शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

बजेटको अभावमा शिक्षा मन्त्रालयले बाँड्ने विभूषण रोकियो

आइतबार, ३१ भदौ २०८०, १७ : १४
आइतबार, ३१ भदौ २०८०

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो वर्ष विभूषण तथा पदक नबाँढ्ने भएको छ । राष्ट्रिय शिक्षा दिवसको अवसरमा हरेक वर्ष प्रदान गर्दै आएको विभूषण यो वर्ष रोकिएको हो ।  विभूषणको घोषणा भने गरिनेछ । तर, प्रदान नगरिने मन्त्रालयले जनाएको छ । शिक्षा सचिव सुरेश अधिकारीले बजेटको अभावमा यो वर्ष विभूषण वितरणको कार्य स्थगित गरिएको बताए । 

समयमै बजेटको व्यवस्था हुन नसक्दा समस्या भएको उनको भनाई छ ।  ‘पहिला शिक्षा दिवस फागुनमा मनाइन्थ्यो । अहिले असोज २ गते मनाइन्छ । यो वर्ष शिक्षा विभूषणको लागि भनेर बजेटको व्यवस्था नै नभएको रहेछ । बजेट नभएपछि हामीले बल्ल अर्थ मन्त्रालयबाट बजेट माग गरेका छौँ । भदौ लागेपछि बल्ल प्राप्त गरेका छौँ ।’ उनले भने ।   

ढिला गरी बजेटको सुनिश्चितता हुँदा शिक्षा दिवसको अवसरमा विभूषण वितरण गर्न नसकिने सचिव अधिकारीले बताए । विभूषण बनाउने संस्थाहरू यसका लागि कम्तीमा तीन महिनाको समय चाहिने बताएका छन् । विभूषण तयार भएपछि अर्को उपयुक्त समयमा वितरण गरिने उनको भनाई छ ।  

यसका लागि अर्थ मन्त्रालयबाट ४ करोड रुपैयाँ प्राप्त भएको छ । उक्त रकमबाटै विभूषण बनाउने, कार्यक्रम गर्ने लगायतका सबै खर्च व्यवस्थापन गर्नुपर्ने हुन्छ । तर, उक्त रकममा अझै १ करोड जति कम हुने सचिव अधिकारीले बताए । 

यो वर्ष ९६२ जनालाई विभिन्न विभूषण प्रदान गर्ने कार्यक्रम रहेको छ । जसमा नेपाल विद्याभूषण ‘क’ श्रेणीको ७९० जनालाई, नेपाल विद्याभूषण ‘ख’ श्रेणीको ७१ जनालाई र ‘ग’ श्रेणीको ४४ जनालाई प्रदान गरिने सचिव अधिकारीले बताए । 

त्यस्तै नेपाल छात्रा विद्या पदक ‘क’ श्रेणीको २८ जनालाई, नेपाल छात्रा विद्या पदक ‘ख’ श्रेणी १८ जना र नेपाल प्रविधि विद्याभूषण ११ जनालाई गरेर ९६२ जनालाई विभूषण दिन लागिएको हो ।  यसका साथ साथै शिक्षा क्षेत्रमा योगदान गरेका अन्य व्यक्तिहरूलाई समेत सम्मान गर्न लागिएको उनको भनाई छ ।

विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, समाजसेवीहरू, सार्वजनिक शिक्षाको क्षेत्रमा काम गर्ने व्यक्तिहरूलाई समेत सम्मान गर्न लागिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप