बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
निजामती सेवा पुरस्कार

पुरस्कार सिफारिस समितिको औचित्यमाथि प्रश्न, सर्वोत्कृष्ट कर्मचारी भेटिएन !

सबै दललाई खुसी पार्ने मेलो :विज्ञ
शुक्रबार, २२ भदौ २०८०, १७ : ०५
शुक्रबार, २२ भदौ २०८०

काठमाडौँ । सरकारले निजामती सेवा दिवसका दिन बर्सेनि कर्मचारीहरुलाई पुरस्कृत गर्दै आएको छ । पूर्वनिर्धारित कार्यक्रम अनुसार शुक्रबार पनि ४० जना विभिन्न कार्यालयमा काम गर्ने कर्मचारीलाई पुरस्कृत गरियो ।

तर, यतिबेला बाँडिएको पुरस्कारको औचित्यमाथि प्रश्न उठेको छ । शुक्रबार बाँडिएको पुरस्कारमा धेरै संघकै कर्मचारीमात्रै अटाएका छन् । ७ सय ५३ स्थानीय तहमध्ये दुई वटा स्थानीय तहमा काम गरेका दुई जना कर्मचारीलाई मात्रै पुरस्कृत गरिएको छ । पुरस्कृत हुने स्थानीय तहका कर्मचारीको सूचीमा रामग्राम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्का र ठूलोभेरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल छन् । दुवै उपसचिव हुन् ।

पुरस्कार सिफारिस समितिले पुरस्कारका लागि दुर्गमका गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत (शाखा अधिकृत) नभेटेकै हो वा उनीहरु अयोग्य भएका हुन् ? यतिबेला धेरैले टिकाटिप्पणी गरेका छन् ।

मुख्यसचिवको संयोजकत्वमा पुरस्कार सिफारिस समिति छ । उक्त समितिमा कानुन मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र गृह मन्त्रालयका सचिवसँगै पूर्व मुख्यसचिव सदस्य रहने छन् ।

सोही सिफारिस समितिले दिएको नाम मन्त्रिपरिषद्बाट निर्णय भएपछि छनौटमा परेका कर्मचारीलाई सरकारले पुरस्कार वितरण गर्छ । यसपटक १० जना उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कार वितरण गरिएको छ ।

दुई लाख रुपैयाँसहित एक जनालाई सर्वोत्कृष्ट, एक लाख रुपैयाँसहित दश जनालाई उत्कृष्ट र ५० हजार रुपैयाँसहित ३० जनालाई निजामती सेवा पुस्कार दिइन्छ । देशको कुल राजस्वको ८० प्रतिशत उठाउने भन्सार कार्यालयका एक जना कर्मचारी पनि पुरस्कार पाउने सूचीमा अटाएको देखिएन । पुरस्कार सिफारिस समितिले ध्यान नपुर्‍याएको हो वा उनीहरु पुरस्कारका लागि अयोग्य भएका हुन् भन्ने प्रश्न स्वाभाविक रुपमा उठेको छ ।

पुरस्कार सिफारिस समितिको सदस्य संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रतिनिधि हुन्छन् । सोही मन्त्रालयका उपसचिव कविन्द्र नेपाल उत्कृष्ट निजामती सेवा पुरस्कारको सूचीमा अटाएका छन् ।

पुरस्कार सिफारिस समितिले उत्कृष्ट निजामती कर्मचारीमा संघका मात्रै ५ जना र निजामती सेवा पुरस्कारका लागि संघका मात्रै २० जनाको नाम सिफारिस गरेको देखियो । जबकि दुरदराजमा काम गरेका कर्मचारीको कामको मूल्याङ्कन भन्दा पनि कार्यविधिमा अटाउने योग्यतालाई मात्रै हेर्दा सक्षम र इमानदार कर्मचारी छुटेको विज्ञहरु बताउँछन् ।

