बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

बालेन, सामाजिक सञ्जाल र बहकिएको जनमत

मङ्गलबार, ०२ असोज २०८०, १० : २३
मङ्गलबार, ०२ असोज २०८०

दुई साताअघि (भदौ २३) को साँझ काठमाडौँ महानगरपालिकाको गाडीलाई ट्राफिक प्रहरीले सोधपुछ गर्‍यो । गाडीमा बालेन पत्नी सवार थिइन् । बिदाको दिन विशेष काम परे इजाजत लिएर मात्र गाडी गुडाउन पाइन्छ । यसबाहेक सरकारी सवारी साधनहरू चलाउन रोक लगाइएको छ । सार्वजनिक बिदाको दिन प्रहरीले जुनसुकै र जोकोही चढेको गाडीलाई पनि निगरानीमा राख्ने गर्छ । सोधपुछ गर्नु र प्रक्रिया नपुगेका गाडी कब्जा गर्छ । यो प्रहरीको नियमित कर्तव्य हो ।

आफ्नी पत्नी चढेको गाडीमाथि यसरी सोधपुछ गरिएपछि मेयर बालेनको पारो उत्कर्षमा पुग्यो । यो उनको अशिष्ट र असभ्य प्रतिक्रियाबाट स्पष्ट हुन्छ । मेयर बालेनले सरकारले यस्तै रवैया देखाइरह्यो भने सिंहदरबारमा आगो लगाइदिने धम्की दिए । त्यति मात्र होइन उनले सरकारलाई चोरको संज्ञा समेत दिए । 

यो घटना सामान्य भए पनि बालेनको प्रतिक्रिया भने गम्भीर छ । यता सामाजिक सञ्जालको तरङ्गमा पनि यो ठुलै मुद्दा बन्यो । मेयरको प्रतिक्रिया शोभनीय नभए पनि सञ्जालमा बालेनप्रतिको सदाशयता बढी देखिन्छ । बालेनले ठिक गरे भन्ने मत हाबी छ । समस्या कसको समर्थक बढी र घटी भन्ने होइन । समस्या भनेको हामी कस्तो संस्कृतिसहितको  समाज निर्माण गर्दैछौँ भन्ने हो । हामीले समाज कस्तो बनायौँ भन्ने हो । भावी सन्ततिलाई कुन खालको शिक्षा दिँदै छौँ भन्ने हो अर्थात् जुनसुकै कोण र स्वार्थबाट विश्लेषण गर्दा पनि मेयर बालेनको प्रतिक्रियालाई सभ्य र परिपक्व राजनीतिक अभिव्यक्ति मान्न सकिन्न । यद्यपि सञ्जालजन्य प्रतिक्रियालाई नियाल्दा बालेनले सही गरे भन्ने मत अत्याधिक छ । यसलाई २१औँ शताब्दीको विडम्बना भन्नु पर्छ ।

वैचारिक ज्ञान, अनुशासन र विवेकको अभाव

पछिल्लो समय नेपाली समाजलाई निश्चित राजनीतिक वैचारिक दृष्टिकोणले नेतृत्व गरिरहेको देखिँदैन । समाज यसरी विचारद्वारा निर्देशित नभएपछि यो जता पनि बहकिने र बरालिने गर्छ । यस्तो बहकिएको समाजमा आम धारणा र तर्क पनि बरालिने गर्छ । यसमा सत्य, तथ्य, वस्तुवादी र सही अनि असत्य, अवस्तुवादी र गलत भन्ने न्यूनतम चेतना हुँदैन । वस्तुतः समाजलाई राजनीतिले कमान्ड गरिरहेको हुँदैन । हरेक व्यक्ति, समुदाय र वस्तु निश्चित राजनीतिक आदर्श र नीतिहरूको लगामबाट टाढा पुगिसकेको हुन्छ । उल्टै राजनीतिक पार्टी, नेता र कार्यकर्ताप्रति बनिबनाउ नकरात्मक आमधारणा बनाइएको हुन्छ । राम्रो नराम्रो, सही र गलत अनि अग्रगामी र पश्चगामी सबैलाई एउटै फुर्लुङमा कोच्ने गरिन्छ । समर्थन र विरोध वा गाली र प्रशंसा नितान्त मनोगत हुने गर्छ । टिप्पणी र आलोचनाहरू वस्तुवादी हुँदैन । यो स्वार्थ, माहौल, परिवेश र अवसरवादी दृष्टिकोणद्वारा निर्धारित हुने गर्छ । 

