शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय
कोशी प्रदेश

कांग्रेस नेता डा. शेखर कोइरालाको ‘डबल स्ट्याण्डर्ड ’

मुख्यमन्त्री चयन ‘अनैतिक’, मन्त्री पठाउनु ‘नैतिक’
बिहीबार, २८ भदौ २०८०, ०७ : ४२
बिहीबार, २८ भदौ २०८०

विराटनगर । नेपाली कांग्रेसमा डा. शेखर कोइराला संस्थापन इतर पक्षका नेता हुन् । उनी पार्टी सभापति शेरबहादुर देउवासँग सभापतिमा पराजित भएका थिए । उनी पराजित हुँदा उनकै प्यानलबाट उपसभापतिमा उम्मेदवार बनेका धनराज गुरुङ, महामन्त्रीमा गगन थापालगायत निर्वाचित भए ।

केन्द्रमा देखिएको गुटबन्दीकै स्वरुपमा कोशी प्रदेशमा पनि कांग्रेसको प्रदेश सभापतिमा कोइराला पक्षबाट गुरुराज घिमिरे र संस्थापन पक्षबाट उद्धव थापा उम्मेदवार बने । सभापतिमा ३ मतले उद्धव थापा विजयी भए । त्यही गुट यथावत रहँदा कोशी प्रदेशको दोस्रो प्रदेशसभामा कांग्रेस संसदीय दलको नेतामा पनि कोइराला पक्षबाट केदार कार्की प्रतिस्पर्धामा उत्रिए भने संस्थापन पक्षबाट उनै उद्धव थापा उम्मेदवार बने ।

गुट र समूहगत हिसावले नेता कृष्णप्रसाद सिटौला पक्षका भए पनि थापालाई देउवा पक्षले पूरै साथ दियो । २९ सदस्यीय संसदीय दलमा १८ सदस्यको मत पाएर उनै थापा दलको नेता चुनिए । दलको नेताको प्रतिस्पर्धामा रहेका कार्कीले ९ मत ल्याए भने अर्का नेता अमृत अर्यालले २ मत पाए ।

कोशी प्रदेशको संसदीय दलमा अहिले पनि सोही गुट कायमै छ । कांग्रेसमा पनि सोही गुट (संस्थापन पक्ष र इतर पक्ष) क्रियाशील छ । तर, कोशी प्रदेशमा कांग्रेस नेता कोइरालाको भनाइ र गराइमा भने दोहोरोपन देखिन थालेको छ ।

Sekhar

नेता कोइरालाले गठबन्धनको तर्फबाट कांग्रेस नेता उद्धव थापाले सभामुखसहितलाई समावेश गरेर प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीको दाबी प्रस्तुत गरेपछि असन्तुष्टि व्यक्त गर्दै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखे । ‘सभामुख आफैँले हस्ताक्षर गरेर सरकार गठनमा समर्थन रहेको कुरा लिखित रुपमा पेस गरेको अवस्था हो भने यस्तो कार्य संवैधानिक सर्वोच्चता र लोकतान्त्रिक संसदीय पद्धतिको सिद्धान्त विपरीत हुन जान्छ । सभामुखको संवैधानिक भूमिका भनेको व्यवस्थापिका संसदको कार्य सञ्चालन गर्नु र अध्यक्षता गर्नु हो । .......कार्यपालिका गठन, विघटन र समर्थनमा सक्रिय रही हस्ताक्षर गर्नु संसदीय लोकतन्त्रको मर्यादा, अभ्यास र कानुनी शासनको विपरीत हुन जान्छ,’ उनले लेखेको स्टाटसमा उल्लेख छ ।

तर, कोइरालाले उक्त स्टाटस दुई दिनमै भुले । मुख्यमन्त्रीमा नियुक्ति भएका थापालाई उनले आफ्नो समूहका रामकुमार खत्रीलाई मन्त्री बनाउन दबाब दिए । अर्थात् संवैधानिक सर्वोच्चताको विपरीत बनेको सरकारमा उनले आफ्नो भाग खोजे । उनको यो चरित्र परस्पर विरोधी छ ।