उत्कृष्ट निजामती कर्मचारीमा संघका मात्रै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव बुद्ध बहादुर गुरुङ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव कविन्द्र नेपाल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव राम प्रसाद लम्साल, राष्ट्रिय तथ्याङ्क कार्यालय थापाथलीका निर्देशक ढुण्डीराज लामिछाने र अख्तियार दुरुपयोग अनुसन्धान अयोगको मुख्य कार्यालय टंगालका कम्प्युटर अधिकृत सुनिल कुमार केसी पुरस्कृत भएका छन् ।

त्यस्तै निजामती सेवा पुरस्कार पाउने संघका कर्मचारीहरुमा अर्थ मन्त्रालयका शाखा अधिकृत युक्त प्रसाद सुवेदी, जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत ठाकुर प्रसाद भट्टराई, जिल्ला सरकारी वकिल कार्यालय ललितपुरका जिल्ला न्यायाधिवक्ता शुशिला ज्ञवाली, सडक विभाग काठमाडौंका सिनियर डिभिजनल इन्जिनियर शोभा गिरी, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका इन्जिनियर किशोर पन्थी, लोक सेवा आयोग काठमाडौंका उपसचिव नारायण प्रसाद ज्ञवाली, राहदानी विभाग त्रिपुरेश्वरका उपसचिव डा.डमरुबल्लभ पौडेल छन् ।

यस्तै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका उपसचिव चुडाराज सापकोटा, राष्ट्रिय किताबखाना हरिहरभवन ललितपुरका शाखा अधिकृत नवराज तामाङ व्लोन, सहरी खानेपानी तथा सरसफाई आयोजना पानीपोखरीका इञ्जिनियर किशोर पन्थी, भेटेरिनरी गुणस्तर तथा औषधि नियमन प्रयोगशाला त्रिपुरेश्वरका पशु चिकित्सक शशीधर सेढाई, राष्ट्रिय अभिलेखालय रामसाह पथका अनुसन्धान अधिकृत मनिता न्यौपाने, उपराष्ट्रपतिको कार्यालयका नायब सुब्बा देवकला अर्याल, राष्ट्रिय योजना आयोगका कार्यालय सहयोगी शान्ता महर्जन पनि पुरस्कृत भएका छन् ।

पुरस्कृत हुनेमा कान्ति बाल अस्पताल महाराजगञ्जका प्रमुख अस्पताल नर्सिङ प्रशासक डा. रोशनी लक्ष्मी तुईतुई, संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालय काठमाडौंका सुपरिटेन्डेन्ट अफ इन्जिनियर कुमार प्रसाद घिमिरे, श्रम तथा रोजगार कार्यालय काठमाडौंका वरिष्ठ कारखाना निरीक्षक सुजन जोजिजु, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहलका निर्देशक होमनाथ भट्टराई र वनस्पति विभाग थापाथलीका वरिष्ठ योजना अधिकृत संगीता स्वाँर छन् ।

कर्मचारीविज्ञ काशीराज दाहालका अनुसार पुरस्कार सिफारिस समितिको ध्यान केन्द्रमुखी भएकाले राम्रो काम गरेर बसेका दुर्गमका कर्मचारी सिफारिसमा नपरेका हुन् । पुरस्कार दिने विषय अन्तिममा आएर मात्रै मूल्याङ्कन गर्दा पनि राम्रा कर्मचारी ओझेलमा पर्ने गरेको ठम्याई दाहालको छ ।

‘अर्को वर्षमा दिइने पुरस्कारलाई लिएर कर्मचारीको मूल्याङ्कन अहिलेदेखि नै गर्नुपर्छ,’ दाहालले रातोपाटीसँग भने, ‘हरेक पालिकामा गएर वा अन्य कार्यालयमा गएर राम्रो काम गर्ने को छन् भनेर अध्ययन गर्ने मेकानिजम छैन । हाम्रोमा महिना दिन अघि लिष्ट बोकेर बस्ने अनि फलानुलाई दिनुपर्‍यो भनेर सिफारिस गर्छौं । यो राम्रो परिपाटी होइन ।’