यस्तो वस्तुगत धरातलमा सम्पूर्ण गतिविधि निश्चित उद्देश्य र भिजनद्वारा निर्देशित हुँदैन । त्यहाँ वैचारिक अनुशासन, विवेक र परिपक्वता पाउन सकिन्न । सुझबुझ र चिन्तन मनन गरिँदैन । समर्थन र विरोधमा कि त निरपेक्ष स्वार्थ मिलेको हुन्छ कि त माहौल, मिडिया स्टन्टबाजी र हल्लाखल्लाको दुष्प्रभाव परिरहेको हुन्छ । सही र गलत विचमा स्पष्ट लक्ष्मण रेखाहरू हुँदैन । व्यक्ति वा वस्तुप्रति द्वन्द्वात्मक दृष्टिकोण राखिँदैन । न्यूनतम आलोचनात्मक मान्यता अङ्गीकार गरिँदैन । निश्चित राजनीतिक विचारद्वारा निर्देशित समाजमा अर्थराजनीतिक अनुशासनको मापदण्ड निर्धारण गरिएको हुन्छ । विवेक, आवेग र संवेग बारे प्रशिक्षित, सुशिक्षित वा स्कुलिङ गरिएको हुन्छ । खुला, स्पष्ट र पारदर्शितालाई बटम लाइन बनाइएको हुन्छ । यसरी राजनीतिक वैचारिकीले नेतृत्व नगरेको समाजमा सही र गलत पहिचान नै नगरी नागरिकहरू पछिपछि दगुर्ने गर्छ । यसैको दुष्परिणाम बालेनको असभ्य बोलीलाई समेत सही भन्ने जनमत बढी देखिन्छ ।

सञ्जालजन्य शीघ्र प्रतिक्रिया

     पछिल्लो समय हाम्रो समाज अलि बढी नै तरङ्गित हुन थालेको छ । यस्तो अति भड्काउ र बहकाउ जताबाट नाप्दा तौलदा पनि सही हुँदैन वा परिणाममुखी हुँदैन । ओछ्यानमा सुतेर वा पलङमा उत्तानो परेर सामाजिक सञ्जाल खोलेपछि प्राप्त सूचनामाथि वस्तुवादी विश्लेषण गरिँदैन । सत्य तथ्य के हो वा गलत पो हो कि भन्ने सोचिँदैन । आफ्नो फिलिङसँग मिल्ने वा आफ्नो बुझाइसँग मिल्ने चोटिलो, घोचिलो र पेचिलो अडियो र भिडियोहरूलाई अन्धाधुन्ध समर्थन र विरोध गर्ने गरिन्छ । निरपेक्ष समर्थन र निरपेक्ष विरोधको नजरबाट हेर्ने गरिन्छ । यसमा केवल आफ्नो स्वार्थ आफूलाई स्वाद लाग्ने विषयवस्तु भए पुग्छ । यसमा देशको हित, समाजको हित, सकरात्मक संस्कृति, उन्नत चालचलन, सभ्य र शालीन जीवन–व्यवहार निर्माणको स्वार्थबाट जोख्ने गरिँदैन । केवल आफ्नो स्वार्थ र आफूलाई स्वाद वा चोटिलो लागे भयो । 

