोगाउनु हाम्रो दायित्व हो, आधुनिकता सँगसँगै केही परिवर्तन हुनु पनि जरुरी छ । परिवर्तनको नाममा कुनै पनि चाडको इतिहास र पौराणिक महत्त्वलाई नै नकारात्मक प्रभाव पार्ने काम गर्नुहुन्न जस्तो लाग्छ । ‘घाँटी हेरी हाड निल्नु’ भन्ने भनाइलाई आत्मसात गरी आफ्नो रीतिथिति अनि रहनसहन झल्कने गरी तीज मनाउँदा कति राम्रो हुँदो हो । नेपाली लोकभाकामा नाचेर रमाइलो गर्दा कति जाती हुँदो हो । सम्पन्न परिवारका महिला दिदीबहिनीले ठुल्ठुला होटल वा पार्टी प्यालेसमा तीजको दर खाने कार्यक्रमको आयोजना गर्नुको साटो वृद्धाश्रमका बाआमालाई अनि बालआश्रमका बालबालिकालाई केही लगाउने वा खाने व्यवस्था गरिदिँदा कति धर्म प्राप्ति हुँदो हो । 

यहाँ सबैले खर्चिलो ढंगले तीज मनाए भनेको होइन, केहीको कुरा गरिएको हो । यद्यपि देखासिकी बढेकोलाई नकार्न सकिँदैन । यहाँनेर प्रश्न यो हो कि आफ्नो सभ्यता र संस्कृतिलाई भुलेर हामीले कसरी तीज मनाएको मान्न सक्छौँ ? तीज मनाऔँ तर नेपालीपन, सभ्यता र संस्कार बिर्सिएर होइन, संस्कृतिलाई जोगाऔँ, विकृति र विसंगतिलाई त्यागौँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रविना महर्जन
रविना महर्जन
लेखकबाट थप