उनले पुरस्कार सिफारिस भएका कर्मचारीको ‘पब्लिक अडिट’ हुन जरुरी रहेको बताए । कर्मचारीको बस्तुगत मूल्याङ्कन नगरी पुरस्कार बाँड्दा तथर्दमात्रै हुने उनको भनाइ छ ।

राम्रो काम गरेका कर्मचारीको उचित मूल्याङ्कन नहुने र भनसुनकै अधारमा पुरस्कार वितरण गर्दा कर्मचारीको मनोबल झन खस्कने दाहाल बताउँछन् ।

निजामती कर्मचारीले राम्रो काम नगरेको भन्ने आरोप लागिरहेका बेला केही व्यक्तिलाई भाग पुर्‍याउने उद्देश्यले मात्रै पुरस्कार वितरण गर्दा त्यसले दिने सन्देशका बारेमा सरकार संवेदनशील र जवाफदेही हुनुपर्ने बताउँछन् पूर्व सचिव गोपी मैनाली ।

उनले धेरै संघका कर्मचारीलाई मात्रै पुरस्कृत गरिएकाले दुर्गममा र स्थानीय तहमा काम गरेका कर्मचारीको मनोबलमा असर गर्ने बताए । ‘पुरस्कार जसले पायो, उसैले गर्वबोध गर्नुपर्छ तर, गर्व गर्ने अवस्था छैन,’ मैनालीले रातोपाटीसँग भने, ‘जसले पुरस्कार पायो, कसरी पाइस् भनेर सोध्यो भने उसैलाई थाहा नहुने अवस्था छ । भागवण्डा मिलाउने हिसावले दिएको पुरस्कार कर्मकाण्डी मात्रै हो ।’

कतिपय कर्मचारीले गर्नैपर्ने काम गर्दा पनि पुरस्कार दिने कि साँच्चिकै उल्लेखनीय काम गरेका कर्मचारीलाई पुरस्कार दिने भन्ने विषयमा सरकार स्पष्ट हुन जरुरी रहेको मैनाली बताउँछन् । ट्रेड युनियन र राजनीतिक आस्थाका आधारमा, समावेशीको अधारमा पुरस्कार दिने भएकाले निजामती सेवा पुरस्कार राम्रो व्यक्तिलाई नदिइएको ठम्याई मैनालीले गरे । उनले पुरस्कारको वैधता प्रमाणित गर्ने अवस्था नरहेको बताए ।

मुख्य सचिव डा. बैकुण्ठ अर्यालले पुरस्कृत कर्मचारीको सूची मापदण्ड र विभिन्न आधारलाई टेकेर तयार पारिएको बताए । उनले भने, ‘सबै कर्मचारीले राम्रै काम गरेका छन्, राम्रामध्येबाट पनि उत्कृष्ट र पुरस्कृत गर्न मिल्ने छान्नुपर्दा त्यसका विभिन्न आधार छन्, ती आधारभित्र परेकालाई पुरस्कृत गरिएको हो ।’

संघका कर्मचारीमात्रैलाई पुरस्कृत गरियो नि भन्ने प्रश्नमा मुख्य सचिव अर्यालले भने, ‘प्रदेशले पनि पुरस्कार दिन थालेका कारण प्रदेशतिर नगएको हो, संघका पनि राम्रै काम गरेकालाई मात्रै पुरस्कृत गरेका हौँ । यसलाई सकारात्मक हिसाबले लिनुपर्छ ।’

373464896_591325412977315_488665351937545132_n

सर्वोत्कृष्ट कर्मचारी नभेटेकै हो ?