यसरी सञ्जालमा शीघ्र रूपमा बहकिने, बरालिने र भड्किने हाम्रो सामाजिकी वस्तुसङ्गतभन्दा पनि निरपेक्ष भावना, कल्पना, मनोगत इच्छा र महत्त्वाकाङ्क्षाद्वारा निर्देशित देखिन्छ । वस्तुत समाज वस्तुवादी र वैज्ञानिक नियमद्वारा निर्देशित हुन्छ । यो शाश्वत कुरा हो । तर भावनामा वा हल्लाखल्ला रुमल्लिएको समाजमा वस्तुसङ्गत र तथ्यसङ्गत आयामहरूको खोजी गरिँदैन । यसमा केवल आफ्नो मनोगत इच्छालाई सही र मीठो लागे हुन्छ । कुनै पनि व्यक्ति र वस्तुको वस्तुवादी विश्लेषण र मूल्याङ्कनको खाँचो पर्दैन । सिङ्गो समाजमा पार्ने सकरात्मक तथा नकरात्मक पक्षहरूको सश्लेषण गरिँदैन । कुन सही र कुन गलत अनि कसले हाम्रो समाजको हित गर्छ कसले अहित गर्छ भनेर आधारभूत चिन्तन–मनन गरिँदैन । व्यक्ति वा वस्तुप्रति गहिरो सचेतना, अध्ययन र अनुसन्धान गर्नु पर्दैन । तब त्यस्तो जनमत बालेनको गलत अभिव्यक्तिप्रति अन्धभक्ति र अन्धसमर्थन जनाउन पुग्छन् । यसले भोलि बालेनकै हुर्मत लिए भने अन्यथा मान्नु पर्दैन ।

चखुवा जनमत

पछिल्लो समय नेपाली राष्ट्रिय राजनीतिमा राजनीतिक वैचारिक जनमत खस्किँदै गएको छ । निश्चित राजनीतिक विचारद्वारा निर्देशित जनमत घट्दो अवस्थामा छ । यस्तो जनमतद्वारा प्राप्त हुने पैmसला सही नै हुन्छ भन्ने हुँदैन । यसलाई बहकिएको र बरालिएको जनमत भनिन्छ । यसरी बरालिएको जनमतले पुराना पार्टीको विकल्प नयाँ पार्टी र नयाँ स्वतन्त्र व्यक्तिलाई दर्ज गरेको प्रस्टै छ । यसैको परिणाम स्वरूप काठमाडौँमा बालेन शाहलगायत धेरै स्थानहरूमा स्वतन्त्र उम्मेदवारहरूले बाजी मारे । यतिखेर बालेन जस्ता स्वतन्त्रबाट जितेर आउनेहरूप्रतिको सद्भाव र विश्वास उत्कर्षमा छ । तर उनीहरूसँग पनि नेपाली समाजलाई कस्तो बनाउने भन्ने निश्चित राजनीतिक वैचारिक अवधारणा छैन । उही उनीहरूले पनि अमूक र अमूर्त यो गर्छु र त्यो गर्छु भन्नुबाहेक नयाँ नौले केही गरेको देखिँदैन । आशा अपेक्षा गर्ने वस्तुगत आधार पनि छैन । 

    स्वतन्त्रहरूले सबै समस्याको बनिबनाउ समाधन गर्ने छन् भन्ने उनीहरूको निरपेक्ष चाहना र भावना पूरा हुने सम्भावना असाध्यै कम छ । त्यसबेला उनीहरू अर्को पात्रलाई विकल्पको रूपमा अघि सार्दै जान्छन् । यस्तो औसत प्रक्रिया निरन्तर भइ नै रहन्छ । उनीहरू ए, बी, सी, डी हुँदै जेडसम्म छान्छन् । तर पनि समस्याको समाधन हुँदैन । अघिल्लोलाई गाली गरेर पछिल्लोलाई देवत्वकरण गर्दै जान्छन् । यो प्रक्रिया अनन्त चलिरहने छ । यसले उनीहरूको पुस्तौँ पुस्ता गुजार्ने छ । तर पनि समस्याको समाधन हुँदैन । आजका जनमत अघिल्ला दलहरूलाई गाली गर्दै पछिल्लो वा बालेनहरूलाई अन्धसमर्थन गरिरहेका छन् । यस्तो जनमतले भोलि बालेनलाई अघिल्लो बनाएर अर्को अमूक पछिल्लो पात्रलाई यसरी नै अन्धभक्ति प्रदर्शन गरिरहेको बेला मात्र बालेनलाई  आजको जनमतको वैचारिकी, इमानदारिता र राजनीतिक चेतनाको स्तर छर्लङ्ग हुने छ । उनको फ्यानहरूको सचेतना बोध हुने छ । त्यसैले यस्तो चखुवा प्रवृत्तिका कारण सही  र गलतको न्यूनतम सचेतनाबिना हल्ला र माहोलको पछि जनमत लाग्ने गर्छ । बालेनको बोलीलाई सही देख्नु यही अल्पज्ञानकै दुष्परिणाम हो । 