उद्धव थापा नेतृत्वको सरकार सर्वोच्च अदालतको आदेशबाट विघटन भएपछि पनि कोशी प्रदेशमा भइरहेको गतिविधिको उनी रमिते बने । कोर्ष करेक्सन गर्ने गरी उनले कुनै गतिविधि गरेनन् । दोस्रो पटक मुख्यमन्त्री भएका थापाले विश्वासको मत लिने क्रममा प्रदेशसभामा अध्यक्षता गरिरहेका सांसद इस्राइल मन्सुरीलाई मतदानमा सहभागी गराए । त्यो विषय पनि असंवैधानिक रहेको भन्दै अभिव्यक्ति दिएका कोइरालाले सरकार पुनः ढले पनि चुपचाप थापालाई स्वीकार गरेर बसे । त्यतिमात्रै होइन, उक्त सरकारमा पनि आफ्नो गुट (समूह)को भाग कोइरालाले खोजेका थिए । यद्यपि उनले भाग नपाउँदै सरकारबाट थापा पदमुक्त भए ।

त्यही विषयमा नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलमा दलका नेता उद्धव थापालाई राजीनामा दिन वा मार्ग प्रशस्त गर्न दबाब सुरु भएको छ ।

संविधानको धारा १६८ को उपधारा (२) अनुसार सरकार गठन प्रक्रियामा थापाले अपनाएको तरिका र विधिलाई अदालतले खारेज गरेको र त्यसले कांग्रेस तथा गठबन्धनको बदनाम भएको भन्दै उनको विकल्प खोजी सुरु भएको हो ।

उद्धव थापाको विकल्प खोज्नुपर्छ भन्ने पात्र उनै कोइरालाका विश्वासपात्र मानिएका केदार कार्की हुन् । ‘उहाँले गठबन्धनको नेतृत्व पनि गर्न सक्नुभएन र दलको नेताको जस्तो भूमिका निर्वाह पनि गर्न सक्नुभएन, उहाँले अब मार्ग प्रशस्त गर्नुपर्छ,’ कार्की भन्छन् ।

तर, कोइराला भने मौनमात्रै छैनन्, दुई–दुई पटक सर्वोच्च अदालतले डण्डा बर्साएको र कांग्रेसको प्रजातान्त्रिक मूल्य, मान्यता र संवैधानिक सर्वोच्चताको विपरीत हिँडेका थापालाई दलको नेताबाट हटाउनु पर्छ भन्ने आफ्नै गुट (समूह)को लाइनमा सहमत देखिएका छैनन् ।

महामन्त्री विश्वप्रकाश शर्मा पनि पार्टी सभापति शेरबहादुर देउवा र नेता कृष्ण सिटौलाको हठका कारण कोशी प्रदेशमा सिर्जित समस्या समाधानमा पहल लिन डराइरहेका छन् ।

‘कांग्रेसको इतिहास र परम्परामा दलको नेता नै मुख्यमन्त्री हुन्छन् । अहिले परिवर्तन गर्न खोज्नु हुँदैन,’ उनले केही दिन अगाडिसम्म भनेका छन् ।

यो मामिलामा कोइरालामात्रै होइन, संवैधानिक सर्वोच्चता, विधिको शासन र लोकतन्त्रको कुरा गरिरहने कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा पनि मौन छन् । पार्टीको विधान मिचिएको भन्दै पटकपटक सभापति शेरबहादुर देउवासँग लड्न–भिड्न तयार भइरहेका महामन्त्री थापा कोशी प्रदेशमा दुईदुई पटक गम्भीर खालका असंवैधानिक काम हुँदा मौन बसेर त्यसलाई समर्थन गरिरहेका छन् ।

महामन्त्री विश्वप्रकाश शर्मा पनि पार्टी सभापति शेरबहादुर देउवा र नेता कृष्ण सिटौलाको हठका कारण कोशी प्रदेशमा सिर्जित समस्या समाधानमा पहल लिन डराइरहेका छन् ।