डेढ लाखभन्दा बढी निजामती कर्मचारीको भिडमा सरकारले एक जना पनि सर्वोत्कृष्ट कर्मचारी भेट्टाउन सकेन । दुई लाख राशीको उक्त पुरस्कार यो पटक पनि कुनै पनि कर्मचारीले पाउने हैसियत नराख्दा कर्मचारीको कार्यशैली र कामको प्रभावकारितामाथि प्रश्न उठेको छ ।

मुख्यसचिव अर्यालले सर्वोत्कृष्ट कर्मचारी नभेट्टाएको नभई पुरस्कार पाउने मापदण्डभित्र नपरेको भनेर बुझ्नुपर्ने बताए । उनले भने, ‘कर्मचारीहरु सर्वोत्कृष्ट छन्, तर पुरस्कार दिँदा जुन मापदण्ड र आधार छन्, तिनलाई टेकेर दिनुपर्ने हुँदा कोही पनि त्यो अधारभित्र परेनन्, त्यसैले कसैलाई पनि सर्वोत्कृष्ट पुरस्कार नदिएको भनेर बुझ्नुपर्‍यो ।’

सर्वोत्कृष्ट निजामती सेवा पुरस्कारका लागि आधारहरु

– निजामती सेवाको स्थायी पदमा पन्ध्र वर्ष वा सो भन्दा बढी अवधि सेवा गरेको ।

– पछिल्लो पाँच वर्षको कार्यसम्पादन मूल्याङ्कनमा शत प्रतिशत अंक प्राप्त गरेको ।

– पछिल्लो १५ वर्षमा कुनै पनि विभागीय सजाय नपाएको ।

– पुरस्कारका लागि सिफारिस हुने वर्षमा निजको नाममा व्यक्तिगत बेरुजु कायम नदेखिएको ।

– सम्पत्ति विवरण नियमित रुपमा पेस गरेको ।

– असाधारण बिदा लिएको भए त्यस्तो बिदापछि हाजिर भएको अवधि कम्तीमा दुई वर्ष पूरा भएको ।

– पुरस्कारका लागि सिफारिस हुने वर्ष र त्यसको अघिल्लो वर्षमा अध्ययन बिदा नलिएको ।

– पछिल्लो पाँच वर्षभित्र गयल कट्टीमा नपरेको ।

– व्यवस्थापन परीक्षण भएकोमा पुरस्कारको लागि सिफारिस हुने वर्षमा निजको नाममा प्रशासनिक बेरुजु नदेखिएको (१०) प्रचलित कानुन बमोजिम बरबुझारथ गरेको ।

उत्कृष्ट निजामती सेवा पुरस्कारका लागि आधारहरु

– निजामती सेवाको स्थायी पदमा दश वर्ष वा सो भन्दा बढी अवधि सेवा गरेको ।

– पछिल्लो पाँच वर्षको कार्यसम्पादन मूल्याङ्कनमा शत प्रतिशत अंक प्राप्त गरेको ।

– पछिल्लो दश वर्षमा कुनै पनि विभागीय सजाय नपाएको ।

– पुरस्कारका लागि सिफारिस हुने वर्षमा निजको नाममा व्यक्तिगत बेरुजु कायम नदेखिएको ।

– सम्पत्ति विवरण नियमित रुपमा पेस गरेको ।

– असाधारण बिदा लिएको भए त्यस्तो बिदापछि हाजिर भएको अवधि कम्तीमा दुई वर्ष पूरा भएको ।

– पुरस्कारको लागि सिफारिस हुने वर्ष र त्यसको अघिल्लो वर्षमा अध्ययन बिदा नलिएको ।

– पछिल्लो तीन वर्षभित्र गयल कट्टीमा नपरेको ।

– व्यवस्थापन परीक्षण भएकोमा पुरस्कारको लागि सिफारिस हुने वर्षमा निजको नाममा प्रशासनिक बेरुजु नदेखिएको ।

– प्रचलित कानुन बमोजिम बरबुझारथ गरेको ।

निजामती सेवा पुरस्कारका लागि आधारहरु

– निजामती सेवाको स्थायी पदमा पाँच वर्ष वा सोभन्दा बढी अवधि सेवा गरेको ।

– पछिल्लो पाँच वर्षमा कार्यसम्पादन मूल्याङ्कनमा शत प्रतिशत अंक प्राप्त गरेको ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास गोतामे
सुवास गोतामे
लेखकबाट थप