निष्कर्ष

आज मेयर बालेनको पक्षमा कति जनमत अनि सरकारको पक्षमा कति जनमत भन्ने कुरा मुख्य  होइन । मुख्य सवाल भनेको हामीले कस्तो संस्कार र संस्कृति संस्थागत गर्दै छौँ र भावी सन्ततिलाई के सिकाउँदै छौँ भन्ने हो । आज हामीले निश्चित राजनीतिक वैचारिकीद्वारा निर्देशित सही र वस्तुवादी अभ्यास गरायौँ भने भोलिका पुस्तामा पनि समयसापेक्ष सभ्यता, विवेक र संस्कृति जीवित रहने छ । तर भावनामा बहकिएको र बरालिएको जनमतको भर पर्ने हो भने ए लाई गाली गर्दा बी खुसी अनि बी लाई गाली गर्दा सी खुसी हुने अनन्त प्रक्रियामा समाज फस्ने छ । आलोपालो समर्थन र विरोधको अनन्त शृङ्खला चलिरहन्छ । तर समस्याको समाधन भने जहाँको त्यही हुने छ । यो घटनाले बालेनको परिपक्वता र इमानदारिताको इन्डिकेटर छर्लङ्ग भएको छ भने उनको फ्यानहरूको अध्ययन र सुझबुझ छताछुल्ल भएको छ ।  

 त्यसैले समर्थन र विरोध सही र गलतको आधारमा गर्ने गरौँ । सत्य–तथ्य र समग्र हित वा स्वार्थको मूल्यमा नाप्ने गरौँ । सभ्य, सुसंस्कृत संस्कारबिना उन्नत समाज बन्दैन । गाली गर्ने खुसी र गाली गरी माग्ने दुःखी हुनुले धेरै अर्थ र औचित्य राख्दैन । तर सत्य के हो भने गलत संस्कारको पक्षमा बढी जनमत देखिनु भनेको गम्भीर कुरा हो । यसले नागरिकहरूलाई सही ढङ्गले प्रशिक्षित र सुशिक्षित गरिएको छैन भन्ने प्रस्टै देखिन्छ । अझ हाम्रो समाजको राजनीतिक वैचारिक क्षमता र इमानदारितालाई पुष्टि गर्छ । गलत संस्कार कसैको हितमा हुँदैन । यो भोलि बालेनका लागि समेत आत्मघाती नहोला भन्न सकिन्न । किनभने वैचारिकीको लगामबिना बरालिएको र बहकिएको जनमत अस्थिर मात्र हुँदैन दृढ सङ्कल्पित र प्रतिबद्ध पनि हुँदैन । तसर्थ  बालेनले आफ्नो अशिष्ट बोलीप्रति आत्मालोचित बन्नु हितकर हुन्छ । यता काँचा–कचिला फ्यानलाई संयमता, परिपक्वता र संस्कार सिकाउनु श्रेयष्कर हुन्छ । सम्बन्धित सबैलाई चेतना होस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेन्द्र किराती
राजेन्द्र किराती
लेखकबाट थप