डा. शेखर कोइरालाले ‘डबल स्ट्याण्ड’ देखाएको अर्को घटना पनि छ । कोइराला र महामन्त्री थापा यसअघि एउटै प्यानलबाट महाधिवेशनमा सभापति र महामन्त्री भएर लडेका थिए । कोइराला–थापाको गुट कायमै रहेको कतिपयले बताइरहे पनि अहिले ‘कोशी’ नामको विषयमा पनि विवाद देखिएको छ ।

डा. शेखर कोइरालाले नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा पक्राउ परेका सुनिल शर्मालाई पनि बोक्ने गरेका छन् । कोइरालाले आफ्नो गुटमा रहेकै कारण प्रहरीले अनुसन्धानको दायरामा ल्याएका शर्माको खुलेआम बचाउमा उत्रिए । जबकि कांग्रेसका उपसभापति बालकृष्ण खाण नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्दा भने कोइराला मौन रहे ।

महामन्त्री थापाले केही दिन अगाडि पूर्वी नेपालको इलाम र झापा जिल्ला घुमेर काठमाडौंमा पहिचान र किराँत सभ्यताको कुरा सम्बोधन गर्नुपर्ने आशयको अभिव्यक्ति दिए । तर, कोइराला भने प्रधानमन्त्री प्रचण्डले पहिचानको कुरा गरेर द्वन्द्व सिर्जना गरेको अभिव्यक्ति दिँदै हिँडेका छन् । उनले न त आफ्नै पार्टीका महामन्त्री थापाले भनेको कुराको खण्डन गर्न सकेका छन्, न कोशी प्रदेशमा देखा परेको पहिचानको विषयलाई समाधान गर्ने कुनै योजना नै अगाडि सारेका छन् ।

कोइरालाले नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा पक्राउ परेका सुनिल शर्मालाई पनि बोक्ने गरेका छन् । कोइरालाले आफ्नो गुटमा रहेकै कारण प्रहरीले अनुसन्धानको दायरामा ल्याएका शर्माको खुलेआम बचाउमा उत्रिए । जबकि कांग्रेस नेता बालकृष्ण खाण नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्दा भने कोइराला मौन रहे ।

डा. कोइरालाको यो चरित्र दोहोरो भएको स्नातकोत्तर क्याम्पस विराटनगरका पूर्व प्रमुख डाक्टर मनोज राउत बताउँछन् ।

‘संसदीय निर्वाचनको समयमा पनि उनले गठबन्धनबाटै चुनाव लडे । आफू एक्लै लड्ने कतै भनेनन् । चुनाव जितेपछि चाहिँ म पहिलेदेखि नै प्रस्ट थिएँ– गठबन्धन गर्नु हुँदैन थियो भन्दै हिँडे । उनी आफू बौद्धिक मान्छे हुन् । तर व्यवहार बौद्धिक जस्तो भएन,’ राउत भन्छन्, ‘सुनिल शर्माको नक्कली सर्टिफिकेटको विषयमा पनि शेखर कोइरालाले छानबिन गर भन्नुपर्थ्यो । तर, उनले त्यो भनेनन् । एउटा सम्भावना बोकेको मान्छेले दोहोरो चरित्र देखाउनु राम्रो होइन । त्यसले उनलाई फाइदा गर्दैन ।’

डा. कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई थर्काउने बेलामा ओलीको भाषा पनि बोल्ने गरेको राउत सुनाउँछन् । ‘जबजब देउवा थर्काउन मन लाग्छ, कोइरालाले ओलीको भाषा बोल्छन् । तत्कालीन प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि मध्यावधि मध्यावधि भन्दै हिँडेका होइनन् ?’ राउतले भने, ‘त्यसबेला पनि गगन थापाले संसद विघटन गलत हो भन्दै हिँडेका थिए । डा. शेखर कोइराला पनि अर्को डा. बाबुराम भट्टराई बन्ने भए ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप